दाहाललाई शुभकामना «
Logo

दाहाललाई शुभकामना

एकाध वर्षदेखि अर्थतन्त्रमा आएको सुस्तताले नागरिकदेखि सरकारसम्म सबैलाई नराम्रोसँग पिरोलेको छ । सबैका आआफ्ना समस्या र गुनासा छन् । अर्थतन्त्र सुस्ताएको समय धेरै भएको र अझै कति दिन हो भन्ने अन्योल हुँदा समस्या झनै पेचिलो बन्दै गएको छ । यही कारण सबैको आँखा सरकारमाथि पुगेको छ । विगतमा अर्थमन्त्री र गभर्नरले समस्या समाधानका लागि आआफ्नो पक्षबाट गरेको पहल पर्याप्त भएन ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं यो समस्या समाधानमा सक्रिय देखिएका छन् । दाहालको सक्रियतामा यही सोमबार सरकारी निकायका पदाधिकारीसँग छलफल भएको छ भने मंगलबार निजी क्षेत्र र केही अर्थशास्त्रीहरूले सुझाव दिएका छन् । अब दाहाल सरकार अर्थतन्त्रलाई चलायमान गराउन ‘रिफर्म प्याकेज’ ल्याउने तयारीमा जुटेको छ । सरकारले प्याकेज ल्याउनु आफैंमा सुन्दर पक्ष हो । तर, प्याकेज कस्तो आउँछ भन्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।

कोभिड–१९ पछि मुलुकको अर्थतन्त्रमा विभिन्न कोणबाट समस्या आइरहेको छ । करिब दुई वर्षअघि अर्थतन्त्रको बाह्य क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो । आयात उच्च हुने तर त्यही हिसाबले रेमिटेन्स र निर्यात बढ्न नसक्दा विदेशी विनिमय सञ्चिति प्रतिदिन आरालो लाग्यो । सञ्चितिमा देखिएको गिरावटले मुलुक श्रीलंका त बन्दै छैन भन्ने भय सिर्जना गराएको थियो । विदेशी मुद्रा सञ्चिति मात्र नभएर शोधनान्तर र चालु खाता पनि नकारात्मक बनेका थिए ।

केही वस्तुमा निर्यातको प्रतिबन्ध लगाउन सरकार बाध्य बनेको थियो भने सम्पूर्ण आयातलाई निरुत्साहित गर्न पनि विभिन्न कदमहरू चालिएका थिए । खासमा बाह्य क्षेत्रका सूचक सकारात्मक नहुँदा सरकार डराएको देखिन्थ्यो ।अहिले यो अवस्था फेरिएको छ । दुई वर्षका बीचमा बाह्य क्षेत्र मजबुत बनेको छ । विदेशी मुद्राको सञ्चिति १६ खर्ब रुपैयाँमाथि पुगेको छ ।

विकास र समृद्धिका वास्तविक र ठोस कार्यक्रम कहिल्यै पनि आउन सकेका छैनन् । यस्तो अवस्थामा अहिलेको समस्या समाधानमा मुलुकको प्रधानमन्त्रीले सक्रियता देखाउनुलाई राम्रो अर्थमा लिन सकिन्छ ।

रेमिटेन्स आय पनि उच्च छ । निर्यात व्यापारमा सुधार गर्न सकिएको छैन, तर आयात पनि खुम्चिएकाले समस्या ल्याएको छैन । तर, यही बेला अर्थतन्त्रको आन्तरिक पाटो भताभुंग बनेको छ । सर्वसाधारणको क्रयशक्ति घटेका कारण बजार शून्यजस्तै छ । दसैं र तिहारजस्ता पर्वमा पनि बजार तात्न सकेको छैन । सामान नबिक्ने अवस्था आएपछि आन्तरिक उत्पादन खस्किएको छ । सरकार आफैंले पनि राजस्व उठाउनदेखि खर्च गर्न सकेको छैन ।

सर्वसाधारण उपभोक्तादेखि उद्योगी–व्यवसायी सबै मलिन बनेका छन् । सबैको आत्मविश्वास गुमेको छ । अर्थतन्त्र सुस्त छ । मुलुकभित्र यस्तो अवस्था आएका बेला प्रधानमन्त्री अगाडि सरेर समस्या समाधानका उपाय खोज्नु सराहनीय काम हो । नेतृत्वको आवश्यकता यस्तै बेलामा हुने हो । अहिले प्रधानमन्त्रीले सरकारी, निजी क्षेत्र र अर्थशास्त्रीहरूसँग छलफल गरेका छन् । यस क्रममा सरकारलाई विभिन्न सुझाव पनि आएका छन् । तर, समस्याको समाधान दिने ठोस सुझाव सरकार र निजी क्षेत्र कसैबाट पनि आएको देखिँदैन ।

निजी क्षेत्रले मुख्य गरी पुँजीगत खर्च बढाउने र उद्योगी–व्यवसायीको आत्मबल बढाउने योजना ल्याउन सुझाव दिएको छ । सरकारले पुँजीगत बजेटमा राखेको ३ खर्ब रुपैयाँ खर्च गर्दैमा अहिलेको समस्या समाधान हुँदैन । निजी क्षेत्रले सरकारलाई ठोस सुझाव दिन सक्नुपथ्र्यो । त्यो सकेको छैन । यस अर्थमा अहिलेको समस्या समाधानको उपाय निजी क्षेत्रले पनि पहिल्याउन नसकेको देखिन्छ । सुधारका योजना ल्याऊ भन्नुभन्दा यी र यस्ता योजना वा नीति ल्याऊ भन्ने सुझाव उसले दिन सक्नुपथ्र्यो ।

अर्कातिर अहिलेको समस्याको निकासका लागि सरकार पनि अलमलमा छ । के गरेर हुन्छ भन्नेमा न अर्थमन्त्रीलाई थाहा छ, न त गभर्नरलाई नै । यही कारण हो, अर्थतन्त्र सुस्त हुनुमा एकले अर्कालाई दोष दिइरहेका छन् । अहिलेको समस्याको समाधान मात्र सरकारसँग नभएको होइन । खासमा मुलुकको विकास र समृद्धिको एजेन्डा हाम्रा कुनै पनि सरकारसँग छैन ।

कुन क्षेत्रलाई अगाडि बढाएर हाम्रो मुलुकको विकास हुन्छ भन्ने जानकारी अहिलेसम्मका कुनै पनि सरकार र अर्थमन्त्रीसँग देखिएन । यही कारण प्रत्येक वर्षको बजेट अलमलिएर आउने गरेको छ । विकास र समृद्धिका वास्तविक र ठोस कार्यक्रम कहिल्यै पनि आउन सकेका छैनन् । यस्तो अवस्थामा अहिलेको समस्या समाधानमा मुलुकको प्रधानमन्त्रीले सक्रियता देखाउनुलाई राम्रो अर्थमा लिन सकिन्छ ।

नेतृत्व गर्ने व्यक्तिलाई समस्याका बारेमा यथार्थ जानकारी हुन सके समाधानका उपाय निस्कँदैनन् भन्न सकिँदैन । त्यसै पनि प्रधानमन्त्रीले सुस्त अर्थतन्त्रलाई चलायमान गराउन सरकारले ‘बोल्ड डिसिजन’ लिने बताउँदै आएका छन् । यो छलफलले सरकारलाई गतिलो निर्णय लिन सहयोग पुगोस्, प्रधानमन्त्री दाहाललाई अग्रिम शुभकामना ।

प्रतिक्रिया दिनुहोस्