मन्त्री साउदलाई चुनावी वाचा सम्झाउन स्थानीयले गरे सडक अवरुद्ध

महेन्द्रनगर– कञ्चनपुरमा परराष्ट्रमन्त्री एनपी साउद आएपछि उनको निर्वाचन क्षेत्रका बासिन्दाले कलुवापुर र बेलौरी सडक खण्ड अवरुद्ध गरेका छन् । गत वर्ष निर्वाचनका क्रममा मन्त्री साउदले चुनावी वाचाअनुसार सडक कालोपत्रे नभएपछि उनी आएको मौका पारी स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।
मन्त्री साउद शनिबार शुक्लाफाँटा नगरपालिकाको प्रशासनिक भवन उद्घाटनलगायतका कार्यक्रमका लागि गृह जिल्ला आएका हुन् । मन्त्री साउँद शनिबार शुक्लाफाँटामा भवन उद्घाटनका लागि पुगेपछि स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयको विरोधको डरले मन्त्री साउँद शनिबार झलारीबाट दैजी आएर बेलडाँडी हुँदै बेलौरी गएका थिए ।
सडक डिभिजन कार्यालयले कलुवापुरदेखि बेलौरीसम्म सडक कालोपत्रेका लागि २०७३ सालमा ठेक्का सम्झौता गरी काम अघि बढेको थियो । संघीय संरचनापछि उक्त सडकको निर्माण कार्य २०७५ सालमा प्रदेश सरकार मातहत आई पूर्वाधार विकास कार्यालयले हेर्दै आएको छ ।
त्यसैगरी सडक डिभिजन सन्तोषी थेगिम जेभीबीच कालोपत्रेका लागि २०७३ साल भदौ १७ गते तीन वर्षमा सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो भने पूर्वाधार विकास कार्यालय मातहत आएपछि २०७५ साल भदौ १५ गतेसम्म उक्त काम सक्ने गरी सम्झौता गरिएको थियो तर, अहिलेसम्म पनि उक्त सडक कालोपत्रे भने हुन सकेको छैन ।
त्यसैगरी गत वर्ष निर्वाचनमा मन्त्री साउदले आफूले चुनाव जिते कलुवापुर र बेलौरी सडक कालोपत्रे गरी छोड्नेसमेत वाचा गरेका थिए । उनले, ठेक्का दिइसकेको र ठेकेदारको कान समातेर भए पनि उक्त सडकमा पीच गर भन्नु पर्छ, यदि म निर्वाचित भएको वर्ष धमाधम उक्त सडकको पीचको काम भएन भने ठेकेदारलाई समेत निकालिदिने र सरकारलाई समेत दबाब दिएर आफैंले सिधा कुरा गर्ने मन्त्री साउदले बोलेका थिए ।
त्यसैगरी निर्वाचन जितेर साउद मन्त्री भएता पनि उक्त सडकमा भने कालोपत्रेको काम अझै अघि नबढेपछि स्थानीय आक्रोशित भएका हुन् । मन्त्री साउदलाई चुनावी वाचा सम्झाउन उनीहरूले आइतबार बिहानदेखि कलुवापुर र बेलौरी सडक खण्ड अवरुद्ध गरी चक्काजाम गरेका छन् । त्यसैगरी स्थानीय मोहनराज पन्तले वर्षाैंदेखि उक्त सडक अलपत्र अवस्थामा रहेको बताए ।
उनले भने, ‘सडक कहिले धुलो र कहिले हिलाम्य हुन्छ, सडकमा उड्ने धुलोबाट बिरामी भइरहेका छौं, सडक छेउका घरहरूमा बस्न सकिने अवस्था छैन । धुलो नियन्त्रणका लागि ठेकेदार कम्पनीले केही समय पानी छर्किएता पनि हाल पानी छर्किने कामसमेत बन्द रहेको छ ।’ सडकबाट उड्ने धुलोका कारण स्वास्थ्यमा असर गरिरहेको स्थानीय पन्तले बताए ।
त्यसैगरी स्थानीय खगेन्द्रराज बोहराले चार दशकदेखि कालोपत्रेको पर्खाइमा रहेको बेलौरी र कलुवापुर सडकखण्ड निर्माणमा बारम्बार नेताहरूले चुनावी नारा लगाउने बताए । उनले भने, ‘जहिल्यै नेताहरूले जनतालाई झुक्याउने र ठेकेदारहरूले समेत बेलाबेलामा सडक निर्माण गर्छु भन्दै प्रतिबद्धता जनाएर सर्वसाधारण जनतालाई ठग्ने कार्यमात्रै गरेको छन् ।’ धुलाम्मे सडकबाट शुक्लाफाँटा नगरपालिका–११, १, २ र १२ का बासिन्दालाई सबैभन्दा बढी मर्का परेको छ भने, लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकाका यात्रुलाई समेत सास्ती हुने गरेको बोहराले बताए ।
त्यसैगरी शुक्लाफाँटा नगरपालिका–१ बन्साहका स्थानीय नरेन्द्र भट्टले एनपी साउद कञ्चनपुरमा रहँदासम्म सडक बन्द रहने भनी सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनावका बेलामात्र जनतामाझ आएर झूटा आश्वासन दिने र जितेर गएपछि फर्केर समेत नहेर्ने एनपी साउद कञ्चनपुरमा हुञ्जेलसम्म कलुवापुर र बेलौरी सडकखण्ड बन्द रहने छ । मन्त्री साउद शनिबार झलारीबाट दैजी भएर बेलौरी गएपछि स्थानीय थप आक्रोशित भएका छन् ।