Logo

पाँच अर्बको नक्कली चेक र हतियारसहित तीनजना पक्राउ

धनगढी-हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली काजगाज, चेक, हतियार र सुनका गहना फेला परेको छ । दुई जना सहकर्मीसहित धनगढी–४, चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले पाँच अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंकको नक्कली चेक, चार पेस्तोल, छाप, नक्कली पत्रको चाङ फेला पारेको हो ।
पक्राउ परेका व्यक्ति र उनीहरुबाट बरामद गरिएका सामग्रीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीका अनुसार एक थान पेस्तोल, एक थान रिभोल्बर, दुई थान कटुवा पेस्तोल, सात राउण्ड गोली, एक थान चक्कु, ६७९.३६ ग्राम सुनका गहना बरामद गरिएको छ । प्रहरी उपरीक्षक गिरीका अनुसार मुख्य अभियुक्त सञ्जयको सञ्जय राणा र सञ्जय मशशेर जंगबहादुर राणाको नाममा भएको दुई थान नागरिकता समेत फेला परेको छ ।
विभिन्न व्यक्तिहरुको नाममा लिनेदिने गरी बनाएको १८ करोड तीन लाख ६४ हजारका २३ थान तमसुक समेत फेला परेको उनले बताए ।े एक अर्ब छ करोड ३७ लाख ७३ हजार एक सय ७५ रुपैयाँ, ४१ करोड ६५ लाख तीन हजार सात सय ८३ रुपैयाँ र ४२ करोड १७ लाख ५० हजार सात सय सात रुपैयाँका गरी तीन वटा नेपाल राष्ट्र बैंकले रिलिज गरेको भनिएको ३ थान नक्कली बैंक ड्राफ्ट र विभिन्न व्यक्तिको नाममा काटिएको दुई करोड ४५ लाख २० हजार रुपैयाँका १९ थान र विभिन्न बैंकका साइन गरिएका ३८ थान ब्ल्यांक चेक पनि बरामद गरिएको छ ।
प्रहरी उपरीक्षक गिरीले विभिन्न सरकारी कार्यालयका ४१ थान नक्कली छाप, ३६ थान वित्तीय काकोबार गर्ने संस्थाहरुले प्रयोग गर्ने ३६ थान नम्बरिङ मेसिन, जिल्ला अदालत कैलाली, मालपोत कार्यालय कैलाली र टीकापुर, नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था कार्यालयका नगदी रसिदका ठेलीहरु, सीम कार्डसहितका ६ थान मोबाइल, २ थान सिमकार्ड, नम्बरिङ स्ट्याम्प प्रहरीले प्रयोग गर्ने बेल्ट, चेष्ट नेम प्लेट, निलो चुस्ता लगायतका सामानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
राणाले राष्ट्र बैंकका त्यही नक्कली चेक र कागजात देखाई प्रलोभनमा पारी रकम असुलेर मिटर ब्याजमा लगाउने गरेको प्रहरी उपरीक्षक गिरीले जनाए । राणा समूह सुन र साना हतियार, मिटर व्याजको अवैध धन्दामा लामो समयदेखि संलग्न रहेको प्रमाणहरु फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले धनगढी उपमहानगरपालिका–६ मटियारीमा रहेको आलिशान घरको खानतलासी समेत गरेको छ । सिआईवीको टोलीले बुधबार साँझ राणा र मटियारीकै कमल बिक र वडा नम्बर ३ का रुद्र प्रसाद अधिकारी समेत पक्राउ गरेको छ । अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर राणासहित तीनै जनालाई हिरासतमा राखिएको छ ।
राणा साना हतियार सुन, मिटर व्याज, ढुकुटी लगायतका अवैध धन्दामा संलग्न भएको जानकारी पाएपछि सिआईवीले चार दिनदेखि राणाको पिछा गरेको थियो । बाहिर देखिने कुनै व्यापार व्यवसाय संलग्न नभएपनि राणाको जीवनशैली र आर्थिक हैसियत देखेर सिआईवीको टोलीले उनीमाथि अनुसन्धान थालेको थियो ।

मुकेश चौधरी

प्रतिक्रिया दिनुहोस्