सैनामैनामा व्यापार महोत्सव हुँदै

बुटवल– रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेबाट छैटौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० सुरु हुँदैछ । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा सैनामैना नगरपालिका–३ मुर्गियाको पुरानो हाटबजार तथा दुर्गामन्दिर परिसरमा हुने महोत्सव मंसिर १७ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सैनामैनामा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवर्द्धन गर्न, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमबहादुर खड्काले बताए ।
महोत्सवबाट स्थानीय उपभोक्ताले स्थानीय तहमा नै सकेसम्म सस्तोमा विविध सामान खरिद बिक्रिको अवसर प्राप्त गर्ने, उद्योगी व्यवसायीले आफ्ना उत्पादनको प्रवर्द्धन गर्ने अवसर पाउने सैनामैना उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका खड्काको भनाइ छ । महोत्सवमा युवा उद्यमशिलता गोष्ठी, युवाउद्यमी सम्मान कार्यक्रम सञ्चालन गरिने छ ।
त्यस्तै सैनामैना औद्योगिक ग्राममा उद्योग स्थापना गर्न नगरपालिकाको समन्वयमा लगानी सम्मेलन गरिने, वर्तमान व्याजदरको बारेमा बैंक र लगानीकर्ताबीच अन्तरक्रिया हुने पत्रकार सम्मेलनमा बताइएको थियो । त्यस्तै पर्यटन प्रवर्द्धनतर्फ सैनामैनाभित्र रहेका पर्यटकीयस्थलको प्रचार प्रसार, पर्यटकीयस्थलहरूको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावनाबारे गोष्ठी तथा अन्तराक्रिया, स्थानीय कलाकारद्वारा सिर्जित मूर्तिकला हस्तकला प्रदर्शनीलगायत रहेका छन् ।
सैनामैनाभित्र रहेका धार्मिक, पुरातात्विक एवं पर्यटकीयस्थल झल्काउने लघुउद्यान पनि महोत्सवमा रहने छ । सैनामैना महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, नगरस्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता, डान्सिङ आइडल, मम्मी डान्स प्रतियोगिता पनि रहने छन् । भजनप्रतियोगितासँगै लोकदोहारी र र्याप गीत प्रतियोगिता पनि राखिएको महोत्सव संयोजक खड्काले बताए ।
महोत्सवको तयारी तीव्र भइरहेको र (मंसिर ५ गते) आजसम्म स्टल बुकिङको व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा स्टल बुकिङ संयोजक दिपक अधिकारीले बताए । महोत्सव साढे तीन लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोड बढीको कारोबार हुने अपेक्षा राखिएको सैनामैना उद्योग वाणिज्य संघका महासचिव लोकनाथ अधिकारीले बताए । महोत्सवमा सर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका, असहायका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।