फेरी सञ्चालन नहुँदा जनतालाई सास्ती «

फेरी सञ्चालन नहुँदा जनतालाई सास्ती

कैलालीको मोह्न्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिको गुटु जोड्ने कर्णाली नदीमा रहेको ‘फेरी’ सञ्चालनमा नआउँदा त्यहाँका जनताले सास्ती बेहोर्नु परेको छ । गत पुस १६ गतेका दिन मोह्न्याल– ६ सोल्टाका टेकबहादुर विष्टको फेरीमा नदी पार गर्ने क्रममा मृत्यु भएपछि सवारीसाधन ओहोरदोहोर गर्ने फेरी बन्द हुनपुगेको हो ।
फेरीबाट दैनिक रूपले ट्रयाक्टर, मोटरसाइकल र मानिसले कर्णाली नदी ओहोरदोहोर गर्ने भएता पनि मृत्तकका आफन्तले क्षतिपूर्ति पाउनु पर्ने समेत माग राख्दै आएका कारण ‘फेरी’बन्द भएको स्थानीय व्यापारी ज्वाला रिजालले बताए । रिजालका अनुसार सुर्खेत जिल्लाको पश्चिमका दुईवटा नगरपालिका चौकुने र पञ्चपुरीका जनतालाई दैनिक उपभोग्य मालसमान ढुवानी गर्नसमेत कठिनाइ भएको छ । चार सातादेखि फेरी सञ्चालनमा आउन नसकेका कारण बिरामीलाई अस्पतालसम्म लैजान समेत कठिन भएको स्थानीयको गुनासो छ ।
सो–फेरी तरेर दैनिक एक हजारभन्दा बढी मानिस पश्चिम सुर्खेत, दैलख, अछामको दक्षिणी भेग र पश्चिम सुर्खेतका मानिसले ओहोरदोहोर गर्ने मार्ग ठप्प भएपछि कर्णाली नदीमा परम्परागत डुंगा चढेर जोखिमपूर्ण यात्रा गर्न बाध्यछन् । कैलाली जिल्ला प्रवेशद्धारको रूपमा रहेको कर्णाली चिसापानी बजारसम्म पु्गेर मालसमान खरिद गरेर चिप्लेघाटको बाटो भएर फेरी प्रयोग गर्ने माध्यम नै बन्द भएका कारण त्यस क्षेत्रको व्यापार व्यवसाय चौपट भएको बताउँछन् मोहन्याल– ३ का पूर्णबहादुर साउद ।
हरेक वर्ष वर्षात्को समयमा बन्द रहने र हिउँदको ५ महिनामात्र सञ्चालनमा आउने फेरी एक महिनादेखि बन्द भएका कारण निर्माण सामग्रीदेखि लिएर दैनिक उपभोग्य माल सामानसमेत ढुवानीमा असहजता उत्पन्न भएपछि त्यहाँको जनजीवन असहज भइरहेको देखिन्छ । फेरी सञ्चालनका लागि तत्काल पहल गरिदिनका लागि स्थानीय जनताले सरकारसँग आग्रह गरेका छन् ।
फेरी सञ्चालनका लागि छिमेकी जिल्ला सुर्खेत चौकुने गाउँपालिका–६ का वडाध्यक्ष धिरबहादुर शाहीले सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई समेत आग्रह गरेको बताए । साथै त्यसको बोद्धार्थ कैलाली जिल्ला समन्वय समिति र मोहन्याल गाउँपालिकालाई दिइसकेको अध्यक्ष शाहीले बताए । फेरी सञ्चालनका लागि मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाले फेरी सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग छलफल भइरहेको बताए ।
साथै फेरीको आवश्यक मर्मत सम्भार र प्राविधिक पक्ष ठीक छ वा छैन भन्न्ने कुराको जाँचबुझ गरेर फेरी सञ्चालनको जिम्मा स्थानीय निकायलाई दिँदा राम्रो हुने सडक डिभिजन कार्यालयका इन्जिनियर महेन्द्रराज पन्तले गाउँपालिको स्वामित्व लिने विषयमा छलफल गरेर सहमति गरेको खण्डमा सडक डिभिजन कार्यालयले तत्काल फेरी हस्तान्तरण गर्नेछ । फेरी सञ्चालनमा नआउँदा स्थानीय जनताले सास्ती खेप्नु परिरहेकाले समस्या समाधान गर्नेतर्फ पहल गर्ने जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताए ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले फेरीमा दुर्घटना भएको युवकलाई सरकारले १ लाख रुपैयाँ दिने निर्णय गरेको बताए । तर मृतकका आफन्त तथा परिवारहरुले उक्त रकम प्रति असमर्थ जनाउँदै आएका छन् । यसरी प्रदेश नं.६ र ७ जोड्ने फेरि सञ्चालन नआउँदा हजारौं घरधुरीलाई असहजता भएको छ । छिटोभन्दा छिटो सहमतिमा आग्रह गरेको उनले बताए । सरकारले तोकेबमोजिमको रकमभन्दा थप रकम दिन समस्या पर्ने प्रमुख जिल्ला अधिकारीले बताए ।
फेरीले कैलालीको मोह्न्यालको बडिगाउँदेखि सुर्खेतको अछाम, जुघलघाटदेखि अछामको कमलबजारसम्म जोडेको छ ।

हिमेश विक

प्रतिक्रिया दिनुहोस्