होटल अकुपेन्सी क्षमताको एक तिहाइमात्र

काठमाडौं– क्षमताको एकतिहाइ अकुपेन्सीमा होटलहरू सञ्चालन भइरहेको होटल संघ नेपालले बताएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सूदन किराँतीसँग पर्यटन प्रवर्द्धन बढाउने विषयमा भएको छलफलमा संघका अध्यक्ष विनायक शाहले सो कुरा बताएका हुन् ।
शाहले मुलुकमा पर्यटन आगमन वृद्धि भए पनि पछिल्लो समयमा धेरै ठूला होटल संरचनाहरू सञ्चालनमा आउने क्रम बढेकाले मागभन्दा आपूर्ति बढी भएको बताए । शाहले विदेशी पर्यटकहरू नेपाल भ्रमणका लागि लालायित र सोधपुछहरू बढ्दै गएको परिप्रेक्ष्यमा राजमार्गका सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाइका कारणले नेपाल आउने पर्यटकहरू अन्यत्रै जाने गरेको बताए ।
उनले मुलुकको नयाँ क्षेत्रीय विमानस्थल पोखरा र भैरहवालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके पर्यटनबाट मुलुकले छिट्टै फड्को मार्न सक्ने हुँदा यसतर्फ राज्यको ध्यानाकर्षण गराए । विकसित छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि मुलुकमा पर्यटन आगमनको चाप बढ्ने बताउँदै यसतर्फ राज्यको ध्यान जानुपर्नेमा उनको सुझाव थियो ।
शाहले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा सशक्त र प्रभावकारी ढंगबाट अन्तर्राष्ट्रिय जगत्मा मुलुकको पर्यटन प्रवर्द्धनमा सक्रिय नरहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । शाहले पर्यटन बोर्डका सम्बन्धमा सार्वजनिक–निजी साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदनसमेत बुझाएको हुँदा यसको कार्यान्वयनका लागिसमेत आग्रह गरेका छन् ।
मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजीकरण गर्दै लगानीमैत्री तथा पर्यटनमैत्री बनाउन आग्रह गर्दै संशोधन हुन लागेको संघीय पर्यटन ऐनले यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे । प्रतिनिधि मण्डलद्वारा बन्दै गरेको क्यासिनो नियमावलीलाई व्यवस्थित र प्रभावकारी बनाई क्यासिनो सञ्चालनमा सहजीकरण गरिनुपर्ने बारेमा छलफल भयो ।
उक्त अवसरमा मुलुकको पर्यटकीय केन्द्रमा सञ्चालनमा रहेका होमस्टे र एयर बी एन्ड बीलाई राज्यको दायरामा राखी दर्ता, नवीकरण र राज्यलाई राजस्व समेत बुझाउने गरी नियमनकारी भूमिका खेल्नुपर्नेमा सुझाव दिइएको थियो । कोभिड, रुस–युक्रेन युद्ध र मध्यपूर्वी मुलुकमा भएका युद्धबाट धराशायी बन्दै गएको पर्यटन तथा होटल उद्योगलाई राष्ट्रिय बजेट र मौद्रिक नीतिबाट सम्बोधन नभएको संघको ठहर छ ।
बैंकलाई बुझाउनुपर्ने साँवाब्याज समयमा बुझाउन नसकेको हुँदा साँवाब्याज बुझाउने समयावधि थप गरिनुपर्नेमा अध्यक्ष शाहले जोड दिए । जनवरी १५ मा नेपाल आतिथ्यता दिवस मनाउन लागेको जानकारी गराउँदै यस कार्यक्रमबाट पनि राज्यले घोषणा गरेको पर्यटन दशकलाई मद्दत पुग्ने उनले बताए । उक्त अवसरमा मन्त्री किराँतीले पर्यटक आगमन सन्तोषजनक भएको र आउँदा दिनमा अन्तर्राष्ट्रिय जगत्मा राम्रो सन्देश प्रवाह भएको बताए ।
मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटनलाई चलायमान बनाई पूर्वाधारहरू समयमै सम्पन्न गरी हवाई सञ्जालसमेत विस्तार गरिने र यसबारेमा सम्बन्धित निकायमा पहलकदमी भइरहेको बताएका थिए । मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भई छलफल भइरहेको हुँदा पर्यटनसँग सम्बन्धित जल्दाबल्दा सुझावहरूले महत्व राख्ने बताउँदै पर्यटन दशकका लागिसमेत गृहकार्य सुरु भएको मन्त्री किराँतीले बताएका छन् ।