Logo

कर दिवसमा करदातालाई शिक्षा

दाङ– १२औं राष्ट्रिय कर दिवसको अवसरमा करदातालाई कर शिक्षा प्रदान गरिएको छ । आन्तरिक राजस्व कार्यालय दाङको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा घोराहीमा कर शिक्षासम्बन्धी कार्यक्रमको आयोजना गरिएको हो ।

करदातालाई करसम्बन्धी जानकारी दिने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले जनाएको छ । दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा पुगेर कर दाता शिक्षा प्रदान गरिने आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंले जानकारी दिए । कर शिक्षासँगै कर दातासँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने उनले बताए ।

‘जसले गर्दा उनीहरूलाई परेका समस्याका बारेमा जानकारी लिएर समस्याको समाधान गर्न सहयोग पुग्ने छ,’ उनले भने । छलफल तथा अन्तरक्रिया कार्यक्रमले कार्यालय र करदाताबीच बढेको दरी कम गर्न समेत सहयोग पुग्ने प्रमुख कर अधिकृत चौलागाई बताउँछन् । ‘दुवै पक्षबीचको दूरी बढ्न नदिनका लागि समन्वय गरेर अगाडि बढ्न आवश्यक छ,’ उनले भने ।

सकारात्मक काम गर्दा हुने कमजोरी सच्चाउनका लागि कार्यालयले सहयोग गर्ने तर जानीजानी गरिने गल्ती गर्नेलाई कारबाही गरिने उनी बताउँछन् । कर देशको मेरुदण्ड रहेको उनले बताए । ‘करदाताबाट उठने करले नै देशको प्रशासन सञ्चालन हुने गरेको छ,’ उनले भने । त्यसैगरी सरकारले परिवर्तन गरेका आर्थिकसम्बन्धी नीति नियमका बारेमा जानकारी गराइने उनले बताए ।

‘करदाताका लागि सरकारले ल्याउने स्किमका बारेमा समेत जानकारी दिँदा करदातालाई सहयोग पुग्ने गरेको छ,’ उनले भने । आन्तरिक राजस्व कार्यालय दाङअन्तर्गत करिब ७० हजार करदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा करदाता शिक्षा कार्यक्रम उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रमको आयोजना गरिने उनले बताए । यस वर्ष कर दिवसको नारा ‘स्वच्छ पारदर्शी र प्रविधिमैत्री कर प्रशासन सामाजिक न्याय आर्थिक समृद्धि र सुशासन’ रहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले व्यावसायीलाई व्यवसाय गर्दा आउनसक्ने समस्या समाधानका लागि यस प्रकारको कार्यक्रम आयोजना गरेको बताए । ‘व्यवासीहरूलाई शिक्षा प्रदान गर्नेका लागि आन्तरिक राजस्व कार्यालयसँगको समन्वयमा कर शिक्षा कार्यक्रम आयोजना गरेका हाैं,’ अध्यक्ष जोशीले भने । यसले व्यवसायीलाई सहयोग पुग्ने अपेक्षा आफूहरूको रहेको उनले बताए । आफूले सिकेको ज्ञान अरूलाई पनि दिन उनले आग्रह गरे ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खिमलाल पुनले करदाता दर्ता, खारेजी, स्थगन, दर्ता खारेजी स्थगनसबवन्धी कानुनी व्यवस्था र सरकारले ल्याएका स्किमका बारेमा जानकारी दिएका थिए । सरकारले हरेक वर्ष मंसिर १ देखि ७ गतेसम्म कर सप्ताहका रूपमा मनाउने गरेको छ । दिवसका अवसरमा ७ दिन नै विभिन्न खालका कार्यक्रम आयोजना गरिने गरेको छ भने समापनका दिन उत्कृष्ट करदातालाई सम्मानसमेत गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्