खेतमै रह्यो सयपत्री फूल, किसान चिन्तित

बिर्तामोड– फूलहरूको पर्व तिहारका लागि सयपत्री फूलको व्यावसायिक खेती गरेका झापाका किसान तिहार सकिँदा पनि सयपत्री फूल बिक्री नभएपछि चिन्तित भएका छन् ।
बैंक तथा वियिी संस्थाबाट ऋण लिएर तिहारका लागि उत्पादन गरेको सयपत्री फूल तिहार सकिँदा पनि फूल बिक्री नभएपछि उनीहरू बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् । तिहारमा बिक्री गर्न मिल्ने गरी २५ कठ्ठा जग्गामा सयपत्री फूल रोपेका झापा बिर्तामोड–९ का दलबहादुर अधिकारी तिहारमा सयपत्री फूल बिक्री नहुँदा चिन्तित छन् ।
सयपत्री फूल आजसम्म खेतमै फुलिरहेको देखेर चिन्तित बनेका अधिकारी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको बताउँछन् । विदेशी फूलमा परनिर्भर हुनु परेपछि विगत ६ वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूलको खेती गर्दै आएका अधिकारीले यस वर्ष २५ कठ्ठा जग्गामा सयपत्री फूल रोपेको बताए ।
विगत वर्षमा सयपत्री फूलको ठुलो अभाव हुने, सयपत्री फूलका कलिला थुँगासमेत बेच्नुपर्ने भएपछि यस वर्ष २५ कठ्ठा जग्गामा सयपत्री फूल रोपेको बताउँदै उनले यस वर्ष १५ प्रतिशतमात्रै सयपत्री फूल बिक्री गर्न सकेको जनाए । गत वर्ष १० कठ्ठामा मात्र सयपत्री फूल लगाएका अधिकारीले सयपत्री फूलको माग बढेकै कारण यस वर्ष २५ कठ्ठा जग्गामा कलकत्ताबाट बीउ ल्याएर उन्नत जातको सयपत्री फूल रोपेको बताए ।
२५ कठ्ठा जग्गामा उन्नत जातको सयपत्री फूल रोप्दा श्रमबाहेक एक लाख लगानी गरेको बताउँदै उनले सयपत्री फूल बिक्रीबाट पाँच लाख आम्दानी गर्ने योजना बनाएको जनाए । यस वर्ष सयपत्री फूल १५ प्रतिशत बिक्री गर्दा पनि ७० हजारको सयपत्री फूल बेचेको बताउँदै उनले अहिले २५ क्विन्टल फूल खेतमा फुलिरहेको जानकारी दिए ।
आफूले १२ महिना सयपत्री फूल उत्पादनको योजना बनाएर सयपत्री फूलको व्यावसायिक खेती गरे पनि यो वर्ष सयपत्री फूल खरिदका लागि व्यापारी नै नआएको उनले बताए । यसवर्ष सयपत्री फूल खरिदका लागि व्यापारी नै नआएको बताउँदै उनले भारतबाट सयपत्री फूल आयात हुँदा आफूले सयपत्री फूल बिक्री गर्न नसकिएको जनाए । आफूले सुरुमा २५० प्रतिकेजी र पछि प्रतिकेजी ५० रुपैयाँसम्म बिक्री गरेको बताउँदै उनले बजारमा एक माला एक सयसम्म बिक्री भएको जनाए ।
भारतबाट आयात हुँदा करिव आधा केजी फूलको माला व्यापारीले भारतीय १२ रुपैयाँमा आयात गरेको बताउँदै उनले स्थानीय उत्पादन महँंगो भएपछि व्यापारीहरूले भारतबाट आयात गरेर फूल बेचेकाले आफूलाई सयपत्री फूल बिक्री गर्न समस्या भएको जनाए । सयपत्री फूल बिक्री नहुँदा आफू मारमा परेको बताउँदै बिक्री नभएको सयपत्री फूल नष्ट गर्ने बाध्यता भएको जनाए ।