Logo

छठले मौलाउँदै बजार

जनकपुरधाम– तराई मधेशका प्रमुख पर्वमध्येको एक हो छठ पर्व । छठ पर्व नजिकिएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ ।

दिउँसो सुनसान देखिने जनकपुरधामका बजारमा छठका लागि सरसमान किनमेल गर्ने सर्वसाधारणको चहपहल बढेको हो । आर्थिक मन्दीका कारण अन्य पर्व दसैं, दीपावलीमा खासै व्यापार नभए पनि छठमा भने व्यापारमा केही सुधार देखिएको स्थानीय व्यापारी बताउँछन् । छठ पर्वमा कपडादेखि माटोको भाँडा र बाँसबाट बनेका सामग्रीको माग बढेको छ । त्यसैगरी, खाद्य सामग्री चिनी, पिठो, खाने तेलसहितको माग बढेको छ ।

जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले दीपावलीदेखि बजारको आर्थिक कारोबार विस्तारै सुधार आएको बताए । दसैंसम्म बजारमा सर्वसाधारणको चहलपहल भए पनि आर्थिक कारोबार खासै देखिएका थिएनन्, उनले भने, ‘तर दीपावलीदेखि छठसम्म तुलनात्मक रूपमा सुधार देखिएको छ ।’

छैठ पर्वमा अन्य सामग्रीभन्दा केरा, सन्तुला, स्याउसहितका फलफूलको कारोबार अत्यधिक हुने गरेको छ । यस वर्ष छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामा झण्डै चार करोड बराबरको फलफूल भित्रिएको जनकपुरधाम फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्