Logo

पशुमा लाग्ने महामारी नियन्त्रण गर्न ऐन ल्याइँदै

काठमाडौं– सरकारले पशुचौपायामा लाग्ने महामारीजन्य संक्रामक रोग नियन्त्रण गर्न ऐन ल्याउने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘संक्रामक पशु रोग नियन्त्रण ऐन २०८०’ ल्याउन लागेको हो । पशुपन्छीमार्फत मान्छेमा पनि विभिन्न प्रकारको घातक रोग महामारीको रुपमा सर्ने क्रम सुरु भएको छ । यस्ता रोगको पहिचान, निगरानी, नियन्त्रण र उन्मूलनका लागि हालसम्म नेपालमा कुनै ऐन छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता तपेन्द्रप्रसाद बोहराका अनुसार मानिसमा लाग्ने रोगमध्ये जिउँदो पशुपन्छी र बिरामी भएका पशुपन्छीको सम्पर्क र तिनको मासु उपभोगबाट सर्ने गर्छ । यस्तै, विश्वभर मानिसमा पाइने रोगमध्ये करिब ३ सयभन्दा बढी पशुपन्छीबाट सरेको पाइन्छ । नेपालमा पनि ५९ प्रकारको जुनोटिक रोग पशुपन्छीमार्फत सर्ने उनले बताए ।

‘पशुपन्छीका कारण नयाँ–नयाँ रोग उत्पत्ति भइरहेका छन् । ‘भएकै रोग र आउने नयाँ रोग, महामारीबाट जुध्न, निगरानी, नियन्त्रण र उन्मूलनको हकमा आवश्यक ऐन नभएकाले नयाँ ऐन ल्याउन मन्त्रालयले तयारी गरेको छ,’ उनले भने । सहप्रवक्ता बोहराका अनुसार मन्त्रालयले ऐन ल्याउन सरोकारवाला निकायसँग छलफल गरी ऐनको विधेयक मस्यौदा समेत तयार पारिसकेको छ । विधेयक तयार पारी सुझावका लागि अर्थ मन्त्रालयमा पठाएको उनले जानकारी दिए ।

‘अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि कानुन मन्त्रालयमा राय सुझावका लागि पठाउँछौं । कानुनबाट आएको राय सुझावअनुसार थप परिमार्जन गरी संघीय संसद्मा पठाइन्छ,’ सहप्रवक्ता बोहराले भने । पशुमा लाग्ने महामारीजन्य रोग, पशु वा स्थान विशेषमा देखा परिरहने संक्रामक पशु रोगको प्रकोप वा विस्तार हुन नदिन रोगको शीघ्र पहिचान तथा प्रतिकार्य गरी रोकथाम तथा नियन्त्रण, निवारण वा उन्मूलन र नयाँ रोग भित्रिन नदिन निगरानी गर्ने उद्देश्य ऐनको छ ।

मस्यौदाअनुसार पाल्तु र जंगली जनावर, पन्छी र माछालाई यो ऐनले आफ्नो दायरामा समावेश गरेको छ । पशुको मासु, आन्तरिक अंग, रगत, बोसो, दूध, अण्डा, अण्डाको बोक्रा, हाड, छाला, सिङ, खुर, प्वाँख, भुत्ला, रौं, भ्रुण, वीर्य ग्रन्थी, मलमुत्र, माछाको कत्ला, माछाको पखेटालगायत विभिन्न प्रकारको वस्तुलाई समावेश गरेको छ । एक पशुपन्छीबाट अर्को पशुपन्छीमा प्रत्यक्ष तथा अप्रत्यक्ष माध्यमबाट सजिलै सर्न सक्ने, बिरामी दर उच्च हुने र छिटो फैलने सम्भावना रहेको तोकिएका संक्रामक पशुपन्छीलाई महामारीजन्य रोगअन्तर्गत परिभाषित गरिएको छ ।

यस्तै पशु रोगसम्बन्धी जोखिमको सम्पर्कमा आएका वा रोग विस्तारको सम्भावित स्रोत हुन सक्ने रोगी पशु, पशुको सिनो, ढुवानीको साधन, दूषित पशुपन्छीजन्य पदार्थ तथा पशु उत्पादन सामग्री र तिनका उत्पादनमा प्रयोग हुने अन्य प्रकारको सामग्रीलाई शंकास्पद संक्रामक वस्तुअन्तर्गत राखिएको छ । यसैगरी सरकारले यो ऐनमार्फत स्थानीय तहसँग सहकार्य गरी सरोकारवाला कार्यालयको सिफारिसमा प्रयोगशालाबाट पुष्टि भएका संक्रामक रोग फैलिएको क्षेत्र वा फार्मलाई जिल्ला प्रशासन कार्यालयले संक्रमित क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था गरेको छ ।

यसरी सिफारिस गर्दा रोग सर्ने, प्रवृति, बिरामी वा मृत्यु हुने दर र हुन सक्ने आर्थिक तथा मानवीय क्षतिलाई मुख्य आधार बनाउनुपर्ने व्यवस्था गरिएको छ । रोगले महामारीको स्वरुप लिएको वा लिन सक्ने अवस्था सिर्जना भएमा पशु सेवा विभागको सिफारिसमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संक्रमित क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था पनि उक्त ऐनको मस्यौदामा गरिएको छ । संक्रामक पशु रोग नियन्त्रणबाहिर गएर ठूलो जनधनको क्षति हुने महामारीको अवस्था सिर्जना भएको अवस्थामा सरकारले कुनै पनि भौगोलिक क्षेत्रलाई महामारी प्रभावित क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था ऐनको मस्यौदामा उल्लेख छ ।

सरकारले तयार पारेको ‘संक्रामक पशु रोग नियन्त्रण ऐन २०८०’ मा जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँग सहकार्य गरी घोषित संक्रमित क्षेत्रमा पशु हाटबजार, पशु प्रदर्शनी, पशु मेला, पशु स्वास्थ्य शिविर सञ्चालन गर्न, सामुदायिक चरण क्षेत्र, पानीको स्रोत वा सार्वजनिक स्थानमा छाड्न लैजान वा बिक्री गर्न र पशु, पशुपन्छी पदार्थ तथा पशु उत्पादन सामग्रीको ओसारपसार गर्न अवधि तोकेर प्रतिबन्ध लगाउन सक्ने समेत व्यवस्था गरेको छ । यसैगरी संक्रामक पशुपन्छी रोग नियन्त्रण गर्ने उद्देश्यले आधिकारिक निकायको आदेशमा नष्ट गरिएका शंकास्पद संक्रामक वस्तुको नोक्सानीबापत सम्बन्धित पशुधनीलाई राहत उपलब्ध गराउन सकिने लगायतका प्रस्ताव मस्यौदामा छन् ।

प्रतिक्रिया दिनुहोस्