जुम्ली अर्गानिक स्याउको माग बढ्दै «

जुम्ली अर्गानिक स्याउको माग बढ्दै

भारतीय स्याउ बिस्तापित गर्दै

जुम्ला-सुर्खेतको मंगलगढी चोक, यारी चोक, नेपालगञ्जको पुष्पलाल चोक, धम्बोजी चोक, बुटवल धनगडीका चोक चोकमा सजाएर राखिएको जुम्लाको अर्गानिक स्याउले जो कोहीको मन तानेको छ । जुम्लाको त्यही अर्गानिक स्याउ आम उपभोक्ताको रुचीमा पर्न थालेको छ ।
विगतका वर्षमा भारतीय स्याउले भरिने फलफूल बजारमा अहिले जुम्लाको अर्गानिक स्याउ बढी देखिन्छ । १८ वर्षदेखि स्याउ खेती गर्दै आएका व्यापार मिन कठायत जुम्लाको अर्गानिक स्याउले भारतीय स्याउलाई बिस्तापित गरेको बताउँछन् । सुर्खेत नेपालगञ्ज, धनगढी बुटवललगायतका शहरमा आजभोलि ग्राहक जुम्लाको स्याउ खोज्दै आउने गरेका छन् । कठायतले भने, ‘स्वादबाटै जुम्ला र भारतीय स्याउलाई छुटाउँदै जुम्ली स्याउ खोज्दै व्यापारी आउने गरेका छन् ।’
भारतीय स्याउको तुलनामा सस्तो र राम्रो भएकाले उपभोक्ताले जुम्लाको स्याउ मन पराउने गरेका छन् । त्यस्तै अर्का व्यापारी दल खड्काका अनुसार अहिले बजारमा जुम्लाको मात्रै स्याउ छ । ‘जुम्लाको स्याउमा ग्राहक आकर्षित देखिन्छन्’ उनले भने, ‘उपहार र कोशेलीका लागि पनि जुम्लाको अर्गानिक स्याउ लिनेको घुइँचो लाग्ने गरेको छ ।’
गुणस्तर अनुसार स्याउको मूल्य पनि फरक फरक छ । थोकमा ७० देखि ८० रुपैयाँसम्म किन्ने गरेको व्यापारी बताउँछन् । फलफूलका थोक व्यापारी प्रवल शाहीलाई पनि जुम्ली स्याउ बजारमा पु-याउन भ्याइनभ्याई रहेको उल्लेख गरे । जुम्लाको स्याउ बजारमा पु¥याउने प्रमुख थोक व्यापारी मानिने शाहीले मात्रै अहिलेसम्म ४ सय मेट्रिकटन स्याउ सुर्खेतदेखि पोखरा र काठमाडौंका बजारमा पु¥याएको बताए । जुम्लाको विभिन्न बगैंचामै पुगेर ४० देखि ५५ रुपैयाँमा प्रतिकेजी खरिद गरी ६५ देखि ८० रुपैयाँ प्रतिकेजीका दरले विक्रि भएको छ । स्याउको आकार, गुणस्तरका आधारमा मूल्य तलमाथि भइरहेको उनको भनाई छ ।
खासगरी अहिले जुम्लाको स्याउ सुर्खेत, कोहलपुर, दाङ, बुटवल, चितवन, पोखरा र काठमाडौमा बढ्दो माग छ ।
सडक विस्तार भएसँगै जुम्लाको स्याउ बजारमा आएपछि भारतीय स्याउ विस्थापित भएको हो । जुम्लाको स्याउले भारतीय स्याउको बजारलाई प्रतिस्थापन गरेको व्यापारीहरुको दाबी छ । जुम्लाको रेड डेलिसियस, गोल्डेन डेलिसियस जातको स्याउ बजारमा गएको छ ।
जुम्लाको स्याउ हेर्दामा पनि आकर्षक, खाँदा स्वादिलो अर्गानिक भएकोले पनि यसको माग बढ्दै गएको हो । कृषि अर्थ विज्ञ बालकराम देवकोटाले भने, जुम्लामा यस वर्ष झण्डै ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ ।’
कर्णालीबासीका लागि स्याउ लुगाफाटो र जडीबुटी चामलका लागि आम्दानीको स्रोत हो । यसलाई अझै व्यवसायीकरण गरी जुम्लाका १८ हजार घरधुरीमध्ये एक हजार ४ सय घरधुरीले स्याउ खेती शुरु गर्न बाँकी छ ।
जुम्लामा यसवर्ष स्याउ उत्पादन गतवर्ष भन्दा बढेको छ । यहाँको तीज हजार हेक्टर जमिनमा भइरहेको स्याउ खेती मध्ये ८ सय हेक्टरमा स्याउ उत्पादन भइसकेको छ । यस वर्ष ६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने कृषि विकास कार्यालयको अनुमान छ । स्याउ विक्रिबाट झण्डै १५ करोड रुपैयाँ जुम्ला भित्रिने समेत अनुमान गरिएको कृषि अर्थ विज्ञ देवकोटाले बताए ।
सडक सञ्जाल जोडिएएसँगै कृषकले स्याउ उत्पादनमा गुणस्तरलाई समेत ध्यान दिन थालेकाले यसको उत्पादनमा वृद्धि भएको हो । विषादी प्रयोग नहुने र गुणस्तर पनि राम्रो हुन थालेपछि स्याउमा माग विभिन्न शहरमा बढ्न थालेको हो । कर्णालीको स्याउलाई गुणस्तरीय बनाउन सरकारले स्याउ आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न सरोकारवालाको सुझाव छ । गत साता जुुम्ला पुगेकी कृषि मन्त्री विमला केसीले जुम्लाका बाँकी घरधुरी निकट भविष्यमै स्याउ बगैंचा बनाउन बजेट दिने प्रतिवद्धता जनाएकी थिइन् । स्याउ संकलन, कोल्डस्टोर निर्माणदेखि प्रशोधन उद्योग स्थापनालाई प्राथामिकता दिइने मन्त्री केसीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्