गलेश्वरमा सुविधायुक्त होटल थपिए

म्याग्दी– पछिल्लो समय म्याग्दीमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर सुविधायुक्त होटल थपिने क्रम बढेको छ । म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, पोखरेबगर, पुनहिल, भुरङतातोपानी, सिंगातातोपानीमा ब्यवसायीले ठूलो लगानी गरेर होटल सुविधा विस्तार गरेका हुन् ।
होटल सुविधाविस्तार भएसँगै हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दी घुम्न आउने पर्यटकलाई खानेबस्ने अभावले एकैरातमा पोखरालगायतको क्षेत्रमा जानुपर्ने बाध्यता हटेको होटल व्यवसायी बताउँछन् । पछिल्लो समय बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थल गलेश्वरमा सुविधायुक्त होटल थपिएको छ । पाहुनाको मागलाई लक्षित गर्दै बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा क्षमता बढाउँदै होटल सञ्चालनमा ल्याएको छ ।
याक होटलका प्रबन्धक वासुदेव सुवेदीले अपाङ्गमैत्री भवनमा पाहुनाका लागि ४० वटा कोठा भएको सञ्चालनमा आएको बताए । ‘म्याग्दी, मुस्ताङ घुम्न आउने पाहुना र पर्यटकलाई लक्षित गरेर गलेश्वरमा आफ्नै भवन बनाएर होटल स्थानान्तरण गरिएको छ,’ उनले भने । ‘चार/चार वटा स्विट र डिलक्स कोठा रहेको होटलका सबै कोठामा एट्याच बाथरुमसहित छन् । तातोचिसो पानी, टिभी, इन्टरनेटको सुविधा भएको होटलका संरचनालाई अपाङ्गमैत्री बनाएका छाैं ।
एक दिनमा १५० जनाबास बस्न सक्ने क्षमता रहेको छ । होटलको पाहुनाबस्ने घर, किचन र डाइनीङ हल फरक फरक छन् । १०० जना क्षमताको सभाहल तयार हुँदैछ ।’ याक होटलका सञ्चालक ताराप्रसाद आचार्य (बाबुराम) करिब पाँच वर्ष साउदी अरबमा काम गरेर फर्किएपछि वि.सं २०६४ बाट होटल क्षेत्रमा लागेका थिए । सो होटलमा हाल २२ जनाले रोजगारी पाएका छन् ।
पाहुनाको इच्छा र चाहनाअनुसार सुविधायुक्त होटल सञ्चालन गरेको सञ्चालक आचार्यले बताए । बेनी बजारदेखि तीन किलोमिटर उत्तरतर्फ रहेको गलेश्वर हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेश विन्दु हो । गलेश्वरको प्रवेश विन्दुमा याक होटल खुलेको छ । याक होटलको कोठाबाटै गलेश्वर मन्दिर अवलोकन गर्न सकिन्छ । होटलमा स्थानीय उत्पादनको कोशेली घर पनि सञ्चालन गर्ने तयारी भएको छ ।
गलेश्वरमा दुई वर्षअघि होटल ताजमहल खुलेको थियो । प्याराडाइज र रिभरसाइड होटल नयाँ व्यवस्थापनका साथ सञ्चालन गरेका छन् । बेनी–जोमसोम सडक स्तरोन्नति भएसँगै गलेश्वर क्षेत्रमा होटलमा लगानी बढेको छ । पुराना होटलले क्षमता बढाएका छन् ।