आर्थिक नाका बन्दै दोधारा चाँदनी

महेन्द्रनगर– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दोधारा चाँदनी नाका मुलुकको आर्थिक नाकाका रूपमा अघि बढेको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक नाकासँगै दोधारा चाँदनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढी सकेको बताए ।
मन्त्री साउदले महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए । उनका अनुसार भारतीय पक्षले पनि त्यही अनुसार भारततर्फ काम अघि बढाएको छ । कञ्चनपुर आर्थिक, पर्यटकीयलगायतका सम्भावना बोकेको क्षेत्र भएको भन्दै मन्त्री साउदले भने,‘बनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकहरूलाई समेत नाकामा आउन जान सहज गर्ने विषयमा पहल गरिने छ ।’
कञ्चनपुरका व्यापारी तथा व्यवसायी समाजसेवीहरूले परराष्ट्रमन्त्री साउदलाई जिल्लामा रहेका विभिन्न समस्याहरूका विषयमा अवगत गराए । जिल्लामा रहेका व्यापारी तथा व्यवसायी समाजसेवीहरू, निर्माण व्यवसायी, होटल व्यवसायी पर्यटकीय व्यवसायीहरूले विभिन्न समस्याहरू परराष्ट्रमन्त्री साउदलाई अवगत गराएका थिए ।
विषेशगरी कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जाँदा सीमानाकामा भारतीय एसएसबीले गर्ने ज्यादती, सीमा नाका विवादको विषय र टनकपुर पुलबाट सवारी साधनहरू निर्वाध चल्न पाउँने व्यवस्थाको विषयमा पनि व्यवसायीहरूले धारणा राखेका थिए । कुनै पनि विदेशी पर्यटकहरूले भारतबाट नेपाल प्रवेश गर्न पाउने तर नेपाल भएर भारत जान नपाउने विषय उनीहरूले उठान गरेका छन् ।
उक्त विषयमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुर उद्योग वाणिज्य संघलाई मुख्य बुँदाहरू लेखेर मन्त्रालयमा पठाउँन आग्रह गरे । उनले भने, ‘आफूले उक्त विषयमा भारतीय सरकारसँग विशेष रूपमा कुराकानी गर्ने छु, साथै उक्त विषयमा व्यापारीहरूले प्रहरीले बजारमा हानेको छापाको विषयमा समेत छलफल गरेका छौं ।’
ती विषयमा आफूले चासो राखेको र भित्री कुरा बुझेर कसरी सहज वातावरणको निर्माण गर्न सकिन्छ त्यसतर्फ काम गर्ने उनको भनाइ थियो । सीमा नाका विवादमा स्ट्रिप नक्सा अनुरूप काम हुन नपाएको अवस्थामा अहिले सबै ठाँउमा विवाद रहेको उनले बताए । सो सम्बन्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय विधि प्रक्रियाबाट नेपालको पनि हित हुने, भारतलाई दुख नलाग्ने र गाह्रो नपर्ने विषयमा काम भई रहेको मन्त्री साउदले बताए ।