हात्ती भगाउन निबु र खुर्सानी खेती

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ मा रहेको भारतीय सीमासँंग जोडिएको बडुवाल टोल बस्तीमा जंगली हात्तीले जनधनको क्षति गर्न थालेको दुई दशकभन्दा पनि बढी बितिसकेको छ । दुई सातामा मात्रै जंगली हात्तीले सात घर भत्काएको छ भने त्यसका साथै धेरै अन्नबालीमा क्षति पुर्याएको छ ।
जोगबुडा नदी पारिको बडुवाल टोल बस्तीमा तीन सय घर परिवार बसोबास गर्दै आइरहेका छन् । नेपाल भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि वि.सं. २०२४ सालदेखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो दुई दशकदेखि जंगली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् । त्यसैगरी उक्त स्थानका स्थानीय रामचन्द्र विकले भारतीय जंगलबाट हात्तीहरू आएर बस्तीमा क्षति गर्न थालेको झण्डै दुई दशकभन्दा पनि बढी समय भइसक्दा समेत सरकारले उक्त क्षेत्रमा अहिलेसम्म पनि कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।
उनी भन्छन्, ‘जंगली हात्तीहरू कतिबेला आउँछन् कसैलाई थाहा छैन । सरकारले जंगली हात्तीले क्षति गरेमा क्षतिपूर्ति दिने र आफ्ना जनतालाई सचेत रहन लगाउने हो । स्थानीय सरकारले जनतालाई जंगली हात्तीहरूलाई भगाउन सकिने सामग्रीको व्यवस्थापन गर्न पर्ने हुन्छ । तर, क्षतिपूर्तिको दाबी गर्न हामीहरूसँग जग्गाधनी प्रमाण पुर्जा नभएकाले क्षतिपूर्ति पाउनबाट पनि वञ्चित भएको स्थानीय विकले बताए ।
त्यसैगरी उक्त क्षेत्रकै स्थानीय पवन सुनारले भारतसँंग सीमा जोडिएका ठाउँमा भारतले कुनै पनि निर्माण कार्य गर्न नदिएको बताए । उनले भने, ‘तारवारको व्यवस्था गर्न सकिने अवस्था पनि देखिँदैन, केही दिनअघि मात्रै नेपाल भारतका वन क्षेत्रका विज्ञको एक कार्यक्रमा जंगली हात्तीले क्षति गर्ने गरेको विषयमा चर्चा हुने क्रममा हात्तीलाई करेन्ट छोडिएको तारले पनि रोक्न नसकिएको र हात्ती भगाउन केही उपायको चर्चा समेत भएको थियो तर, हात्ती भगाउन किसानले आफ्नो खेतबारीमा खुर्सानीखेती गर्नुपर्ने र खुर्सानी खेती गरिएको क्षेत्रमा हात्ती नआउने एक जना विज्ञले बताएका थिए ।
किसानले धान गहुँ लगाउने खेतमा निवुको खेती गरेमा पनि हात्ती नआउने समेत भनिएको थियो । हात्तीलाई निवु र खुर्सानीको वास्ना मन नपर्ने भएकोले निवु र खुर्सानी खेती गरेर आम्दानी पनि गर्न सकिने र आफ्नो ज्यानको सुरक्षासमेत हुनसक्ने सुनारले बताए । त्यसैगरी बडुवाल टोलका स्थानीय महावीर क्षेत्रीले पक्की घरबाहेक कच्ची घर भएका स्थानीयले हात्तीको आक्रमणको डरले घर छोड्न थालेको बताए । उनी भन्छन्, ‘कोही–कोही त साँझको खाना खाएर बोरि विस्तारा लिएर पक्की घरको खोजीमा जाने गरेका छन् । रातीको समयमा हात्तीको बितण्डाको डरले उनीहरू आफ्नो घर छोड्न बाध्य भएका छन् ।
बस्तीमा सशस्त्र प्रहरी फोरवार्ड क्याम्प रहेको छ । थोरै जनशक्ति रहेको उक्त सशस्त्र प्रहरीको फोरवार्ड बेसमा थप जनशक्तिको आवश्यकता रहेको स्थानीयले महसुस गर्दै आएका छन् । त्यसैगरी यहाँ दशकौंदेखि बसोबास रहेता पनि स्थानीयले जग्गाको पुर्जा नपाउँदा हात्तीको आक्रमणमा परी ज्यान गुमाउँदा समेत राज्यबाट कुनै पनि क्षतिपूर्ति समेत पाउन सकेका छैनन् । यसअघि हात्तीको आक्रमणबाट स्थानीयवासीले ज्यान गुमाउँदा क्षतिपूर्तिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जाँदा जग्गाको पुर्जा मागेको क्षेत्रीले बताए । उनले भने, ‘वि.सं. २०२४ सालदेखि सीमामा दुःख सुख गरेर बस्ने नागरिकले जमिनको पुर्जासम्म नपाउनु असह्य पीडाको विषय छ ।’
बस्तीमा रातभरी जनताले ज्यान बचाउन हारगुहार लगाउँदा समेत स्थानीय सरकार पनि मुकदर्शक भएर बसेको स्थानीयको गुनासो रहँदै आएको क्षेत्रीले बताए । त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ कि वडा सदस्य लक्ष्मी रानाले हात्तीकै कारण गर्दा राति सुत्न नपाएको धेरै समय भइसकेको बताइन् । उनले भनिन्, ‘स्थानीयवासीले खेती त लगाउँछन् तर भित्र्याउन नपाएको धेरै वर्ष भइसक्यो । जग्गाको पुर्जा नभएको कारणले राज्यबाट अहिलेसम्म पनि कुनै सहयोगसमेत पाएका छैनन् ।
यहाँका तीन सय घरधुरी मध्ये १०/१२ परिवारसँंग मात्रै जमिनको पुर्जा रहेको छ भने, अन्नबाली खानका लागि हात्ती बस्ती पुगेर क्षति पुर्याउन थालेको १२/१३ वर्ष नै भइसकेको छ, एक बिघामा धान लाउनेले मुस्किलले दुई, तीन बोरा मात्र धान भित्र्याउने गरेको रानाले बताइन् । त्यसैगरी रानाले मौरी पालन गरेर पनि हात्ती भगाउन सकिने बताइन् । हात्तीले मौरीको गुनजन सुनेर भाग्ने हुँदा मौरी पालन गर्ने र मौरीको घार हल्लिने गरी हात्ती आउने बाटोमा कुनै तार फिजाउन सकेमा पनि हात्तीको आतंकबाट मुक्ति पाइने उनले बताइन् ।