मेलम्चीमा १२ करोड लाग्ने «

मेलम्चीमा १२ करोड लाग्ने

काठमाडौं– मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउन अझै थप १२ करोड रुपैयाँ लाग्ने भएको छ । वर्षाको समयमा आयोजनाको हेर्डवक्समा थुप्रिएको गेग्रान सफा गर्न र आयोजनासम्म पुग्ने बाटो मर्मताका लागि अझै १२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

गत साउन २८ र २९ गते आएको बाढीले पहिलाको अस्थायी संरचनामा क्षति हुँदा मेलम्चीको पानी नै बन्द गर्नुपरेको छ । वर्षाको समयमा मनसुनजन्य विपत्तीबाट आयोजनामा हुन सक्ने सम्भावित क्षति जोगाउन पानी बन्द गर्ने र हिउँदमा उपभोक्ताको धारामा पानी छोडिने गरिएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयले मनसुन सकिनेबित्तिकै पानी वितरण सुरु गरिने आश्वासन दिएको थियो । तर मनसुन सकिएको महिना दिन पूरा भएपनि अझै मेलम्ची कहिले आउने पत्तो छैन ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार आयोजनाको हेडवर्कस गेग्रानले भरिएकाले सफा गर्नुपर्ने छ । आयोजनामा पहिरो पनि थुप्रिएका कारण ब्लास्टिङ गरी हटाउनुपर्ने तथा आयोजनासम्म पुग्नका लागि २ किलोमिटर सडक मर्मत गर्नुपर्ने छ । उक्त कार्य सम्पन्न गरी उपभोक्ताको धारामा पानी ल्याउनका लागि अझै मेलम्ची खानेपानी आयोजनामा सरकारले थप १२ करोड खर्चिनुपर्ने देखिएको छ ।

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव रामआधार साहले आगामी मंसिर अन्तिम सातासम्ममा मात्रै मेलम्चीको पानी उपत्यकामा ल्याउने गरी कसरत थालिएको बताए । ‘आयोजनामा थप सुधारका कार्य सम्पन्न भएपछि मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने छौं’ उनले भने, ‘तर आयोजना सुधारको काम अगाडि बढाउन सिनो हाईड्रोलाई आग्रह गरिरहेका छाैं, छलफलमै छाैं, आयोजना सुधार भएपछि चाँडै मेलम्चीको पानी आउने छ ।’

तर सिनो हाईड्रो भने सरकारको अनुरोधलाई अस्विकार गरिरहेकाले मंसिर अन्तिमसम्म पनि मेलम्चीको पानी आउने सम्भावना कम रहेको मन्त्रालयकै उच्च पदस्थ कर्मचारी बताउँछन् । ‘डिसेम्बरसम्ममा सिनो हाईड्रोसँगको ठेक्का सम्झौताको म्याद रहेको छ, उक्ता ठेकेदार कम्पनीसँग ७ करोडको बिमा रहेको छ, यसकारण पनि सिनो हाईड्रालाई आयोजना सुधारको ठेक्का दिन जोडबल गरिएको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘सिनो हाईड्रो सुधारको काम गर्न अस्विकार गरेकाले आयोजना सुधार गर्न कसलाई ठेक्का दिने अलमल छ, मंसिरसम्ममा मेलम्चीको पानी उपत्यकामा ल्याउन असम्भव छ ।’

सिनो हाईड्रोकोसँगको निर्माण सम्झौता आगामी डिसेम्बर २०२३ मा सकिने छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले पनि आयोजनाको थप संचना निर्माणको सम्झौता अवधि नसकिएकाले प्रक्रियागत सहजताका लागि सरकारले सिनो हाईड्रोलाई आयोजना सुधारको काम गर्न लभिङ भइरहेको स्वीकार गरेका छन् ।

‘सिनो हाईड्रोसँगको सम्झौता अझै बाँकी रहेकाले ठेक्का प्रक्रियामा जान नपरोस् भनेर हामीले सिनो हाईड्रलाई आयोजना सुधारको काम अगाडि बढाउन अनुरोध गर्दै आएका छौं’ उनले भने, ‘तर उसले अन्य ठूलो आयोजनाका काम भएकाले साना आयोजना अगाडि बढाउन नभ्याउने प्रतिक्रिया दिइरहेको छ, तर हामीले अनुरोध गरिरहेका छाैं ।’ मेलम्ची आयोजना स्थायी रुपमा सुधार नगरिए वर्षेनी आउन सक्ने बाढी र पहिरोको जोखिममा पर्ने देखिन्छ ।

मौसमविद्हरुले मेलम्चीमा जुन सुकै वर्ष जत्रो बाढी पनि आउने सक्ने हुँदा फेरि थप गर्ने तयारी गरिएको नयाँ संरचना पनि जोखिममा पर्न सक्छ । मेलम्ची नदीको जलाधार क्षेत्रमा २०७८ सालमा आएको भिषण वर्षा र पहिरोसँगै बालुवाको लेदो बगेर मेलम्ची खानेपानीको आयोजना क्षति पुगेको थियो । मुहानमै समस्या देखिएपछि आयोजना हिउँदमा चल्ने र वर्षायाममा नचल्ने गरी अस्थायी बनेको छ । आधा खर्बभन्दा बढी लगानी खर्चिएर निर्माण भएको आयोजना विपत प्रभाव मूल्यांकन नगरी निर्माण हुँदा आयोजना नै अस्थायी बनेको छ । मुहानमा थप संरचना बनाए पनि आयोजना भने स्थायी नहुने समितिकै भनाइ छ ।

समितिले अब मेलम्चीको दिगो समस्या समाधानका लागि स्थायी संरचना निर्माणमा जोड दिनुपर्ने बताएको छ । मेलम्ची खानेपानी बाह्रै महिना उपभोक्तालाई वितरण गर्ने गरी ठोस तथा दीर्घकालिन योजना बनाउन नसक्दा बर्खामा बन्द गर्नुपर्ने र हिउँदको अवधिमा खोल्नुपर्ने अवस्था छ । दुई वर्ष अगाडि बाढीका कारण आयोजनाको झण्डै दुई अर्ब रुपैयाँ बराबरको संचनामा क्षति पुगेपछि छुट्टै अस्थायी संरचना बनाएर मुख्य सुरुङमा पानी पठाउने अनि बर्खाका बेला बन्द गरेर आयोजनामा हुन सक्ने थप सम्भावित क्षति कम गर्ने प्रयास भएको थियो ।

चालु आर्थिक वर्ष भने सरकारले बर्खामा मेलम्ची खानेपानी आयोजना बन्द नगरिने र थप नयाँ संरचना निर्माण गरिएको थियो । तर उक्त घोषणा लागु भने हुन सकेन । स्थायी रुपमा समस्या नसुल्झाएसम्म मेलम्चीमा थप समस्या देखिने विज्ञहरुको भनाइ छ । दुई दशकदेखिको चर्चा–परिचर्चामा रहेको मेलम्ची खानेपानी आयोजनामा थप संरचना निर्माण गरेर भए पनि बाह्रै महिना उपभोक्तालाई पानी वितरण गर्ने तयारी भएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्