बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन आग्रह

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका जनप्रतिनिधि र बासिन्दाले बेनी–जोमसोम–कोरला सडक निर्माणमा भएको ढिलाइका विषयमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको ध्यानाकर्षण गराएका छन् ।
थासाङ गाउँपालिका–१ टुकुचेका वडाध्यक्ष शुरेश थकालीलगायत स्थानीयबासीले संघीय सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत् कालिगण्डकी करिडोरअन्तर्गत सञ्चालित योजनाको टुकुचेदेखि जोमसोम खण्डमा सडक कालोपत्र समयमा सम्पन्न हुन नसकेको र यसका कारण आवतजावतमा समस्या भएकाले संघीय सरकारका विभागीय मन्त्री तथा आयोजनाका अधिकारीसँग पहल गरिदिन अनुरोध गरेका थिए ।
वडाध्यक्ष थकालीले सडकको क्षेत्राधिकारमा पर्ने जग्गाको क्षतिपूर्ति लगायतका काममा सहजीकरण गरे पनि काम नभएकोमा दुःख व्यक्त गरे । मन्त्री जुग्जालीले बेनी जोमसोम कोरला सडक स्तरोन्नति योजनामा भएको ढिलाइ र स्थानीयबासीको गुनासोको विषयमा प्रदेश सरकारको तर्फबाट सम्बन्धित आयोजना प्रमुख र संघीय सरकारका विभागीय मन्त्रीसँग समन्वय तथा सहजिकरण गर्ने प्रतिबद्धता जनाए । बेनी–जोमसोम कोरला सडक स्तरोन्नतिको कामलाई गति दिन सरोकारवालासँग छलफल गर्ने र दबाब दिने बताए ।
कटान र बाढीको समस्या समाधान गरिदिन स्याङवासीको माग
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङमा कालिगण्डकी नदीको कटानको जोखिमको अवस्था निरीक्षण र कटान तथा बाढी नियन्त्रणका लागि सञ्चालित योजनाका बारेमा जानकारी लिएका छन् ।
स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकाली र स्थानीयबासीले कालिगण्डकी नदीको बगरमा गेग्रान थुप्रिएर वर्षेनी सतह बढेर बस्ती, भौतिक संरचना तथा खेतीयोग्य जमिनमा भएको क्षति तथा जोखिमको बारेमा जानकारी गराए । स्याङका कृषक कर्म गुरुङले कटान र बाढी नियन्त्रणका लागि स्थानीयबासी तथा कृषकको तर्फबाट मन्त्री जुग्जालीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
स्याङलगायत मुस्ताङस्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा संघीय सरकारको उर्जा जलस्रोत तथा सिँचाइ, प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा जलस्रोत मन्त्रालयका निकाय र स्थानीय तहले कटान नियन्त्रणका लागि तटबन्ध योजना सञ्चालन गरिरहेका छन् । स्थानीयबासीसँगको छलफल र निरिक्षणपछि मन्त्री जुग्जालीले मुस्ताङमा कालिगण्डकीको नदीको सतह बढेर जोखिम बढाएको विषयमा प्रदेश र संघीय सरकारको ध्यानाकर्षण भएको बताए ।
कालिगण्डकीको बगर व्यवस्थापनलाई सहज बनाउन नीतिगत तहमा छलफल भएको जानकारी गराउँदै नदी नियन्त्रण, बस्ती, खेतीयोग्य जमिन, सडक, सिँचाइ खानेपानी लगायत भौतिक संरचनाको संरक्षणका लागि आफ्नो मन्त्रालय मातहतको कामका लागि प्राथमिकता दिने र अन्य मन्त्रालय तथा संघीय सरकारका मन्त्री तथा सम्बन्धित निकायमा पहल एवम् सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।