खानेपानी आयोजनाको काम तीव्र गतिमा «

खानेपानी आयोजनाको काम तीव्र गतिमा

इलाम-सोचेभन्दा चाँडो खानेपानी आयोजनाको काम भएपछि स्थानीय तथा कर्मचारी दंग छन् । इलाम बजारमा सञ्चालन भइरहेको खानेपानी आयोजनाले गति लिएपछि यहाँका स्थानीय, उपभोक्ता समितिका पदाधिकारी तथा कर्मचारी दंग भएका हुन् ।
इलाम सदरमुकाममा सञ्चालित खानेपानी आयोजनाले सोचेभन्दा चारगुणा चाँडो गति लिएसँगै उनीहरु हर्षित छन् । ‘इलाम बजार तेस्रो साना खानेपानी आयोजना’को काम हालसम्ममा ४ प्रतिशत सम्पन्न गर्ने लक्ष लिइएको थियो तर १९ प्रतिशत काम भएको आयोजनाका प्रमुख इञ्जिनियर मेघराज धिमालले बताए । ‘हामीले हालसम्म ४ प्रतिशत काम हुन्छ भन्ने प्रारम्भिक लक्ष्य राखेका थियौं, तर १९ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’ उनले भने ।
खानेपानी आयोजनाको काम तीब्र रुपमा सञ्चालन भएसँगै यहाँका स्थानीयले सहज रुपमा खानेपानी उपभोग गर्न पाउने आशा लिएका छन् । आयोजनाका प्रमुख इञ्जिनियर धिमालले इलाममा आएर काम गर्दा सहज भएको बताए । भिरालो जग्गा भएपछि सुरुमा आउँदा काम गर्न कठिनाई हुन्छ जस्तो लागे पनि हालसम्म स्थानीय, उपभोक्ता समिति र इलाम नगरपालिकाको सहयोगले धेरै प्रगती गर्न सफल भएको उनले बताए । देशका विभिन्न ठाउँको खानेपानी निर्माणको काम गरिसकेको बताउने धिमालले यो आयोजना पनि समयभन्दा चाँडो सम्पन्न हुने लक्ष्य लिएका छन् ।
आयोजना सम्पन्न भइसक्दा इलाममा २४ घण्टा नै पानी आउने भएको छ । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा २४ महिनामा सक्ने सम्झौताममा सञ्चालन भएको आयोजनाको काम तीब्र रुपमा सञ्चालन भइरहेको हो । आयोजनाको १९ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको छ । हालसम्म कार्यालय व्यवस्थापन, पाइप खरिद, माटो परीक्षण, कर्मचारी व्यवस्थापन गरिसकेको उनले बताए । हाल इलाम नगरपालिका–५ बरबोटेमा कार्यालय व्यवस्थापन गरिएको छ । जग्गा लिजमा लिएर आयोजनाका लागि ल्याइएका सामाग्री राखिएको छ ।
एडीबीको आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपैयाँमा खानेपानी आयोजनाको ठेक्का लागेको हो । यो आयोजना जिल्लाको अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । खानेपानी आयोजना सञ्चालनका लागि सन्दकपुर गाउँपालिकाका स्थानीय र उपभोक्त समितिबीच दुई वर्षदेखि छलफल हुँदै आएको थियो ।
गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्हार गर्ने बताइएको छ ।
खानेपानी ल्याउनका लागि यस अघि नै प्रतिघरधुरी १५ हजार दुई सय रुपैयाँका दरले रकम उठाइ सकिएको ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । उनका अनुसार आयोजना सम्पन्न भएपछि इलाम बजारमा २४ सै घण्टा धारामा पानी आउने छ ।
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीनवटा र भाँडीखोलाबाट पानी ल्याइने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने उनले बताए । हाल खानेपानी इलाम नगरपालिकाले नै वितरण गर्दै आएको छ । इलाम सदरमुकाम समेत रहेको इलाम नगरपालिकामा अन्य स्थानीय तहभन्दा बढि जनसंख्या छ ।
यो आयोजना सञ्चालन भएपछि पूरानो खानेपानीको पाइप, मिटर र धारा परिवर्तन हुनेछ । १५ हजार ३ सय उपभोक्ताबाट उठाइएको रकमबाट नै मिटर, पाइप र धारा जडान गरिने उपभोक्ता समितिका अध्यक्ष थापाले बताए । हाल ५० हजार देखि डेढ लाख लिटर क्षमताका ट्यांकी निर्माण गरिँदै छ । बजार भित्रका गुम्बाडाँडा, गढिथुम्का, क्याम्पस डाँडा, पशुहाटलगायतका स्थानमा ट्यांकी निर्माण भइरहेको अध्यक्ष थापाले बताए ।
अहिले पानीको अभावमा दुई दिनमा एक पटक पानी वितरण गर्दै आएको नगरपालिकाको खानेपानीको समस्या समाधान गर्न आयोजना सहयोगी हुने स्थानीयको अपेक्षा छ ।
सुरुका दिनमा जति हौसला मिलेको छ आयोजना सञ्चालन गर्न भोलीका दिनहरुमा पनि उत्तिकै साथ मिले मात्र आयोजनाले गति लिने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताए । ‘दक्ष कर्मचारीको व्यवस्था गरिएको छ ।’ उनले भने ।
तर इलाम बजारमा खानेपानी ल्याएबाफत नगरपालिकाले सन्दकपुर गाउँपालिकालाई निश्चित रकम बुझाउनु पर्ने बताइएको छ । स्रोतका अनुसार सन्दकपुर गाउँपालिकालाई इलाम नगरपालिकाले मासिक साढे दुई लाख रुपैयाँ तिर्ने सहमति भएको छ । उपभोक्ताहरुले प्राकृतिक श्रोतमाथि स्थानीय तहले नै खरिद विक्रि गर्न नहुने सुझाव दिँदै आएका छन् ।

टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्