गाउँसम्म पुगेन करदाता शिक्षा

जुम्ला– जुम्लामा कर सप्ताह मनाइए पनि अझै पनि गाउँसम्म करदाता शिक्षा पुग्न सकेको छैन । करलाई मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिए पनि यसको जानकारी नहुँदा समयमै कर नबुझाउने, बिल बिजक अनिवार्य रूपमा नराख्ने, मिति नाघिसक्दा पनि फर्म नवीकरण नगर्नेजस्ता कार्यले वर्चस्व पाएको छ ।
कारोबार लुकाएर कर तिर्ने र दर्ता नै नगरी व्यापार–व्यवसाय सञ्चालन गर्नेजस्ता समस्या विद्यमान छन्, जसका कारण कर संकलन कार्य प्रभावित हुने गरेको छ । करदाता शिक्षाको अभावमा कर्णालीमा हजारौंको संख्यामा दर्ताबिनाका उद्योग–व्यवसाय सञ्चालन भइरहेका छन् । अनुगमन निरीक्षण नियमित नहुने र गाउँसम्म करदाता शिक्षा पुग्न नसक्दा गाउँका उद्यमी अलमलै रहेका छन् ।
संघीयतापछि अनुदानमुखी कार्यक्रमको बिगबिगी बढेको छ । अनुदान लिनकै लागि फर्म दर्ता गर्ने क्रम बढ्दो क्रममा रहेको छ । अनुदान पाउन्जेल कर तिर्ने र अनुदान सकिएपछि कर नतिरीकनै फर्म सञ्चालन गर्ने समस्या विकृृतिको रूपमा बढेको छ । आन्तरिक राजस्व कार्यालय, जुम्लाको तथ्यांकअनुसार कालीकोट, मुगु र जुम्लाको गरी १५ हजारभन्दा बढी करदाता रहेका छन् । केही बुझेका बाहेक ग्रामीण भेगका सामान्य उद्यमीले प्रायः अहिलेसम्म करदाता शिक्षा पाएका छैनन् ।
आन्तरिक राजस्व कार्यालय, जुम्लाले बर्सेनि कर सप्ताह मनाउँदै आएको छ । बर्सेनि बजार केन्द्रित मात्रै करदाता शिक्षा दिइने, छलफल गर्ने मात्रै गरिन्छ । यो वर्ष पनि बाह्रौं राष्ट्रिय कर दिवस मनाइँदै छ । बजारका कुना–कुनामा कर सप्ताहका ब्यानर टाँसिएका छन् । तर दूरदराजका करदाता सचेत हुने खालका कुनै कार्यक्रम हुन सकेका छैनन् ।
ग्रामीण भेगका व्यापारी तथा उद्यमीलाई सचेत गराउन जरुरी रहेको स्थानीय पूर्णप्रसाद चौलागाईंले बताए । उनले भने, ‘धेरै व्यापारीले मिति सकिएको सामान बेच्छन् । अधिकांश व्यापारीले बोर्डसमेत राखेका छैनन् । दर्ता भएका छन् वा छैनन्, त्यो पनि थाहा छैन् । यस्ता विषयमा अनुगमनसँगै कर शिक्षा निकै जरुरी छ ।’
उद्योग वाणिज्य संघ, जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले करदाता शिक्षा गाउँ–गाउँमा पुर्याउनुपर्ने बताए । सदरमुकाम केन्द्रित करदाता शिक्षाले मात्रै अपेक्षित कर संकलन तथा व्यावसायिक क्षेत्र सुधार सम्भव छैन । उनले भने, ‘करदाता शिक्षा गाउँमा पु¥याउन हामीले पहल गरिरहेका छौं । उद्योग वाणिज्य संघको एकाइ पालिकास्तरमा समेत गठन गरिसक्यौं । अब अनिवार्य रूपमा करदाता शिक्षा गाउँमा पुर्याउँछौं ।’
गाउँमा उपभोक्ता ठग्ने, दर्ता नगरी व्यवसाय चलाउने, समयमै नवीकरण तथा कर नबुझाउने समस्या ग्रामीण भेगमा अत्यधिक रहेको छ । फाट्टफुट्ट अनुगमनमा जाने र कारबाही गरेर सुधार सम्भव नभएको स्थानीयवासी बताउँछन् । पहिला करदाता शिक्षा दिने र त्यसपछि अनुगमन गरी नियमन गर्नुपर्नेमा अध्यक्ष देवकोटाले जोड दिए ।
आन्तरिक राजस्व कार्यालय, जुम्लाका प्रमुख शुभप्रसाद रिजालले बजारभन्दा गाउँ केन्द्रित करदाता शिक्षालाई प्राथमिकता दिइने बताए । आगामी दिनमा उद्योग वाणिज्य संघ र पालिकासँग समन्वय गरी ग्रामीण बजारका उद्यमी व्यवसायलाई सचेत गराउने उनको भनाइ छ । समन्वय र सहकार्य अभावले अहिले गाउँमा करदाता शिक्षा कार्यक्रम हुन सकेको छैन ।