कृषिजन्य उत्पादनलाई छठको भर

वीरगन्ज– वैदेशिक व्यापारको आयातबाट अर्थतन्त्र धानेको नेपालमा नेपाली कृषिजन्य उत्पादनले खासै ठाउँ पाउने गरेको छैन । यसपटकको छठमा भने वीरगन्जमा नेपाली कृषिजन्य उत्पादनको व्यापारलाई भरथेग गरिदिएको छ ।
दसैं तिहारलगायतका चाडवाडमा प्रयोग गरिने मसलाजन्य वस्तुमा आयातमै निर्भर रहनुपरेको थियो । नेपालमै उत्पादन बढी भएपछि तिहारमा आवश्यक पर्ने फूल र माला यसपटक आयात नगर्न नेपाली फूल व्यावसायीले आग्रह गरेपछि सरकारले भारतीय फूलको माला आयात हुन दिएन ।
तर, नेपालमा उत्पादन भएको फूलले भने बजार पाउन सकेन । तिहारमा फूलको माला बिक्री नभएपछि अहिले आयुर्वेद औषधि उत्यादनका लागि कच्चा पदार्थको रुपमा निःशुल्क दिनुपरेको तितो अनुभव नेपाली फूल व्यावसायीहरुले भोग्नु परेको छ ।
तराई मधेसमा अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वले भने यसपटक नेपाली किसानको उत्पादनलाई भरथेग गरेको हो । छठपर्वमा कृषि उपजलाई प्रसादका रूपमा स्वीकार गरेको छ । झण्डै ७२ प्रकारका कृषिउपजको छठ पूजामा प्रयोग गरिन्छ । यसले हराउँदै गएको नेपालको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराएको छ । छठ सुरु हुनु अघिदेखि नै ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी बिक्री वितरण हुने गरेको छ ।
छठ पूजामा प्रयोग गरिने सामग्री अधिकांश कृषि उपजहरु हुन्छन् । त्यसमध्य स्याउ र केरा भारतबाट आयात हुने गरेको छ । तर, यसपटक वीरगन्जमा नेपालकै कृषिजन्य उत्पादनले बजार पाएको वीरगन्ज तरकारी तथा फलपूmल व्यावसायी संघका अध्यक्ष विदुर गुप्ताले बताए ।
उनका अनुसार यसपटक वीरगन्जमा छठमा प्रयोग हुने सुथनी, अदुवा, बोडी, उखु, स्याउ, सुन्तला, कागती, केरा, केराको थम्बालगायतका सामग्री बारा, पर्सा, रौतहट र नेपालकै जिल्लाबाट आएका छन् । स्थानीय कृषि उत्पादनलाई छठको प्रसादका रूपमा प्रयोग गरिछ । उखु, चामल, केरा जस्ता दर्जनौं नेपाली कृषिउपजले यसपटकको छठमा मुख्य स्थान पाएको गुप्ता बताउँछन् ।
वीरगन्जमा शनिबारसम्ममा २५ वटा पिकअप केरा, २० वटा भन्दा बढी सुन्तला, ३५ देखि ४० वटा पिकअप कागती, २० देखि २५ गाडी अदुवाको गाडी नेपालबाट आएका छन् । स्याउ चाँही चिनियाँ बढी आएको छ । ४÷५ वटा पिकअप गाडी मात्र चक्लेटी स्याउ भारतबाट आएको अध्यक्ष गुप्ताले बताए ।
छठ पर्वमा किसानले आफ्नो बारीमा फलाएका कृषि उपज बिक्री हुने भएकाले यसपटकको छठ पर्वमा कृषि उत्पादनले वीरगन्जको व्यापारलाई चलायमान गरिदिएको छ । नेपाली अर्थतन्त्र चलायमान बनाउने र आर्थिक समृद्धि ल्याउने कृषि नै भएको र छठ पर्वले कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक विरेन्द्रप्रसाद साह बताउँछन् ।
उनी भन्छन्, ‘खास गरेर नेपालको जति पनि धार्मिक तथा सांस्कृतिक पर्व र परम्पराहरु छन् । ती सबै कृषि उत्पादनसँग जोडिएका छन् । विश्व भूमण्डलीकरणअघि र पूरानो परम्परा कृषि उत्पादनकै प्रयोगले पर्वहरु मनाउँदै आएको पाइन्छ । खाने परिकारदेखि भाँडाकुराहरु पनि स्थानीय उत्पादन नै प्रयोग गर्ने गरिएको छ । पर्वहरु शुद्धताको प्रतीक पनि भएकाले एकपटक प्रयोग गरेपछि त्यसको पुन प्रयोग गर्दा शुद्धता नहुने मान्यताले पनि स्थानीय किसानले उत्पादन गरेका कृषि उपजले बजार पाउने र अर्को वर्ष फेरि लगाउँछन् ।’
किसानले उत्पादन गरेको कृषि उपज नेपाल भित्रै बिक्री हुने र पैसा पनि नेपालमै रहनु तथा यसले एकता, हार्दिकता, सामुहिकता र अर्थ सामाजिक सम्बन्धलाई पनि बलियो बनाउने प्राध्यापक सहको बुझाइ छ । नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि यस्ता परम्परादेखि मनाउँदै आएका चाडपर्वको प्रवद्र्धन गरी कृषि उत्पादनमा प्रोत्साहन गर्न राज्यको नीति सही हुनेपर्ने उनको भनाइ छ ।