चाडपर्वमा पनि फस्टाएन व्यापार «

चाडपर्वमा पनि फस्टाएन व्यापार

वीरगन्ज– आर्थिक मन्दीले खस्किएको व्यापार व्यवसाय चाडपर्वमा पनि फस्टाउन नसकेपछि व्यावसायी चिन्तित भएका छन् । चाडपर्व सुरु हुनुअघि नै आर्थिक नगरी वीरगन्जका झण्डै ३० प्रतिशत सटर–पसल बन्द भइसकेका थिए । चाडपर्वले व्यापारमा केही चहलपहल ल्याउला भन्ने आशामा रहेका व्यवसायी निराश बनेका छन् ।

मुख्य चाडहरु दशैं, तिहार र तराई–मधेशमा झनै महत्वका साथ मनाइने छठ पर्वमा व्यापार होला भन्ने आशामा रहेका व्यवसायीहरुमा तीनवटै पर्वमा गत वर्षको तुलनामा एक तिहाइमात्रै व्यापार भएपछि चिन्ता थपिएको छ । आर्थिक संकटकै कारण उपभोक्ताले अति आवश्यक बाहेकका अन्य सामान खरिद गर्न नसकेको व्यापारीहरुको बुझाइ छ । चाडपर्वका लागि आवश्यक उपभोग्य खाद्यान्न तथा किराना सामान बाहेक अन्य सामानको खासै व्यापार भएको छैन । दैनिक उपभोग्य वस्तुहरु पनि नेपालमा महँगो भएकोले अधिकांश उपभोक्ता भारतीय सीमावर्ती सहरमा जाँदा नेपालतर्फको व्यापार थप खस्किएको छ ।

किराना र खाद्यान्नका सामान गत वर्षको तुलनामा एक तिहाई पनि बिक्री नभएको वीरगन्जको मुख्य स्थान आदर्शनगरमा रहेको सिटी मार्टका व्यापारी राम लामाले बताए । उनले भने, ‘यसपटक के भयो, अचम्मै भएको छ । चाडवाडमा खाद्यान्न र किरानाका सामानहरु किन्न ग्राहक आउँथे । यसपालि त दिनभरी ग्राहक कुरेर बसिरहनुपर्यो । ग्राहक सामान किन्न नआएपछि पसलमा बस्न समेत मन लाग्न छोड्यो ।’

व्यापार हुन छोडेपछि वीरगन्जमा पसल खोलेर बसेका व्यापारीहरु सटर बन्द गरेर पलायन समेत हुन थालेका छन् । कतिपय भारतीय व्यापारीहरु सीमावर्ती सहर रक्सोलतिर फर्किएका छन् । दैनिक उपभोग्य वस्तुमात्रै नभई अन्य साना तथा मझौला व्यापार व्यवसाय पनि खासै चलेका छैनन् । खाद्यान्न र किराना सामानपछि चाडवाडमा बढी व्यापार हुने वस्तु कपडा, विद्युतीय सामग्री र भाँडाकँुडा हुन् । तर, यी सामानको पनि खासै व्यापार नभएको व्यवसायी दिलिप गुप्ताले बताए ।

सारी र कुर्ता सलवार बाहेकका रेडिमेड कपडा भने रक्सोलमा भन्दा वीरगन्जमा राम्रा र सस्तो पाइने हुँदा कपडा खरिद गर्ने उपभोक्ताहरुको बजारमा केही मात्रामा भीड देखिएको थियो । खासगरी चिनियाँ कपडा तथा जुत्ता नेपालमा सस्तो पाइने हुँदा उपभोक्ताले वीरगन्जमै खरिद गर्ने गरेको कपडा व्यवसायी रवि गुप्ताले बताए । तर, चाडवाडपछि फेरि व्यापार ठप्प हुने हो कि भन्ने चिन्ता उनले व्यक्त गरे । नेपालीहरुको मुख्य तीन महत्वपूर्ण चाडपर्वले पनि बजारलाई चलायमान नबनाएपछि आगामी दिनको अवस्था झन् भयावह हुन सक्ने चिन्ता व्यापारीहरुमा छ । चाडपर्वमा भएको व्यापारले सन्तोष गर्ने ठाउँ नभएको वीरगन्ज उद्योग वाणिज्य संघका सहसचिव निरज अग्रवाल बताउँछन् । जरुरी सामान खरिद गर्ने उपभोक्ताले केही बजार चलायमान देखिए पनि जति व्यापार हुनुपर्ने हो त्यति नभएको उनको भनाइ छ ।

उनले कारोबारसँग भने, ‘गत वर्षको तुलनामा ३० प्रतिशत मात्रै व्यापार भएको छ । तिहारमा फूल समेत बिक्री भएन । कपडा, खाद्यान्न, हार्डवेयरका पसलहरुको झन् के कुरा गर्नु । तिहारको झिलिमिलीले केही रमाइलो देखिनु बाहेक सन्तोषजनक व्यापार भएको छैन ।’ व्यापार–व्यवसाय, पेशा हरेक क्षेत्रमा देखिएको आर्थिक मन्दीले सबैलाई अहिले पिरोलेको छ । वीरगन्जमा सञ्चालनमा रहेका अटो चालकहरुको पीडा पनि उस्तै छ । कुनै निश्चित रुटमा चल्ने अटो चालक अहिले भनेजस्तो यात्रु नपाउँदा रुट भन्दा बाहेक पनि यात्रु लिएर जानुपर्ने बाध्यता रहेको सुनाउँछन् । पहिलेको जस्तो यात्रु नपाएपछि किस्तामा लिएर चलाएका अटो चालकहरुलाई किस्ता तिर्न समेत समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्