अर्थतन्त्रमा कफीको महत्व «

अर्थतन्त्रमा कफीको महत्व

हाम्रो देश प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वनजंगल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब ७ सय प्रजातिका गैरकाष्ठ वन पैदावार नेपाल र नेपालीका लागि मात्र होइन, समग्र जीवजन्तु, मानव जाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट अद्वितीय उपहार हो । गुणस्तर जीवनका लागि जडीबुटीको यस्ता वनस्पतिको महत्वपूर्ण योगदान छ ।

मानवको स्वास्थ्य ठीक हुन शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा तन्दुरुस्त हुन आवश्यक छ । स्वस्थ नागरिक र स्वस्थ समाजद्वारा नै देशको विकास सम्भव छ । अपार सम्भावना बोकेको महत्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्वपूर्ण साधन हुन् । बर्सेनि अर्बौं धनराशिको विभिन्न गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा बिक्री–वितरणबाट अर्बौं धनराशि बर्सेनि भित्रिने गरेको छ । कफीलगायत अन्य महत्वपूर्ण जडीबुटीको बिक्री– वितरणबाट गुल्मी, पाल्पा, अर्घखाँची, इलामजस्ता जिल्लाहरूमा करोडौं रुपैयाँ बर्सेनि भित्रिने गर्छ । प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कफी दिवस मनाइने भएकाले यस लेखमा कफी उत्पादन र महत्वबारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ । कफीको पृष्ठभूमि हेर्दा यसको उत्पत्ति अरब, एवाइसिनियाको पहाडी भागमा भएको मानिन्छ । कफीलाई अरेबियनहरूले नै सबैभन्दा पहिला प्रयोगमा ल्याएको पाइन्छ । अरबी प्रजातिको कफी सबैभन्दा पहिला इथियोपियामा काल्दी नाम गरेको गोठालाले पत्ता लगाएको पाइन्छ ।

कफीका फल खाएका बाख्राले केही असाधारण व्यवहार देखाएकाले त्यसलाई मानिसले खाँदा उत्तेजना र स्फूर्ति आएकाले यसलाई विभिन्न तरिकाबाट अपनाई प्रयोग गर्दै आएको पाइन्छ । कफी उत्पादन गर्ने देशमा ब्राजिल, भियतनाम, कोलम्बिया, इन्डोनेसिया, इथियोपिया, भारत, होन्डुरस, युगान्डा, मेक्सिको र ग्वाटेमाला प्रमुख छन् । नेपालमा सर्वप्रथम सन् १९३८ मा गुल्मीको आँपचौरमा कफी खेती गरिएको पाइन्छ । त्यसपछि क्रमिक रूपमा यसको विस्तार गरेको देखिन्छ । हाल देशका ५४ जिल्लामा कफी खेती गरिएको छ । जसमध्ये काभ्रे, नुवाकोट, गुल्मी, कास्की, लमजुङ आदि कफी खेती गर्ने जिल्लाको अग्रस्थानमा छन् । कफीको बीउको कप्टेरालाई भुटी पिसेर धूलो बनाई गरम पानीमा राख्दा विशेष प्रकारको बास्ना आउँछ र एक उत्तेजनात्मक पेयको रूपमा प्रयोग गरिन्छ । कफीका दानामा १.२ देखि २.६ प्रतिशतसम्म र बजारमा पाइने इन्सटेट कफीमा ०.१ देखि ०.३ प्रतिशतसम्म कफिनको मात्रा हुन्छ । कफीलाई यसको विशेष स्वादका लागि चकलेट, क्यान्डी, आइसक्रिम र खाद्यपदार्थमा पनि मिसाउने चलन छ ।

कफी रुबियसी परिवारअन्तर्गत कफी समूहमा पर्दछ । कफीका ६ वटा विभिन्न प्रजाति छन् । तीमध्ये मुख्यतया अरबिका, रोबुस्टा, लाइबेरिका जातका कफीको खेती गर्ने गरेको पाइन्छ । विश्वमा उत्पादन हुने कफीमा अधिकांश उत्पादित कफी अरबिका कफीले नै ओगटेको छ । त्यस्तै नेपालमा पनि यही जातको कफीको खेती गरिन्छ । अरबिका कफीको बोट वयस्क हुँदा करिब ३.५ मिटर अग्लो हुन्छ । हाँगाहरू साना, मसिना र दुवै साइडमा तेर्सिएर निस्की माथिपट्टि बढ्छन् । पात चिल्लो, लाम्चो र टुप्पातिर तिखो हुन्छ । फलहरू झुप्पामा सरदर १५ देखि २० वटा लाग्ने गर्छ । पाक्दा फलको रङ कलेजी रातोबाट गाढा कालो–रातो हुन्छ । अरबिकाअन्तर्गतका जातमध्ये केन्ट, कुर्ग, चिक्स, ब्ल्यू माउन्टेन, गोल्डेन ड्रप अथवा अमेरिलो मुख्य छन् । कफी रोबुस्टा जातिका पातहरू अरबिकाको भन्दा ठूलो र केही खस्रा खालका हुन्छन् । बोटहरू पनि ठूला हुन्छन् । एउटा झुप्पोमा २५ देखि ५० वटा फल लाग्छन् । पातको रङ तामाको जस्तो हुन्छ । यी जातमा अरबिकाको तुलनामा कम रोग लाग्ने गर्छ । यो जातलाई गर्मी हावापानीमा पनि उन्नतसाथ उत्पादन गर्न सकिन्छ ।

