Logo

एक अर्ब ३७ करोड राजस्व संकलन

पोखरा– आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको कार्तिक मसान्त सम्ममा १ अर्ब ३७ करोड ८९ लाख २४ हजार राजस्व संकलन गरेको छ । कात्तिक मसान्तसम्म कार्यालयले १०१.२४ प्रतिशतले लक्ष्य प्राप्त गरी राजस्व संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत शिव शर्माले बताए ।

उनका अनुसार कार्यालयको ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो । कार्यालयले कात्तिक मसान्तसम्ममा लक्ष्यको आयकरतर्फ १३४.३२ प्रतिशत, अन्त शुल्कतर्फ ११६.३६ प्रतिशत, मुअकरतर्फ ७७.३४ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

यसैबीच, पोखरामा विभिन्न कार्यक्रम आयोजना गरी यो वर्षको राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम मनाउने कार्य सुरु भएको छ । गत शुक्रबार पहिलो करदाता नल बहादुर गुरुङलाई आन्तरिक राजस्व कार्यालय पोखराले सम्मान गरेको थियो । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८० को मंसिर १ देखि ७ सम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन सुरु भएको प्रमुख कर अधिकृत शर्माले बताए ।

राष्ट्रिय कर दिवसको अवसरमा पोखरा उद्योग वाणिज्य संघ तथा आन्तरिक राजस्व कार्यालयद्धारा आयोजित कार्यक्रममा प्रमुख कर अधिकृत शर्माले अर्थतन्त्र सिथिल हुँदा त्यसको प्रभाव राजस्व संकलनमा प्रत्यक्ष परेको बताए । यद्यपि,आन्तरिक राजस्व कार्यालय पोखरा भने लक्ष्य अनुसार कर संकलनमा सफल भएको उनले बताए । हुण्डीको अवैध कारोबारका कारण न्यूनबिजीकरणमार्फत सामानहरु आयात हुने गरेको उनले उल्लेख गरे ।

करसम्बन्धी कार्यपत्र पेस गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका सूचना अधिकृत गोपाल गिरीले मिसम्याच, कर र विवरण दाखिलाको तौरतरिका,छुटका व्यवस्था बारे जानकारी गराएका थिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीेले करदाताको पनि सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरे । संघका महासचिव बलराम आचार्यले कर नीति बनाउँदा व्यवसायीहरूको सुझाव लिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्