सत्यवतीको वार्षिक आम्दानी २० लाख

बुटवल– पाल्पाको सत्यवती तालमा हुने मेलामा यस वर्ष पनि डेढ लाख बढी भक्तजन आउने अनुमान गरिएको छ । जिल्लाको तिनाउ गाउँपालिका –४ मा पर्ने सत्यवती तालमा यही मंसिर ७ गतेदेखि ११ गतेसम्म मेला लाग्ने भएको छ । पाँच दिने धार्मिक मेला अवधिमा नेपाल र भारतका गरी डेढ लाख बढी श्रद्धालु भक्तजन मेला भर्न आउने सत्यवती मन्दिर ताल संरक्षण विकास समितिले अनुमान गरेको छ ।
गतवर्ष वर माग्ने ‘जोग’ परेकाले करिब एक लाख ५० हजार बढी श्रद्धालु भक्तजन सहभागी भएका थिए । यस वर्ष मंसिरमा पूर्णिमा पर्दा ‘जोग’ छैन तर पनि श्रद्धालु भक्तजनको संख्यामा भने कमी नआउने समितिको दाबी छ । सत्यवतीमा वार्षिक २० लाख बढी दान र भेटीमार्फत् उठ्ने गरेको छ । २१ लाख ५८ हजार दान र भेटीवापत रकम उठेको समितिका अध्यक्ष दानबहादुर गाहाले बताए ।
सत्यवतीमा कात्तिक चतुर्दशीका दिन भक्तजनहरू रातीको १२ बजे सत्यवती बज्यैको मन्दिरमा पूजा पाठ गरी चिच्याएर वर मागी बिहानपख झिसमिसेमै बाटो लाग्ने विगतमा प्रचलन थियो । अहिले जुनसुकै दिन र समयमा दर्शनार्थी आउने र वर माग्नेको संख्यामा वृद्धि हुँदै गएको गाहाको भनाइ छ । सत्यवती तालमा पुगेपछि बाँसको लिंगो गाडने र राती पूजा गर्दा त्यही लिंगो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ ।
दर्शनका लागि मेलामा आउने भक्तजनको सुविधाका लागि सडक स्तरोन्नति, बिजुली व्यवस्थापन, स्वयम्सेवक तथा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाइएको आयोजकको भनाइ छ । सत्यवती ताललाई तिनाउको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनले सडक स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले प्रदेश र संघसंग समन्वय गरेर काम गरिएको समेत जानकारी दिए ।
मेला भर्न रुपन्देही, स्याङ्जा गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ कास्की, काठमाडौंलगायत छिमेकी देश भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत दर्शनार्थी आउने गर्दछन् । तानसेन र बुटवल क्षेत्रबाट आउने भक्तजन सिद्धार्थ राजमार्गको २४ माइल र झुम्सा पानी मिलबाट पैदल दुई घण्टाको उकालो हिँडेपछि सत्यवती ताल पुग्न सक्नेछन् । सवारीसाधनको प्रयोग गरेर पनि सहज रूपमा तालसम्म पुग्न सकिन्छ ।