Logo

जाजरकोट भूकम्प

४५ स्वास्थ्य संस्था र २०८ विद्यालयमा क्षति

जाजरकोट– जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति पुगेको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि अस्थायी टहरा बनाएर सेवा प्रदान गरिएको छ ।

दसैं तिहार बिदामा बन्द रहेका विद्यालय त्यसपछि कसरी सञ्चालन गर्ने भन्ने चिन्ता व्यवस्थापन समितिमा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुम पश्चिममा दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीनवटा पूर्ण क्षतिसहित ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकी भूकम्पले क्षति पुर्‍याएको छ । स्वास्थ्य संस्थाको क्षति अवस्था अनुगमन गर्ने काम भइरहेकोले यो संख्या केही बढ्ने जनाइएको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ ।

भवन क्षति भएकोमा अस्थायी रूपमा बाहिर त्रिपाल राखेर स्वास्थ्य सेवा दिन सुरु गरिएको निर्देशक खड्काले बताए । भूकम्पपछि चिसो मौसम बढ्दै गएकाले बालबालिका, गर्भवती र ज्येष्ठ नागरिक बढी प्रभावित हुने, पानीबाट लाग्न सक्ने रोगको प्रकोप, मानसिक समस्या बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

दुई सय आठ विद्यालयमा क्षति
भूकम्पबाट २०८ वटा विद्यालयमा पूर्ण रुपमा क्षति पुगेको छ । करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएको जनाइएको छ । जाजरकोटमा १७३ र रुकुम पश्चिममा ३५ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा पूर्ण र आंशिक गरी ५८१ वटा र रुकुम पश्चिममा पनि पूर्ण र आंशिक गरी ४५ वटा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अधिकृत बलवीर सुनारले जाजरकोटमा २०८ वटा पूर्ण र ४१८ वटा आंशिक तथा रुकुम पश्चिममा ३५ वटा पूर्ण र १० वटा आंशिक रूपमा विद्यालयमा क्षति पुगेको बताए ।

भूकम्पका कारण जाजरकोटमा २२ हजार ७५९ जना र रुकुम पश्चिममा १७ हजार ३५१ गरी ४० हजार ११० जना विद्यार्थी प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ । अधिकृत सुनारका अनुसार २६९ वटा शौचालय पूर्ण र १९० वटा शौचालय आंशिक रूपमा क्षतिग्रस्त भएको छ । विद्यालयका सोलार सिस्टम, पुस्तकालयमा पनि क्षति भएको छ ।

भूकम्पबाट क्षति पुगेपछि ती जिल्लाका ४० हजार भन्दा बढी विद्यार्थीलाई विद्यार्थी किट वितरण गर्ने, ४५० वटा अस्थायी शौचालय तयार गर्ने, १० हजार सेट पाठ्यपुस्तक उपलब्ध गराउने, ६ सय बालविकास किट उपलव्ध गराउने, ३५० विद्यालयलाई विद्यालय किट उपलव्ध गराउने, क्षतिग्रस्त ठाउँमा छ सय वटा अस्थायी सिकाइ केन्द्र निर्माण गर्न आवश्यक रहेको उनले जनाए ।

मनोविमर्शकर्ता परिचालन
भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिममा गरी ३३ जना मनोविमर्शकर्ता परिचालन गरिएको छ । मन्त्रालयको सामाजिक विकास शाखाका अनुसार जाजरकोटमा २१ जना र रुकुम पश्चिममा १३ जना मनोविमर्शकर्ता परिचालन गरिएको हो ।

शाखाकी यशोधा शर्माले ५० वटा बाल शुलभ केन्द्र स्थापना लक्ष्यमा अहिलेसम्म १३ वटा बाल सुलभ केन्द्र निर्माण गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्