१९ लाख लगानीमा कुरिलोखेती

रसुवा– जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेत बजारनजिकै १९ रोपनी जग्गा भाडामा लिएका स्थानीय सिंगी लामाले १९ लाख रुपैयाँको लगानीमा कुरिलोखेती गरेका छन् । कुरिलोको बीउ बनेपाबाट खरिद गरी सोही बीउ लामाले व्याडमा रोपेका हुन् । रोपेको केही समयपछि उनले जग्गामा बिरुवा रोपेका थिए ।
साँझ बिहान मेहनत गरेर हेरचाह गरे । कुरिलोका बिरुवालाई आफ्नै सन्तान हुर्काएझैँ हुर्काएँ । गोडमेल गरें, पानी हालें । यसरी नै वर्षदिनमा सबै बिरुवा हलक्कै बढे । उनलाई कुरिलोखेतीले कतै घाटा पुर्याउने त होइन भन्ने मनमा शंका पनि थियो । तर, उनले आफ्नो मनमा आउने नकारात्मकतालाई खासै वास्ता गरेनन् र आफ्नो कर्ममा दत्तचित्त भइरहे । उनको आफ्नो नाममा एक टुक्रा पनि जग्गा जमिन छैन ।
जग्गा भाडामा लिएर उनले कुरिलोलगायत तरकारीखेती गरेर कमाउन थालेका छन् । जग्गा बाँझो राख्नेका लागि उनी नमुना उदाहरण हुन् । अहिले उनले कुरिलो खेतीबाट आम्दानी लिन सुरु गरेका छन् । उत्पादन भएको कुरिलोलाई बजार अभाव छैन । स्थानीय तथा बाहिरको बजारमा फोनबाट सम्पर्क हुने गरेको उनी बताउँछन् । हिमाली क्षेत्रमा उत्पादन भएको कुरिलो बिक्री गर्न समस्या छैन उनले भने, ‘सम्पर्क गरेर बजारमा मगाउने धेरै छन् ।’
गत असार महिनादेखि नै लामाले कुरिलो प्रतिकिलो तीनदेखि चार सय रुपैयाँमा बजारमा बेच्न थालेका हुन् । आफ्नो जिल्ला आसपास र वरपर फाट्टफुट्ट बिक्री–वितरण हुने भए पनि बाँकी बाहिर नै निर्यात हुने गरेको लामा बताउँछन् । जिल्लाको धुन्चे, स्याफ्रु, थाम्बुचेत, तथा गाउँघरमा भन्दा काठमाडौंलगायतका अन्य जिल्लामा सात सयभन्दा बढी मूल्यमा बिक्री हुने उनी बताउँछन् । कुरीलो फल्ने मौसममा लगातार तीन वर्षसम्म फल्ने गर्छ र सोही अनुसार उनको आम्दानी पनि निरन्तर भइरहन्छ ।
लामाले कुरिलोसँगै टिमुर, अकबरे खुर्सानीसमेत लगाएका छन् । उनी आफूमात्रै सफल कृषक बन्न चाहँदैनन् । आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्छन् । उनी भन्छन्, ‘दु:ख गर्न सके विदेश जानु पर्दैन । आफ्नो गाउँघरको आगनीमै सुन फल्छ, फलाउन सकिन्छ ।’ लामा कृषकमात्रै होइन, कुरिलोखेतीको स्थानीय विशेषज्ञका रूपमा पनि चिनिन थालेका छन् । उनले यो खेतीसम्बन्धी एक सय जनाभन्दा बढीलाई तालिम प्रदान गरिसकेका छन् । आफ्नो पुर्खाले अंगालेको पुख्र्यौली कृषि पेसा आफ्ना लागि प्राण भएको उनी बताउँछन् ।
उनी यही पेसामा रमाउने र यही पेसा पुस्तान्तरण गर्ने पक्षमा छन् । यो खेतीबाट लामाले लाखौं रुपैयाँ बिक्री गरेर आम्दानी गर्दै आएका छन् । यो वर्ष कुरिलोको बिरुवा तथा कुरिलो टुसा बेचेर साढे तीन लाख रुपैयाँ आम्दानी लिएको उनले बताए । यस वर्ष धेरै बिरुवाले आम्दानी दिन्छ । यसै वर्ष लगानी उठाउने सोचमा रहेको लामा बताउँछन् । विदेशिएका दाजुभाइ, दिदीबहिनीलाई स्वदेश फर्केर आफ्नै माटोमा पसिना बगाई सुन फलाउन सम्भव भएकोले खेतीमा लाग्न उनी आग्रह गर्छन् ।
विदेशको चरा खस्ने गर्मी, चौबीस घण्टा ड्युटी गरेर केही रकम आर्जन गर्नुभन्दा आफ्नै जन्मभूमिमा घरआगन र खेतबारीमा श्रम गर्न र आफूजस्तै आम्दानी गर्न लामा सुझाव दिन्छन् । स्थानीय सरकारले पनि कृषि उत्पादनमूलक कार्यक्रममा किसानलाई टेवा दिने कार्यक्रम बनाउनु पर्ने उनको सुझाव छ । अहिले बजारमा कागती, कुरिलो मूलालगायत तरकारीखेती गरेर आम्दानी लिन सकिने हुनाले जमिन बाँझो राख्न नहुने उनले बताए । लामाको कुरिलोखेती आम्दानीको स्रोतमात्रै नभई प्रेरणाको स्रोत पनि भएको स्थानीय पासाङ तामाङ बताउँछन् । तामाङ भन्छन्, ‘यो खेतीबाट उत्पादित कुरिलोको टुसा र बिरुवा देशमा मात्रै नभएर विदेशमा पनि निर्यात हुने गरेको छ ।’