नेपाल बैंक ८७औं वर्षमा प्रवेश

काठमाडौं– नेपाल बैंक लिमिटेडले ८७औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १५० जना सहभागी भएका थिए । वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको बैंक सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताले सुरु गरेका थिए ।
सो समय बैंकको चुक्ता पुँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो । शताब्दीको हाराहारी अनुभव बटुलेको बैंकले नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहजता ल्याई राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको प्रवर्द्धन गर्दै राष्ट्र निर्माणमा पुर्याएको योगदान विशेष रहेको छ ।
नेपाल बैंकले आफनो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि.सं २०१२ सम्म देशको केन्द्रिय बैंकको रुपमासमेत कार्य गरी बैंकिङ क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ । बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड छ । वि.सं. २०८० असार मसान्तसम्म दुई खर्ब ४४ अर्ब निक्षेप संकलन गरी एक खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ ।
प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात १४.४९ प्रतिशत र ३६ अर्ब ५८ करोड भन्दा बढि नेटवर्थ रहेको छ ।