१२ करोड लागतमा प्रशासकीय भवन निर्माण «

१२ करोड लागतमा प्रशासकीय भवन निर्माण

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ् । परराष्ट्रमन्त्री एनपी साउदले शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री साउदले विकास निर्माणका काममा राजनीति गर्न नहुने बताए ।

कञ्चनपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री साउदले क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसै क्रममा उनले इजरायल घटनामा बेपत्ता भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजीकार्यमा सरकारले सबै संयन्त्र प्रयोग गरिरहेको बताए । साउदले शनिबार कञ्चनपुरको महेन्द्रनगरस्थित विपिनको परिवारसँग भेटघाट गरेको बताउँदै हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइका लागि मित्रराष्ट्र कतारसहित रेडक्रसलगायतका अन्तर्राष्ट्रिय नियोगमार्फत् पहल गरिरहेको दाबी गरे ।

उनले भने, ‘इजरायल सरकारले दिएको जानकारी अनुसार विपिनलाई हमासले नियन्त्रणमा लिएको छ । नोभेम्बर २१ तारिकमा इजरायल सरकारसँग थप छलफल गर्ने कार्य तालिका रहेको र त्यसमा आफू पनि सहभागी हुने हुँदा विपिनलाई बन्धकबाट छिट्टै मुक्ति दिई न्याय दिलाउनेतर्फ नेपाल सरकार हरदम प्रयासरत रहेको मन्त्री साउदले बताए ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री साउदले नेपाल–भारतको सीमा समस्या समाधानका लागि समेत कूटनीतिक तवरबाट समाधान गरिने बताए । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले एसियाली विकास बैंक (एडिबी) को १२ करोडभन्दा बढी लागतमा भवन निर्माण गरिएको बताए ।

उनले भने, पहिला एउटा सानो कोठामा एउटै कोठामा २/३ शाखा राख्नु पर्ने अवस्था थियो भने, अहिले एउटा कोठामा एउटा मात्र शाखा राख्ने र सिसिटिभी क्यामराको निगरानीमा राख्ने र त्यही अनुरूप सेवा प्रवाह दिने नगरप्रमुख महराले बताए । प्रशासकीय भवन निर्माणसँगै कार्यालयको दैनिक कामकाज गर्न सहज हुने अपेक्षा गरिएको उनले बताएका छन् । नगरप्रमुख महराले स्थानीय स्रोत साधनले मात्रै नगरको समृद्धि र विकास गर्न सम्भव नरहेको उल्लेख गर्दै प्रदेश सभा सदस्य बहादुर सिंह थापा र परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएका छन् ।

नगर गौरवका आयोजना तथा थप नयाँ योजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ भने, निर्वाचित भएयता डेढ वर्षमा गरिएका मुख्य–मुख्य कार्यहरूको फेहरिस्त सार्वजनिक गरिएको नगरप्रमुख महराले भने । त्यसैगरी परराष्ट्रमन्त्री साउदले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै तीनवटा मिट प्वाइन्ट हुलाकी सडक खण्ड, मझगाउँ क्षेत्रमा पर्यटन प्रवद्र्धनमा मिट प्वाइन्ट खोल्न पहल कदमी भएको बताए ।

उनले भने, “जसमा निकुञ्जसँंग समन्वय गर्न आग्रह गरेका छौं भने, थारु समुदायका लागि समेत होमस्टे बनाउनमा जोड दिनुपर्छ । कृष्णसार, महाकाली सिँचाइका लागि पहल कदमी गरेको र दैजीदेखि बेलडाँडी सडक खण्डमा नहरको बाटो सञ्चालनमा आएको हुँदा त्यहीँ अनुरूप सडक सञ्जाल घाडीघाजलाई पनि जोड्न पहल कदम अगाडि बढाउने मन्त्री साउदले बताए ।

उनले निर्माण कम्पनीले समयमा सडक सञ्जालका कार्य सम्पन्न नगर्नेलाई ताकेता गर्ने र ठेक्कासमेत बदर गरिने बताएका छन् । त्यसैगरी आरक्ष पीडितको समस्या समाधान एक हप्ताभित्र आयोग गठन गरी कार्य अगाडि बढाउने र जग्गा वा जग्गा बराबरको मौजा उपलब्ध गराउनु सम्पूर्ण अधिकार आयोगलाई दिने आश्वासन दिएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिंह थापाले नगरपालिकाको विकासका लागि प्रदेशबाट सक्ने सहयोगका लागि पहल गर्ने आश्वासन दिएका छन् । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भवन अनुरूप कर्मचारीले कानुन अनुरूप सबै सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउँदै चाकरी चाप्लुसीको पछि नपर्न आह्वानसमेत गरेका छन् ।

शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले भवन निर्माणसँगै स्तरीय सेवा सुविधा प्रवाहमा समेत केन्द्रित हुने बताइन् । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रप्रसाद भट्टले भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने बताए । उनले भने, ‘दुई तले भवन अपांगतामैत्री, सुविधायुक्त सभा हल र ६३ कोठासहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्