Logo

पर्यटक भरिए, भरिएनन् होटल

काठमाडौं– कोभिडका कारण लगभग शून्यतामा झरेको पर्यटक आगमनमा क्रमशः सुधार हुँदै यो वर्ष पुरानो अवस्थामा फर्किएको छ । यो वर्षको ११ महिना (जनवरी–अक्टोबर) सम्ममा ८ लाख ९ हजार ६७८ जना पर्यटक आएका छन् ।
यो संख्या कोभिड सुरु हुनुपूर्वको जस्तै हो । पर्यटक आगमन पुरानो लयमा फर्किंदा पनि होटल अकुपेन्सी भने न्यून छ । विगतमा यो संख्यामा पर्यटक आउँदा होटल अकुपेन्सी पर्याप्त हुने गथ्र्यो । तर, पछिल्ला वर्षहरुमा होटल र बेड संख्या बढेका कारण पुरानो संख्यामा पर्यटक आउँदा पनि अकुपेन्सी आधा पुगेको छैन । यही कारण होटल व्यवसायीले अझै आफूहरु समस्यामा रहेको बताउँदै आएका छन् ।

होटल संघ नेपालको प्रतिनिधिमण्डलले मंगलबार मात्र मन्त्री सुदन किरातीलाई भेटेर पछिल्लो समय पर्यटक बढे पनि होटल र पूर्वाधार विस्तार भएकाले सञ्चालन खर्च उठ्ने गरी अकुपेन्सी नभएको गुनासो गर्यो । टोलीले पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक र हवाई पूर्वाधार राम्रो बनाउन र अहिलेका नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न अनुरोध ग¥यो । पूर्वाधार राम्रो नभएका कारण नेपाल भ्रमण गर्न इच्छुक पर्यटक पनि अन्यत्रै जाने गरेको टोलीको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को अक्टोबरमा पर्यटक सबैभन्दा धेरै आएका छन् । यो महिना कोभिड–१९ पछिकै सबैभन्दा बढी एक लाख १७ हजार ३ सय ६ जना पर्यटक नेपाल आएका हुन् । सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले भैरहवा, लुम्बिनी पर्यटकीय गन्तव्य अहिले खाली जस्तै रहेको जानकारी दिए । यो क्षेत्रका होटलमा ३० प्रतिशत पनि अकुपेन्सी छैन ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि यो क्षेत्रमा नयाँ पुरानो गरी करिब ६० अर्ब रुपैयाँ बराबर लगानी भएको छ । डेढ वर्षदेखि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नु र भारतीय पर्यटक नआउँदा एक तिहाइ मात्र अकुपेन्सी भएको श्रेष्ठले बताए ।

‘लगानीका आधारमा होटलको दैनिक ५० प्रतिशत अकुपेन्सी आवश्यक छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘कोभिड–१९ पछि पर्यटक आगमनमा सुधार आएको भनिए पनि ३० प्रतिशत अकुपेन्सी पुगेको हो ।’ संघका अध्यक्ष विनायक शाहका अनुसार वार्षिक ३५ लाख हाराहारीमा विदेशी पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार नेपालले विस्तार गरेको छ । देशभरका होटल तथा रिसोर्टले यो संख्यामा पर्यटकलाई सेवा प्रदान गर्न सक्ने उनी बताउँछन् । यो हिसाबले पनि ८ लाख पर्यटक आउँदा अकुपेन्सी ३० प्रतिशतभन्दा माथि नपुग्नु स्वाभाविकै हो ।

मुलुकभरका पर्यटक स्तरीय होटलले मात्र ३५ लाख पाहुनालाई सेवा दिन सक्ने पोखराका पर्यटन व्यवसायी तथा होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेलले बताए । उनले भने, ‘दैनिक ५० प्रतिशत अकुपेन्सी भएमात्र सञ्चालन खर्च पुग्छ तर हालको औसतमा वार्षिक अकुपेन्सी २५ प्रतिशतमात्र छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुनु र सरकारी नीतिमा सहजीकरण नहुनुले समस्या आएको हो ।’

पर्यकटीय होटलको क्षमता ३५ लाख पुग्दा सरकारको वार्षिक लक्ष्य भने १० लाखमा सीमित छ । माग र आपूर्तिबीचको सन्तुलन नमिल्दा अकुपेन्सी एक तिहाई पनि नपुगेको पौडेलले बताए । ‘राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाखभन्दा बढी विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको छ । तर, यो वर्ष अहिलेसम्म ८ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिड महामारी साम्य भएसँगै पर्यटक आगमन सुधारको क्रममा छ । यद्यपि, आगमन दर उत्साहजनक नरहेको व्यवसायीहरु बताउँछन् ।

श्रेष्ठ भन्छन्, ‘वार्षिक ३५ लाख पर्यटकलाई सहज रुपमा सेवा दिन सक्ने अवस्था भए पनि सरकारले नीतिगत सहजिकरण नगर्दा छिमेकी मुलुक भारतबाट समेत पर्यटक आगमन बढेको छैन ।’ सडक मार्ग सहज नहुनु, भारु सटही सुविधा २५ हजारमात्र सीमित रहनु, अध्यागमन कार्यालयले विभिन्न उल्झन थप्नु भारतीय पर्यटक नआउनुका मुख्य कारण भएको श्रेष्ठको भनाइ छ ।

होटल संघका अनुसार मुलुकभरका पर्यटक स्तरीय होटलमा दैनिक १० हजार पाहुनालाई सेवा दिन सक्ने क्षमता छ । संघ अध्यक्ष शाह भन्छन्, ‘पर्यटक स्तरका होटलमा मात्र हामी दैनिक १० हजारलाई सेवा दिन सक्छौं । यही हिसाब गर्दा पनि वार्षिक ३५ लाखलाई सेवा दिन सक्ने गरी पूर्वाधार विस्तार भएको छ ।’ उनले नयाँ क्षेत्रीय विमानस्थल पोखरा र भैरहवालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सके पर्यटनबाट छिट्टै फड्को मार्न सकिने बताए ।

‘छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जाल स्तरीय बनाउन सके पनि ती मुलुकबाट लाखौंको संख्यामा पर्यटन ल्याउन सकिन्छ,’ शाहले भने, ‘भारत र चीनमा पर्याप्त हवार्ई उडान गर्न सके झनै लाभ पुग्नेछ ।’ शाहका अनुसार व्यवसायीहरुले प्राकृतिक मनोरमता, हिमालय, मठमन्दिर तथा कला–संस्कृतिका कारण पर्यटक आउने सम्भावनालाई हेरेर यो क्षेत्रमा लगानी गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन संगठनका अनुसार १ जना पर्यटकले ११ जनालाई रोजगारी दिन सक्छ ।

यस्तो छ पूर्वाधारको अवस्था
आर्थिक सर्वेक्षण २०७९–८० अनुसार डिलक्ससहितका पाँचतारे होटलको संख्या १ सय ७३ पुगेको छ । तारे स्तरबाहेकका डिलक्स-लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार २ सय २८ पुगेको छ ।

मुलुकभर ८ सय ५७ तारेस्तरका होटलमा बेड संख्या १६ हजार ३ सय ३५ छ । यस्तै तारेस्तरका होटल बाहेक पर्यटकस्तरीय डिलक्स-लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा ३७ हजार ३० बेड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्