एटिएमबाट एक दिनमा ६० हजार रुपैयाँ मात्र झिक्न सकिने «

एटिएमबाट एक दिनमा ६० हजार रुपैयाँ मात्र झिक्न सकिने

नेपाल राष्ट्र बैंकले एटिएम ठगी प्रकरणपछि दैनिक रुपमा झिक्न मिल्ने रकमको सिमा घटाएको छ । गत साता एटिएममार्फत् करीव साढे ३ करोड रुपैयाँ ठगी भएपछि दैनिक झिक्न मिल्ने एक लाख रुपैयाँको सिमा ६० हजार रुपैयाँमा सिमित गरिएको हो ।
शनिवार ह्याकरले एटिएममार्फत् ठूलो रकम चोरी गरेपछि केन्द्रीय बैंकले उक्त ठगी प्रक्ररण अध्ययनका लागि समिति गठन गरेको थियो । सो समितिले सोमबार एटिएमबाट झिक्न मिल्ने रकमको सिमा घटाउन सुझाव दिएपछि राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरी डेविट कार्ड र क्रेडिट कार्डबाट झिक्न सकिने रकमको सिमा घटाएको हो ।
बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै डेविट कार्डबाट न्यूनतम प्रति कारोबार ५ सय रुपैयाँ देखि २० हजार रुपैयाँसम्म नगद झिक्न सकिने व्यवस्था गरेको छ । तर, एक दिनमा अधिकतम ६० हजार रुपैयाँ भन्दा धेरै झिक्न नपाइने व्यवस्था गरेको छ । यसभन्दा अघि न्यूनतम ५ सय रुपैयाँदेखि एक कारोबारमा अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो । तर, बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विषेश परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको रकमको सीमा घटाउन पनि सक्ने व्यवस्था गरेको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले इस्यूअर र अक्वायरर फरक संस्था भइ डेविट कार्डबाट रकम झिक्दा लिइने सेवा शुल्क सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्