‘प्रधानमन्त्रीलाई आराम गर्न दिऊँ’ «

‘प्रधानमन्त्रीलाई आराम गर्न दिऊँ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम गर्न दिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले नेकपासँग प्रधानमन्त्री ओलीलाई विश्राम दिन आग्रह गरेका हुन् ।
उनले भने, “कम्युनिष्ट पार्टीका साथीहरूले धेरै पटक प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु । हामी हाम्रो बा बिरामी हुनुभएको भए धपेडी नगर्नुस्, आराम गर्नुस्, विश्राम गर्नुस् भन्छौं । हामी प्रधानमन्त्री बालाई यसो भन्न किन सक्दैनौं ? प्रधानमन्त्रीलाई विश्राम लिन दिनुस् । किनकी नेपालको यत्रो ठूलो आन्दोलनमा योगदान पुया-उनुभएको, नेपालको शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान पु-याउनुभएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको, स्वाभिमानको लडाइँमा एउटा अथक लडाइँ लड्नुभएको प्रधानमन्त्री हामी हाम्रोबीचमा लामो समयसम्म अभिभावकको रुपमा देख्न चाहन्छौं ।”
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा सरकारले संसदलाई जानकारी नगराउँदा निजी चिकित्सकलाई उद्धृत गरेर सञ्चारमाध्यममा आएका समाचारबाट जनताले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाइरहेकोमा थापाको गुनासो थियो । उनले भने, “सरकारले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा संसदलाई जानकारी गराएको छैन । जनताले आफ्ना प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउनुपर्छ ।”
कार्यकारी प्रमुख एकैपटक लामो समय बाहिर बस्दा राष्ट्रिय सुरक्षा र कूटनीतिक मर्यादामा जोखिमको प्रश्न उठेको भन्दै सांसद थापाले आराम गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । प्रधानमन्त्री ओली अहिले उपचारका लागि सिंगापुरमा छन् ।

प्रतिक्रिया दिनुहोस्