चाडपर्वले उत्साहित बनाएन झापाका व्यवसायीलाई

बिर्तामोड– चाडपर्वमा राम्रो व्यापार हुने आशामा रहेका झापाका व्यवसायी भनेजस्तो व्यापार नभएपछि निराश बनेका छन् । कोभिड महामारी, आर्थिक मन्दी र भारतीय बजारका कारण समस्यामा परेका झापाका साना तथा मझौला व्यवसायी चाडपर्वमा बजारमा ग्राहक नआउँदा र व्यापार नबढेका कारण निराश बनेका हुन् ।
दसैं, तिहार र छठलगायतका पर्वमा राम्रो व्यापार हुने आशामा रहेका उद्योगी व्यवसायीले चाडपर्वमा हुने कारोबारले राहत नपाएको मेची उद्योग वाणिज्य संघले जनाएको छ । झापाका धेरैजसो उपभोक्ता उपभोग्य सामान खरिद गर्न भारतीय बजार नक्शलवाडी र पानीट्याँकीमात्र होइन शिलीगुडीसम्म पुग्ने गरेका कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले बताए ।
आर्थिक मन्दीको असर सबैभन्दा बढी व्यापारमा परेको बताउँदै उनले विगतका दसैंमा दिनमै एक लाख हाराहारी हुने व्यापार यस पटक ३० हजारको हाराहारीमा झरेको जनाए । झापाका प्रमुख व्यापारिक केन्द्र बिर्तामोड, काँकरभिट्टा, धुलाबारीलगायतका क्षेत्रमा व्यापार व्यवसायसमेत चौपट भएको उनको भनाइ छ ।
यसपटक झन् व्यापार घटेको बताउँछन् बिर्तामोडका व्यवसायी छविलाल निरौला । चाडपर्वमा गरिने किनमेलले थोरै भए पनि राहत मिल्ने अपेक्षा गरे पनि भनेजस्तो व्यापार नभएको व्यवसायी निरौलाले बताए । कोरोनाकालदेखि नै खस्केको व्यापार अझै लयमा फर्किन नसकेको बताउँदै उनले अहिले त्योभन्दा पनि व्यापार खस्केकाले सबै व्यवसायी निराश हुनुपरेको जनाए ।
कोभिडअघिका दसैं, तिहार छठलगायत चाडपर्वका बखत दुईदेखि पाँच लाख रुपैयाँका कपडा बिक्री गर्ने गरे पनि अहिलेको दसैं, तिहार छठलगायतका पर्वमा एक देखि डेढ लाख रुपैयाँँका कपडा बिक्री गर्न पनि हम्मेहम्मे परेको काँकरभिट्टाका व्यवसायी नवराज उप्रेतीले बताए । व्यापार नै न्यून हुन थालेपछि व्यवसायीलाई पसलको भाडा नै तिर्न समस्या भएको उनको भनाइ छ ।
छठका बखत थरिथरीका मिठाइँ, फलफूल मात्र नभएर माटोका भाडा र नयाँ कपडाको कारोबार हुने गरे पनि यसवर्ष ती सामान खरिद गर्नेको संख्या न्यून भएको काँकरभिट्टाका फलफूल व्यापारी रामबाबु प्रसादले बताए ।
नेपाली बजारको तुलनामा भारतीय बजारमा सामान सस्तो पाइने उपभोक्ताको बुझाइका कारण पनि यस्तो समस्या आएको मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल (किशोर) क्षेत्रीले बताए । लामो समय खासै कारोबार नभएर तनाव झेल्न बाध्य उद्योगी व्यवसायीलाई चाडपर्वको कारोबारले उत्साहित बनाउनु पर्ने भए पनि खासै सन्तोषजनक व्यापार नभएको उनको भनाइ छ ।
अधिकाँश उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरे पनि भनेजस्तो व्यापार नहुँदा बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न नसकेर उद्योगी व्यवसायीलाई समस्या भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
चाडपर्वमा समेत बजारमा किनमेल गर्नेको चहलपहल कम भएकाले व्यापार नहुँदा उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थालाई समयमै ऋण तथा व्याज बुझाउन नपाएको उनले बताए । चाडपर्वका बेला बजारमा अपेक्षित कारोबार नभएर बजारको कारोबार सामान्य अवस्थाकै जस्तो हुँदा उद्योगी व्यवसायीमा निराशा छाएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए ।
विगतका वर्षमा कोरोना महामारीका कारण थला परेको व्यवसाय यो चाडपर्वका बखत राम्रो हुने आशा भए पनि चाडपर्वका बेला सोचेजस्तो व्यापार नभएपछि उद्योगी व्यवसायी निराश भएको उनको भनाइ छ । कोभिडअघिका दसैं, तिहार र छठलगायतका चाडपर्वमा पसलमा कपडा छान्नेको भीडभाड निक्कै ठूलो भए पनि यसपालि दसैं, तिहार, छठलगायतका चाडपर्वमा छिटफुट मात्र कारोबार भएको काँकरभिट्टाका व्यवसायी हर्कबहादुर लिम्बु फियाकले बताए ।
कोभिडको महामारी कम भएपछि व्यापारमा सुधार हुने अपेक्षा गरे पनि यसपालि पैसा नभएकै कारण ग्राहक कम आएको हुनसक्ने बिर्तामोडकी व्यवसायी निलम श्रेष्ठ बताउँछिन् । यसपालि किनमेल गर्ने ग्राहक घटेको र व्यापार नहुँदा नयाँ सामान ल्याउन नसकेको उनको भनाइ छ ।
पहिले कोरोना संक्रमण डरले ग्राहक बजारमा नआउँदा चिन्तित बनेका व्यापारी अहिले झन् व्यापार नै नहुँदा व्यापार व्यवसाय छोडेर पलायन हुने अवस्थामा पुगेको बिर्तामोडका व्यापारी मनोज रौनियारले बताए । कोरोना संक्रमणको त्रासले लकडाउन हुँदा व्यवसायीहरू ऋणमा डुब्दा अहिलेसम्म ऋण तिर्न सक्ने अवस्थामा नरहेर ऋणको भारले थिचिए पनि अहिले चाडपर्वको झिनो आशा लिएर व्यवसाय चलाउन थालेको भए पनि चाडपर्वमा अपेक्षा गरेअनुसार कारोबार नभएको उनको भनाइ छ ।
लकडाउनमा भएको घर भाडा, कर, बैंकको किस्ता अहिलेसम्म तिर्न नसकेको अवस्थामा अहिलेको समयमा पनि व्यापार शून्यको अवस्थामा हुँदा धेरै व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनले बताए । आर्थिकरूपमा निकै घाटामा रहेका व्यापारी आफ्नो व्यापारलाई सामान्य अवस्थामा फर्काउन कठिन भइरहेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले बताए ।
व्यवसायीलाई गुजारा चलाउनै कठिन भएको बताउँदै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले सरकारले नै व्यापारीलाई राहतको व्यवस्था गर्नुपर्ने जनाए । यस्तो बेलामा सरकारले न्यून व्याजदरमा ऋण उपलब्ध गराएमा व्यापारलाई चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ छ । सरकारले बैंकको व्याजदर मिनाहा वा न्यून गरेमा लकडाउनले थिलथिलो भएका व्यापारी तथा व्यवसायीलाई राहत पुग्ने व्यवसायीको भनाइ छ ।