एमेच्योर गल्फर सदभाव शीर्ष स्थानमा

काठमाडौं– सूर्य नेपाल गल्फ टुर २०२३/०२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन एमेच्योर युवा गल्फर सदभाव आचार्य ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उकल्न सफल भएका छन् ।
राष्ट्रिय गल्फ टिमका सदस्य सदभावले गोकर्ण गल्फ क्लबमा मंगलबार ४–अण्डर ६८ स्कोर गर्दै समग्रमा १०–अण्डर १३४ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे । दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा दिनेशले ७–अण्डर ६५ खेले । समग्रमा ७–अण्डर १३७ सहित उनी दोस्रो स्थानमा उक्लिए । समग्रमा ५–अण्डर १३९ को स्कोरमा तेस्रो स्थानमा उक्लिएका जयराम श्रेष्ठले ३–अण्डर ६९ खेले ।
पहिलो दिनका लिडर एमेच्योर टासी छिरिङले २–अण्डर १४२ को नतिजामा चौथो स्थानमा तल झरे । उनले मंगलबार ५–ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरे । यस दिन ३–अण्डर ६९ स्कोर गरेका धनबहादुर थापा समग्रमा १–अण्डर १४३ सहित पाँचौ स्थानमा रहे । समग्रमा इभन पार १४४ सहित भुवन नगरकोटी छैटौ स्थानमा छन् । उनले १–अण्डर ७१ मा दिनको खेल सके ।
समग्रमा १–ओभर १४५ स्कोरका साथ सञ्जय लामा र नीरज तामाङले संयुक्तरुपमा सातौं स्थान बाँडे ।नीरजले मंगलबार ३–अण्डर ६९ मा र ४–ओभर ७६ मा खेल सके । कुमार कामी र प्रदीप कुमार लामा समग्रमा २–ओभर १४६ सहित संयुक्तरुपमा नवौं स्थानमा रहे । कुमारले १–अण्डर ७१ र २–ओभर ७४ मा खेल सकेका छन् ।