खेलाडीलाई मारवाडी सेवा समितिको सम्मान

काठमाडौं– मारवाडी सेवा समिति नेपालले १९औं एसियन गेम्स–२०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । विश्व कीर्तिमान बनाएका क्रिकेटर दीपेन्द्र सिंह ऐरी, कुशल मल्लसहित कराँतेतर्फ रजत पदक दिलाएकी एरिका गुरुङलाई जनही एक लाखसहित सम्मान गरिएको हो । कार्यक्रममा नेपाल क्रिकेट एशोसियन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई पनि टोकल अफ लभद्वारा सम्मान गरिएको थियो ।
सोही अवसरमा मारवाडी समाजका सदस्यहरू एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाल र पूर्व क्रिकेटर पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको थियो । ऐरीले ९ बलमा अर्ध शतक बनाई विश्व किर्तिमान बनाएका थिए । त्यस्तै, मल्लले ३४ बलमा शतक बनाई विश्व कीर्तिमान बनाएका थिए । उनीहरूको हौसला बढाउ नगदसहित सम्मान गरिएको मारवाडी सेवा समितिले जनाएको छ ।
मारवाडी समाजले हरेक वर्ष ‘दीपावली स्नेह मिलन’ मनाउँदै आएको छ । यो वर्ष पनि मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी सेवा ग्राम गौधाम (धार्के) मारवाडी महिला मंच र मारवाडी युवा मञ्चसहित समाजका सदस्यको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।