Logo

आगलागीबाट १८ करोडको क्षति

धनगढी– धनगढीस्थित खाद्य व्यापार तथा कम्पनी लिमिटेडको भवनमा आगलागी हुँदा करिब १८ करोड रुपैयाँको क्षति भएको छ । शुक्रबार राति कम्पनीको भवनमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा १७ करोड ९७ लाख २० हजार रुपैयाँको क्षति भएको भएको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दले आगलागीबाट सारथी अस्पताल प्रालिको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुदिक्षा इन्टरप्राइजेजको एक करोड २० लाख रुपैयाँको मालसामान जलेको जनाए । उनले भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सुज सेन्टरको ५० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख रुपैयाँको क्षति भएको विवरण प्राप्त भएको जनाए ।

सुभिक्षा बेबी सपको ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपैयाँ बराबरको गोदामको भौतिक संरचना र गोदाममा कार्यरत कर्मचारीको २ लाख २० हजार रुपैयाँको स्कुटर जलेर नष्ट भएको डिएसपी चन्दले बताए । राति एक बजे भण्डारी सुज सेन्टरमा अचानक लागेको आगो सारथी अस्पतालमा सल्किएपछि तत्कालै बिरामीहरुलाई अन्यत्र सारिएको अस्पतालले जनाएको छ ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली परिचालन गरिएको थियो । धनगढी उपमहानगरपालिका, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्