पुख्र्यौली आरन पेसाबाटै मनग्य आम्दानी

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गरे । वैदेशिक रोजगारमा पनि सोचे अनुरुप आम्दानी गर्न नसकेपछि उनी स्वदेश फर्किए । स्वदेश फर्किएपछि के काम गर्ने भन्ने उनमा अन्योलता थियो ।
गजमेरको पुख्र्यौली पेसा आरन पेसा थियो । उनले आरन पेसालाई नै अगाडि बढाउने सोच गरे । सोहीबमोजिम १० वर्षदेखि उनी आरन पेसामा आबद्ध छन् । हातमा सीप, मनमा जाँगर र आँट भए कुनै पनि कामबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन् । उनले यही पेसाबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।
साउदी अरब रोजगारीमा रहँदा साहुले लगाएको वचनका कारण स्वदेश फिर्ता भई पुर्खाले अंगाल्दै आएको आरन पेसा सञ्चालन गरेको उनले बताए । उनले भने, ‘विभिन्न कम्पनीमा कामका लागि गएका नेपालीले तोकिएको काम र पारिश्रमिक नपाउने, गाली र यातनाका साथै दुव्र्यवहार खेप्नुपरेको अनुभव छ । मैले स्वदेश फर्किएपछि पुख्र्यौली पेसालाई सुरु गर्ने सोच बनाएँ ।’
गजमरेले गत वर्षदेखि पर्यटन तथा उद्योग कार्यालय तनहुँमा परम्परागत अङ्कित आरन व्यवसाय दर्ता गरेका छन् । आरन व्यवसाय सञ्चालन गर्न चाहिने गोल सिद्धथान सामुदायिक वन उपभोक्ता समिति, देवीथुम्का सामुदायिक वन उपभोक्ता समिति, पार्चे सामुदायिक वन उपभोक्ता समिति र स्थानीय व्यक्तिको सहयोग लिँदै आएको उनले बताए ।
हँसिया, खुर्पा, कुटो, कोदालो, कोदाली, बन्चरो, खुँडा, तरबार, खुकुरी, करौंती, फाली, करुवा, बसिला, छिनो, चिम्टालगायतका घरेलु हतियार, कृषि औजार निर्माण तथा तयारी, मर्मत र अर्चप्ने काम उनको दैनिकी हो । सिजनमा दैनिक छ/सात हजार आम्दानी गर्ने गजमेयरले आरन व्यवसायमा अन्य दुई जनालाई रोजगारीसमेत दिएका छन् । आरन पेसाबाटै भएको आम्दानीबाट घर व्यवहार चलाउन सहयोग पुगेको उनको भनाइ छ ।
उनले भने, ‘यही आरन पेसाबाट भएको आम्दानीले छोरा र छोरीलाई बोर्डिङ स्कुलमा गुणस्तरीय शिक्षा दिन सकेको छु ।’ सुरुका दिनमा ३५ जना गाउँलेबाट प्रतिव्यक्ति एक हजारका दरले सहयोग प्राप्त गरी ३५ हजार लगानीमा व्यवसाय सञ्चालन गरेको उनले बताए ।
यहाँ उत्पादित कृषि औजार खुर्पा दुई सयदेखि दुई हजार पाँच सय, कुटो पाँच सय, कोदालो आठ सयदेखि दुई हजारसम्म, बन्चरो एक हजारदेखि दुई हजार पाँच सयसम्म, खुँडा एक हजार पाँच सयदेखि आठ हजारसम्म, बसिला पाँच सयदेखि एक हजार पाँच सयसम्म बिक्री हुने गरेको छ । पुराना औजार मर्मतको १५० र अर्चपेको ६० रुपैयाँ लिने गरेको उनले बताए ।
उनले भने, ‘आरन पेसा हाम्रो पुख्र्यौली पेसा हो । गाउँमा आरन पेसा लोप हुँदा गाउँलेले समेत दुःख पाएका थिए । मैले आरन पेसा सुरु गरेपछि गाउँलेले सेवा पाएका छन् भने म स्वरोजगार बनेको छु ।’
यहाँ उत्पादित घरेलु हतियार तथा कृषि औजार घरघरमै पुगेर बिक्री गर्ने गरेको उनले बताए । उनले भने, ‘किसानहरूले सुविधा खोज्छन्, म किसानकै घरदैलोमा गई सेवा दिँदै आएको छु । यहाँ उत्पादित कृषि औजार बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकामा बिक्री हुने गरेको छ ।’
सामाजिक सञ्जालमा सक्रिय गजमेरले यसको उपयोग गरी कृषि औजारको प्रचार र बिक्री गर्दै आएका छन् । उनले भने, ‘टिकटक र फेसबुकमा मैले हालेको भिडिओ हेरेर बन्दीपुर घुम्न आएका व्यक्ति मसँग सम्पर्कमा आउनुहुन्छ । उहाँहरूले कृषि औजार खरिद गरेर लैजानुहुन्छ ।’