त्यस्तै लाइबेरिका जातका कफीका बोट करिब ७.५ मिटर अग्लो हुन्छ । यो काँटछाँट नगरी सीधै बढ्न दिइन्छ । बोटको काण्ड करिब ४० से.मि. गोलाइको हुन्छ । यसको पात १५ से.मि.जति चौडाइ, छालाजस्ता बाक्ला र लुसो हरियो खालका हुन्छन् । फलहरू झुप्पामा दुई–तीनवटा मात्र हुन्छ । बिरुवा कम मलिलो, ढुंगेन र बलौटे माटोमा पनि फस्टाउँछ । कफी नेपालको परम्परागत बाली होइन । अरबिका कफीका विभिन्न जातहरू बर्मा, भारत, ब्राजिल, पपुवान्युगिनी, एल साल्भाडोर आदिबाट नेपाल भित्र्याइएका छन् । तिनीहरू वोर्बोन, टिपिका, पाकस, काटिसिक, टेकिसिक, कातुरा, सेलेक्सन–१०, काटिमोर, काबेरी आदि हुन् । कफीको उत्पादनका लागि नर्सरी स्थापना तथा व्यवस्थापन महत्वपूर्ण हुन्छ । यसका लागि माउबोट छनोटदेखि रोप्ने, बिरुवा हुर्काउने तथा बिक्री–वितरण नभएसम्म नर्सरीमा गरिने सम्पूर्ण कार्य नै नर्सरी व्यवस्थापन हो ।

कफीको बीउका दुई स्रोत हुन्छन्, जुन प्रमाणित स्रोतबाट खरिद गर्ने तथा माउबोट छनोट गरी बीउ तयार गर्नु हो । व्यावसायिक कफी खेतीका लागि आवश्यक कफीका जातमा हुनुपर्ने गुणमा अनुसन्धानप्राप्त निकायबाट प्रमाणित बीउ, राम्रो बास्ना र मीठो स्वाद भएको, ठूला फल र फलमा दिउलको अनुपात बढी भएको, रोग–कीरा नलाग्ने वा सहन सक्ने, सुक्खापन सहन सक्ने, आँख्लाबीचको दूरी कम भएको, शाखा हाँगा र प्रशाखा हाँगा न धेरै न थोरै पलाउने, विभिन्न हावापानीमा उत्पादन हुन सक्ने, कम छहारीमा पनि राम्रोसँग उत्पादन हुने आदि पर्छन् । नेपालमा उत्पादन भएको कफीको २० प्रतिशत कफी मात्र निर्यात भएको सम्बन्धित निकायले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालभर ३९४.४ मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भएकोमध्ये २० प्रतिशत कफी विदेश निर्यात भएको पाइन्छ ।

सम्बन्धित निकायका अनुसार २०७८/७९ मा १२ करोड ७६ लाखबराबरको २७९.८ मेट्रिक टन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाखबराबरको ६९.५ मेट्रिक टन मात्र कफी निर्यात भएको छ । भन्सार विभागको आ.व. २०७९/८० को तथ्यांकअनुसार १३ करोड ४ लाखबराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाखबराबरको ४ सय ५० मेट्रिक टन कफी आयात भएको थियो । नेपालमा कफी खेतीलाई योजनाबद्ध तरिकाबाट विकास गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भएको पाइन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा कफी कृषक, उद्योगी, व्यवसायी, संघसंस्थाहरूलगायत कफी सरोकारवाला सबैको उपस्थितिमा यस वर्ष मंसिर १ गते ‘कफी क्षेत्रको प्रवद्र्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने नाराका साथ १३ औँ राष्ट्रिय कफी दिवस मनाइयो । नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक वनावटका आधारमा हाम्रो देशमा कफी खेतीको सम्भावना धेरै छ ।

सोअनुसार अझै कफी खेती उत्पादन गर्न सकिएको छैन, जुन कुरा माथिको आँकडाले देखाउँछ । हाम्रो घरमा तथा विभिन्न उत्सवमा आउने पाहुनाहरूलाई आदरका साथ सबैभन्दा पहिले कफी पिऊँ भन्ने प्रचलन छ । अतः कफी खेतीको सम्भावनालाई योजनाबद्ध तरिकाबाट तीनै तहको सरकारले व्यावसायिक रूपमा विकास गराउन सके वैदेशिक रोजगारीमा विदेश पलायन भएका युवाशक्तिलाई देश तथा गाउँघरमै रोजगारीको सिर्जना गरी नेपाल कफीमा आत्मनिर्भर हुनुका साथै विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । सोबाट नेपाल समृद्धिको यात्रामा अघि बढ्न सक्छ । यसका लागि सम्बन्धित निकायले प्रभावकारी भूमिका खेल्न अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्