Logo

जहाजको आकृतिमा महोत्सवको प्रवेशद्वार, विरोधको भिन्न शैली

बुटवल– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको डेढ वर्ष नाघिसकेको छ । तर, विमानस्थल नियमित सञ्चालनमा आएको छैन ।

यस क्षेत्रका उद्योगी–व्यवसायी विमानस्थल पूर्ण रुपमा सञ्चालन हुनुपर्ने माग गर्दै विरोधमा उत्रिएको पनि एक महिना बितेको छ । बुधबारबाट यहाँ सुरु व्यापार महोत्सवमा पनि उनीहरुले विरोधलाई निरन्तरता दिएका छन्, तर फरक शैलीमा । व्यवसायीहरुले विमानको आकृतिमा प्रवेशद्वार बनाएर सरकारलाई दबाब दिन खोजेका छन् । उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवामा सुरु लुम्बिनी प्रादेशिक महोत्सवको प्रवेशद्वारमा विमानको आकृति बनाइएको हो ।

मेला भर्न आउने विशिष्ट पाहुना, सर्वसाधारणले पनि मेलास्थलमा बनाएको जहाजको आकृति हेरेर सरकारलाई दबाब बढाउन सक्ने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक दर्पण श्रेष्ठको भनाइ छ । जहाजको आकृतिमा गाडीको टायर राखेर जहाजले भूइँमा टेकेको जस्तै देखाइएको छ ।

बुधबारदेखि भैरहवामा सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव मंसिर १२ सम्म सञ्चालन हुनेछ । मेलामा हिमालदेखि तराई र मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन प्रदर्शनका लागि राखिएको छ । महोत्सवले यस क्षेत्रको आर्थिक चलायमान बढाउने अपेक्षा छ ।

किन विरोध ?
भैरहवामा १० अर्बभन्दा बढी लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो । यही विमानस्थल बन्ने भएपछि निजी क्षेत्रबाट पनि अर्बौ रुपैयाँ लगानी भएको छ । विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीहरु निराश भएको अध्यक्ष श्रेष्ठले बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट अर्बौं लगानी भएको छ । पूर्ण क्षमतामा कहिले चल्छ ठेगान छैन,’ उनले भने, ‘सरकारलाई दबाब होस् भनेर विमानको आकृतिमा महोत्सवको गेट बनाएका हौं ।’
विमानस्थलमा अहिले हप्ताको एक पटक नेपाल एयरलाइन्सले एकतर्फी उडान गर्दै आएको छ । प्रत्येक मंगलबार क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडान भइरहेको छ । मलेसियाबाट आएकाहरु भैरहवामा अवतरण गर्न पाए पनि भैरहवाबाट मलेशिया लगायत अन्य देशमा सिधा उडान छैन ।

२०७९ जेठ २ मा यो विमानस्थल उद्घाटन भएको थियो । यसपछि कुबेतको जजिरा एयरवेजले उडान गरेको थियो । तर, वैशाखयता उसले उडान रोकेको छ । उडान नभएपछि पर्यटन व्यवसायी निराश छन् । विमानस्थललाई नै हेरेर रुपन्देहीका होटलमा २० अर्बको लगानी भएको छ । तर, विमानस्थल सुचारु नहुँदा र पर्यटक नबढ्दा व्यवसायीहरुको लगानी जोखिममा परेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभर टोलस्थित एसआर होटलका महाप्रबन्धक केशव पौडेलले विमानस्थल नियमित सञ्चालनमा नआउँदा पर्यटन व्यवसायी निकै मारमा परेको गुनासो गरे । उनका अनुसार भैरहवादेखि बुटवलसम्म विमानस्थललाई हेरेर मात्र दर्जनौं नयाँ होटल निर्माण भएका छन् ।

बुटवल–भैरहवा ६ लेन सडक आसपास थुप्रै स्तरीय होटल खुलेका छन् । तिलोत्तमा नगर क्षेत्रको ६ लेन सडक आसपास ३० बढी कोठा भएका पर्यटकीय स्तरका डेढ दर्जन होटल छन् । यसबाहेक सैनामैना नगरपालिका, लुम्बिनी नजिकका शुद्धोधन र सियारी गाउँपालिकामा पनि स्तरीय होटल र कटेजहरु निर्माण भएका छन् ।

पौडेलका अनुसार भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि यो क्षेत्रमा धेरै पर्यटक आउँछन् भन्ने आशामा थुपै व्यवसायीले होटल व्यवसायमा लगानी गरेका थिए । होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य गोपाल राना अन्तर्राष्ट्रिय विमानस्थलको आशामा मात्र निजी क्षेत्रबाट २० अर्ब जति लगानी भएको बताउँछन् । ‘होटल व्यवसायको योजना बनाएर जग्गा खरिद र पूर्वाधार निर्माण समेत गरेर निजी क्षेत्रबाट २० अर्ब लगानी भइसक्यो,’ उनले भने, ‘बुद्ध जन्मस्थल लुम्बिनीसँग कनेक्टीभिटी हुने गरी अन्तर्राष्ट्रिय उडान हुने आशामा व्यवसाय चल्छ भन्ने भयो । सरकारले त्यतिका खर्च गरेर बनाएको योजनामा सबैको विश्वास थियो ।’

सन् २०१६ सम्म बुद्ध जन्मस्थल लुम्बिनीमा ४५ वटा जति मात्र होटल थिए । कोभिडअघि ३ वर्षको बीचमा ४० होटल थपिए । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने र बुटवलमा प्रदेशको राजधानी बनेपछि यहाँका थुप्रै व्यवसायी आशावादी बनेका थिए । आशा र उत्साहका कारण लगानी गरेका व्यवसायी अहिले निराश भएको होटल व्यवसायी महासंघका पूर्व अध्यक्ष माधव नेपाल बताउँछन् । विमानस्थल चलायमान नहुने हो भने धेरै व्यवसायी विस्थापित हुने अवस्था आउने नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्