खडेरीले घैंटा सुकेपछि खानेपानीको हाहाकार

लामो समयदेखि वर्षा नहँुदा यहाँको एक विकट गाउँका बासिन्दा खानेपानी पिउनबाट वञ्चित भएका छन् ।
वर्षायाममा संकलन गरिएको पानीसमेत घैटामा सकिएपछि दक्षिण पर्वतको विहादी गाउँपालिका–५मा खानेपानीको हाहाकार भएको हो । नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा काकाकुलको नियति भोगिरहेका दक्षिण पर्वतको विहादी गाउँपालिका–५ उरामपोखरास्थित भतेरपाटावासी घैटामा पानी सकिएपछि दिनभरि पानीको जोहो गर्न व्यस्त हुने गरेका छन् । उनीहरूले विगत एक दशकदेखि घैंटाको पानीको भरमा गुजारा चलाउँदै आएका थिए ।
वर्षात्को समयमा संकलन गरेर राखेको पानी पिउन बाध्य उनीहरू त्यही पानी पनि सुकेपछि बस्ती नै सार्नुपर्ने अवस्थामा छन् । एक दशकअघि फिनिडा र नेवानामक संस्थाले गाउँका ७० घरमा खानेपानी संकलन गर्ने घैंटा निर्माण गरिदिएपछि स्थानीय बासिन्दालाई राहत मिलेको थियो । वर्षात्को समयमा गाउँनजिकै मूलहरू उठ्ने भएकाले पानीको समस्या नहुने भए पनि हिउँदको समयमा भने संकट भोग्नुपर्ने अवस्था छ ।
वर्षायाममा घैंटोमा संकलन गरेको पानी हिउँदमा सकिएपछि स्थानीय २ घन्टा टाढा रहेको कुवामा गएर पानी ल्याउन बाध्य छन् । वर्षा नहुँदा वर्षायाममा संकलन गरेको पानी सकिएपछि खानेपानीको समस्या भएको स्थानीय रामचन्द्र भुसालले बताए । “खानेपानी नहुँदा पानीकै लागि २ घन्टा टाढा जानुपर्ने समस्या छ पानीको जोहो गर्दैमा समय जान्छ अन्य काम गर्न भ्याइँदैन म किसानी मान्छे भुसालले गुनासो गरे ।”
गाउँलेहरू गाउँदेखि २ घन्टा टाढा रहेको ठूलोपँधेरो र कालो ओढारमा गएर पनि पानी ल्याउने गरेका छन् । संस्थाले जस्ताको छाना भएको घरमा ६ हजार लिटर बराबर र खरको छाना भएको घरमा ४ हजार लिटर बराबरका घंैटा निर्माण गरिदिएको थियो । खरको छाना भएकालाई आधादर्जन जस्तासमेत उपलब्ध गराएको थियो । दलित बाहुल्य रहेको उक्त गाउँमा फिनिडा र नेवाले उक्त सहयोग उपलब्ध गराएपछि उनीहरूलाई राहत मिलेको भए पनि खडेरीले समस्यामा पारेको स्थानीय जीतबहादुर नेपालीले बताए । उनले भने, “घरघरमा घैंटा बनाएपछि ठूलो राहत मिलेको थियो ।” वर्षात्को पानी संकलन गर्ने र वर्षा नहुँदाको समयमा त्यही पानीले काम चलाउने गरेका थियौं तर अहिले सुके निकै समस्यामा छौं नेपालीले भने ।
गाउँमा खानेपानी योजना निर्माण गरिदिन पटकपटक विभिन्न संस्थामा अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको स्थानीय नरबहादुर थापाले जानकारी दिए । उनले भने, “केही वर्ष अघिसम्म भोक्सिङदेखि ल्याएको खानेपानी योजना मर्मतसम्भारको अभावमा जीर्ण बनेपछि गाउँलेहरूले पानीको समस्या भोग्नु परेको हो ।”
बस्तीभन्दा केही तल सानासाना मूल र खोला भएकाले लिफ्टिङ सिस्टमबाट पानी ल्याउन सकिने स्थानीयवासी बताउँछन् । उनीहरूले उक्त सिस्टमको योजना पारिदिन विभिन्न निकायसँग मागसमेत गरेका छन् । सदरमुकामदेखि टाढाको दूरीमा रहेको गाविस भएकाले जिल्लाले समेत उचित ध्यान नदिएको स्थानीयको गुनासो छ ।
–लक्ष्मीप्रसाद सापकोटा