पर्यटक भित्र्याउन गिडिदहमा पदमार्ग निर्माण

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित पर्यटकीय गन्तव्य गिडिदह (तालमा) पदमार्ग निर्माण गरिएको छ । गत वर्ष गिडिदह सम्मेलन पछि चर्चामा आएको नयाँ पर्यटकीय गन्तव्य गिडिदहमा पर्यटकको आगमन बढाउन पदमार्ग निर्माण गरिएको हो ।
असजिलो बाटो, बास बस्न समस्या, प्रचार प्रसारको अभावलगायतका कारण गिडिदह दशकौंदेखि ओेझेलमा थियो । एकिन क्षेत्रफल आउन बाँकी रहे पनि आकारलाई हेर्दा मुगुको रारा, डोल्पाको शे–फोक्सण्डोपछि कर्णालीकै ठूलो ताल गिडिदह हो । यद्यपि क्षेत्रफल मापनको काम सकेर नतिजा सार्वजनिक गर्ने तयारी हुँदै छ ।
सामुद्रिक सतहदेखि ३४८२ मिटर उचाइमा अवस्थित गिडिदहमा दुईवटा दह (ताल) रहेका छन् । पाटन हुँदै गिडिदहसम्मको यात्रालाई सहज र पर्यटकको आगमन वृद्धि गर्न पदमार्ग निर्माण गरिएको तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाले बताए । ‘गिडिदह तातोपानीको मात्र सम्पत्ति र सम्पदा हैन । हामीले ओझेलमा परेको सम्भावना उजागर गर्ने प्रयास गरेका हौं,’ उनले भने, ‘गिडीदहमा पुग्न सबैभन्दा अप्ठ्यारो भनेकै बाटो हो । त्यसपछि खान बस्नको समस्या छ । पछिल्लो समय गिडिदह पुग्ने पर्यटकको रुचि बढेपछि सहजताका लागि गिडिदहदेखि पाटन सम्म पदमार्ग निर्माण गरेका हौं ।’
जुम्लाको प्रसिद्ध ताल गिडिदह पुग्ने पर्यटकलाई अवलोकन गर्न सजिला होस् भनी पदमार्ग निर्माण गरिएको छ । गिडिदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले प्रचारप्रसार थालिएको हो । अप्ठेरो बाटो, उचित बासस्थानको अभाव आदि कारणले गिडिदह अझै पनि पर्यटकीय गन्तव्य बन्न सकिरहेको छैन । तथापि भविष्यमा पर्यटक भित्र्याउन सकिने सम्भावनालाई मध्यनजर गरी पदमार्गलाई पहिलो प्राथमिकता दिएर निर्माण गरेको तातोपानी वडाध्यक्ष रोकायाको भनाइ छ ।
पदमार्ग निर्माण तथा बाटोमा केही बासस्थान तथा प्रतिक्षालय निर्माणपछि सुन्दर पाटनहरूको अवलोकन गर्दै गिडिदहको काखमा सयौं पर्यटक एकसाथ आनन्द लिइरहेको कल्पना पालिकाले गरिरहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनले भने, ‘गुमनाम गिडिदहलाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन मिडियाको अहम भूमिका रह्यो । प्रचुर सम्भावना भएर पनि गिडिदहमा जाने आउने बाटो नहुँदा समस्या भएको कुरा गिडिदह सम्मेलनमा जाँदा हामीले भोगेका थियाैं । त्यसैले पालिकाको आन्तरिक स्रोतबाट पदमार्ग निर्माण गरेका छाैं ।’
गिडिदह जाँदा हराउने, बाटो बिराएर अलमल हुनेलगायतका समस्या रहेकोले दह किनारमा निर्मित धर्मशालादेखि ३५ सय मिटर बाटो निर्माण गरिएपछि सहज भएको वडाध्यक्ष रोकायाले उल्लेख गरे । गाउँपालिकाले सहयोग गरेपछि स्थानीय युवाले उपभोक्ता समिति बनाएर १० दिन लगाएर पदमार्ग निर्माण भएको हो ।
गाउँपालिकाको आन्तरिक स्रोतबाट सात लाख २५ हजार विनियोजन भएपछि कात्तिक १६ देखि २६ सम्म निर्माण सम्पन्न गरिएको उपभोक्त समितिका अध्यक्ष कौरव पाण्डेले बताए । सयौं वर्ष केही सीमित मान्छेले मात्रै अवलोकन गरेको गिडिदह अब सबैले अवलोकन गर्नेछन् । उनले भने, ‘यो आकर्षक पर्यटकीय गन्तव्यका साथै साहसिक यात्रा पनि हुनेछ । यहाँ अझै लगानीको खाँचो छ । पूर्वाधार विकासमा लगानी बढाउन सके गिडिदह जुम्लाको आर्थिक समृद्दि तथा रोजगारी सृजनाको आयाम बन्न सक्ने सम्भावना छ ।’
तातोपानीले गिडिदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन प्रचार प्रसारदेखि लगानी जुटाउने प्रयास गरिरहेको छ । कर्णाली राजमार्गदेखि हाँकु जोड्न पक्कि पुल निर्माण, गिडि खोलादेखि फूलचौल्यासम्म ग्रामीण सडक निर्माणमा प्राथमिकता दिइएको तातोपानीले जनाएको छ ।
पालिकाको लगानीले मात्रै गिडिदहको विकास र अपेक्षित पर्यटक आगमन सम्भव नरहेकाले जिल्लाकै सम्पत्तिको रूपमा बुझेर सबैको साझा पहल कदमी हुन जरुरी रहेको वडाध्यक्ष रोकायाको जोड छ । उनले राष्ट्रिय ताल संरक्षण समितिले गिडिदहमा पुगेर लम्बाइ, चौडाइ र गहिराइ नापेर लिइसकेकोले चाँडै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उल्लेख गरे ।