चक्रपथ निर्माण अलपत्र «

चक्रपथ निर्माण अलपत्र

दस वर्षअघि अव्यवस्थित सदरमुकाम चौतारालाई सहरीकरण गर्ने महत्वकांक्षी योजनासहित सुरु गरिएको ‘रिङरोड’ निर्माण अझै पूरा हुन सकेको छैन । बजारलाई केन्द्रमा पारेर चारैतिरबाट सडक सञ्जालले घेर्ने महत्वकांक्षी योजनामा सर्वपक्षीय सहमति जुट्न नसक्दा ‘रिङरोड’ले पूर्णता नपाएको हो ।
राष्ट्रिय योजना आयोगबाट आव ०६३/६४ मा १८ लाख बजेट विनियोजन भएपछि निर्माण सुरु गरिएको चौतारा ‘रिङरोड’ निर्माणलाई स्थानीयले समेत बेवास्ता गरेका थिए । रिङरोड बनेको खण्डमा बजारको अस्तित्व हराउने र व्यवसायमा कमी आउने भन्दै स्थानीयले बेवास्ता गरेकै कारण सुरु गरेको १० वर्ष बित्दासमेत निर्माण सम्पन्न हुन नसकेको हो । आयोगबाट आएको बजेटसँगै झण्डै ५० लाख रुपैयाँ खर्च गरेर चौतारालाई सहरीकरण गर्ने योजनासहित सुरु गरिएको रिङरोडको योजना अझै अलपत्र छ । साँघुरो चौताराको भविष्य सुनिश्चित गर्न सडक विस्तार आवश्यकता महसुुस गरेर योजना सुरु गरिएको थियो ।
बजारको साँघुरो सडकको विकल्प र व्यवस्थित बजार निर्माण गर्ने उद्देश्यसहित तत्कालीन सांसद सुभाष कर्माचार्यको पहलमा राष्ट्रिय योजना आयोगबाट १८ लाख रुपैयाँ विनियोजन भएपछि रिङरोड निर्माण सुरु गरिएको थियो । स्थानीय समाजसेवी तुलसीमान श्रेष्ठको सक्रियतामा उपभोक्ता समिति निर्माण गरेर बन्न लागेको रिङरोड उनको निधनसँगै अलपत्र परेको स्थानीय बताउँछन् । पहिलो पटक १८ लाख केन्द्रीय योजनाबाट बजेट परेपछि केही वर्षसम्म त्यसले निरन्तरता पाएको थियो । सदरमुकाम व्यवस्थित हुने योजना बनेपछि जिल्ला विकास समितिले पनि चौतारा रिङरोडमा लगानी गरेको थियो ।
रिङरोडले कति क्षेत्र समेट्ने भन्ने विवादले पनि निर्माण पूरा हुन नसकेको स्थानीय बताउँछन् । “रिङरोड अत्यन्तै आवश्यक छ, साँघुरो चौतारा बजारको वैकल्पिक मार्ग बनाउनुपर्छ,” स्थानीय रेशम कार्कीले भने, “बजार साँघुरो भएकाले सवारी साधन र पैदलयात्रीलाईसमेत सकस भइरहेको छ ।” उनले रिङरोड निर्माण कार्यलाई तीव्रता दिई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताए ।
२०६८ मा सिन्धुपाल्चोक महोत्सव हुँदा बजारको सुरुआतिस्थान बसपार्कबाट बजारको अन्तिम विन्दु टुँडिखेल निस्कने सडक मर्मत गरी सुचारु गराइएको थियो । यो सडक रिङरोडको एउटा भाग हो । भूकम्पपछि पनि यो सडक सञ्चालनमा ल्याइएको थियो ।
“चौताराको भविश्य सुनिश्चित गर्न सडक विस्तारको आवश्यकता छ, यसलाई रिङरोडले परिपूर्ति गर्छ सडक विस्तारले भएका ठाउँको महत्व घटाउँदैन,” रिङरोड निर्माणका अभियन्ता एवं पूर्वसांसद सुभाष कर्माचार्य भन्छन्, “अब स्थानीय तहले यसलाई व्यवस्थित गर्न पहलकदमी गर्नुपर्छ ।” उनले राजनीतिक खिचातानी र सर्वपक्षीय सहमति नभएकै कारण रिङरोडमा गरिएको लगानी खेर गएको बताए ।
साँघुरो बजारमा ‘हेभि’ सवारी गुड्दा सडक हरेक वर्ष पुनर्निर्माण गर्नुपरेको अवस्था छ । दुईतर्फीबाट आएका ठूला सवारी भेटिएमा घन्टौं जाम हुने गरेको छ । “बजार अव्यवस्थित छ, यसलाई व्यवस्थित बनाउन र विस्तार गर्न सडक आधारभूत आवश्यकता हो ।” रिङरोडका लागि केन्द्रिय बजेट पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कर्माचार्यले भने, “यो कल्पना साकार हुँदा नयाँ संरचना भएर चौताराको भविश्य सुनिश्चित हुन्थ्यो ।”
झण्डै चार वर्षअघि सडक निर्माणका लागि स्थानीय चन्द्रबहादुर घले, रमेश गुरुङलगायतका व्यक्तिको नेतृत्वमा उपभोक्ता समिति बनाएर योजना सुचारु बनाउने प्रयास गरियो । तर, समन्वय र सहमति हुन नसक्दा निर्माण कार्य पूरा हुन सकेन । अहिले यो सडक निर्माण गरी सदरमुकामलाई व्यवस्थित गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले पहिलो वर्षका लागि पाँच लाख रुपैयाँ छुट्टाएको उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् । “साँघुरो बजारलाई सहरीकरण गरी रिङरोड निर्माणपछि सञ्चालनमा ल्याउने लक्ष्य छ,” उनले भनिन् ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्