नेपाल–चीन क्रस कन्ट्री दौड प्रतियोगिता पोखरामा «

नेपाल–चीन क्रस कन्ट्री दौड प्रतियोगिता पोखरामा

पोखरा– पर्यटकीय नगरी पोखरामा नेपाल–चीन क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त प्रतियोगिता पोखरामा यही मंसिर ९ गते हुने नेपाल चीन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

पोखराको खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको तयारी गरिएको उनले बताए । नेपाल र चिनियाँ धावकबीच क्रस कन्ट्री दौड प्रतियोगितासहित चार इभण्टेमा प्रतियोगिता हुने अध्यक्ष पालिखेले जानकारी दिए । पोखरामा आगामी वर्षदेखि निरन्तर प्रतियोगितासहित अन्तर्राष्ट्रिय ड्रागन बोर्ट रेस प्रतियोगितासमेत आयोजना गर्ने उनको भनाइ छ ।

नेपाल र चीनबीचको भातृत्वसँगै पर्यटन प्रवद्र्धनमा यस्ता प्रतियोगिताले सहयोग गर्ने उनको दाबी छ । मुख्य इभेन्टतर्फ टिम इभेन्ट र एकल इभेन्टबीच प्रतिष्प्रर्धा हुनेछ । टिम इभेन्ट विजेताले तीन लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने छ भने दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाचौँ हुनेले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै एकलतर्फका विजेताले एक लाख ४४ हजार, उपविजेताले एक लाख आठ हजार र तेश्रो हुनेले ५४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ५ किमि विद्यार्थी (छात्र/छात्रा) दौड प्रतियोगिताको विजेताले समान २५÷२५ हजार रुपैयाँ पाउनेछन् । दोस्रोले बीस हजार तेस्रोले १५ हजार, चौथोले १० हजार र पाचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य इभेन्टका लागि चीनबाट १०४ जनाको टोली पोखरा आउने भएको छ ।

हिमालय एयरलायन्सबाट पोखरामा चीनबाट सिधा हवाई उडान हुने भएको छ । चाटर्ड उडान भएपछि उक्त एयरलायन्समा आगन्तुक खेलाडी अफिसियलसहितको टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतसमेत गरिने भएको छ । प्रतियोगितामा १० नेपाली र १० चिनियाँ टोली सहभागी हुनेछन् । एक टिममा ३ जना हुने छन् भने कम्तिमा पनि एक महिला वा एक पुरुष एउटा टिममा अनिवार्य हुनुपर्ने छ ।

बराहीघाटदेखि सुरु हुने दौडमा डेभिडफल्स, फुर्सेखोला, मट्टिखान रिसोर्ट, कुभिण्डे भञ्याङ, उल्लेरी, भुम्दी, ओख्लेडाँडा, लुकुन्स्वाँरा, गौरी प्रा.वि., फेवाताल पारी लिचिबोट हुँदै पुनः बाराही घाटसम्मको दुरी तय गरिएको छ । त्यसै गरी एकल तर्फको इभेण्टमा भने ३८ किलोमिटर हुने छ जसमा करिब १४० धावक सहभागी हुने छन् ।

साथै दुई किलोमिटरको ह्याप्पी रन र छात्र छात्रातर्फको ५ किलोमिटर दौड हुने भएको छ । प्रतियोगितामा नेपाल भूतपूर्व खेलाडी मञ्च र युनान प्रदेश खेलकुद ब्युरो प्राविधिकको रुपमा रहनेछन् भने चीनबाट १६ जना चिकित्सकसहितको स्वाथ्यकर्मीको टोली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्