कर्णालीमा सवारीसाधनको भाडादर सधैं उस्तै

इन्धनको मूल्य कम हुँदा पनि विभिन्न बहाना देखाएर व्यवसायीले भाडा घटाउँदैनन्
जुम्ला– नेपाल आयल निगमले इन्धनमा स्वचालित मूल्य प्रणाली अपनाएको छ । अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य घटबढ हुन्छ त्यहीअनुसार यहाँ पनि परिवर्तन गरिन्छ । इन्धनको मूल्यमा हुने उतारचढाव अनुसार यातायात व्यवसायीले पनि भाडादर थपघट गर्छन् । कर्णालीका हकमा भने यो नियम लागू छैन । निगमले जति पटक मूल्य परिवर्तन गरे पनि यातायात व्यवसायीले सधै महँगो भाडा लिने गरेका छन् । विगत ६–७ वर्ष पहिले कच्ची सडक भएका बेला कर्णालीमा सस्तो भाडा थियो ।
नेपालगन्जबाट १५ सयमा जुम्ला पुगिन्थ्यो । सुर्खेतबाट एक हजारमै आवतजावत हुन्थ्यो । तर अहिले अपेक्षित रूपमा नभए पनि विगतभन्दा कर्णाली राजमार्ग सुधारोन्मुख छ । अधिकांश खण्डमा कालोपत्रे भएको छ । सरकारले इन्धनको मूल्य परिवर्तन हुँदा नयाँ भाडादर तोक्ने गरेको छ । तर यातायात व्यवसायीले कर्णाली राजमार्गलाई अप्ठेरो भएको वहाना बनाएर भाडा कम गर्ने गरेका छैनन् । हवाई सेवा आमसर्वसाधारणको पहुँचमा नहुँदा महँगो भाडा तिरेर कर्णालीबासी यात्रा गर्न बाध्य छन् ।
जुम्ला–सुर्खेत २३२ किमि र जुम्ला नेपालगन्ज करिब ३२२ किलोमिटर दूरी छ । सरकारले तोकेको भाडा सरदरमा साना गाडीको १५ सयदेखि दुई हजार र बसको एक हजारदेखि १५ सयसम्म हो । तर यी दूरीमा कहिल्यै यति भाडामा यात्रा गर्न पाइँदैन । अहिले साना सवारीमा जुम्ला–सुर्खेत २५ सय र जुम्ला–नेपालगन्ज २६ सय भाडा छ । चाडपर्वमा अझै बढाउने गरिन्छ । ठूला सवारीको कमाइ नहुनु, कर्णाली राजमार्ग राम्रो नहुनु, बसपार्क सञ्चालन नहुनुलगायतका कारण देखाउँदै व्यवसायीले कर्णालीका लामो तथा छोटो दूरीमा भाडादर घटाएका छैनन् ।
सवारीसाधनले भाडा कम नगरे पछि यसका बारेमा जिल्ला प्रशासन जुम्लामा पटक पटक छलफल पनि भएको छ । तर पनि वास्तविक भाडा कायम हुन सकेको छैन । कर्णालीमा भाडा नघट्दा नागरिक सधै दोहोरो मारमा पर्न बाध्य रहेको तातोपानीकी माया परियारले बताइन् । उनले भनिन्, ‘इन्धनको मूल्य घटेकाले भाडा पनि कम भएको सोचेकी थिएँ । सुर्खेतसम्म २४ सय तिर्नु पर्यो । हवाईजहाज पहुँचमा छैन । भाडादरको महँगीले ढाड सेकिएको छ ।’
यातायात व्यवसायी र इन्धन बेच्ने व्यापारी सबै नाफामुखी हुँदा नागरिक मारमा परेको मानव अधिकारकर्मी मानदत्त रावल बताउँछन् । प्रशासनले सदरमुकामका बजारदेखि ग्रामीण बजारमा कडा अनुगमन गर्नु पर्नेमा उनको जोड छ । यातायात व्यवसायीले बसपार्क सञ्चालन, राजमार्ग स्तरवृद्धि, गाडी मर्मतका महँगा सामान जुम्लामै उपलब्ध नहुने बेलासम्म भाडादर घटाउन नसकिने बताउँदै आएका छन् । जुम्ला, सुर्खेत र नेपालगन्जमा संयुक्त टिकट काउन्टर सञ्चालन गरिएको छ ।
ती काउन्टरले एक रुपैयाँ पनि भाडामा घटाउँदैनन् । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरले भाडादर निर्धारण गर्ने अधिकार प्रशासनलाई नभएको भन्दै प्रदेशले गर्नुपर्ने बताए । प्रदेश सरकारले नयाँ निर्णय नगरुन्जेल पहिला निर्धारण भएकै भाडा लागू हुने उनले उल्लेख गरे । अर्कोतिर निगमको आधिकारिक बिक्रेताबाहेक अन्यले इन्धनको मूल्य कम नगरेका कारण पनि यातायात व्यवसायीलाई बढी भाडा लिन वहाना मिलेको छ ।
इन्धन मूल्यमा पनि मनपरि
आयत निगमले कात्तिक १४ मा इन्धनको मूल्य घटाएसँगै पेट्रोल १८९ र डिजेल प्रतिलिटर १७९ मा पाइनु पर्ने होे । तर कर्णालीका दुर्गम जिल्लामा इन्धनको मूल्यमा मनोमानी छ । जुम्लामा रहेको एक मात्र आधिकारिक आयल स्टोर (सुष्मा आयल स्टोर) ले मात्रै वास्तविक मूल्यमा इन्धन बिक्री गरेको छ ।
सुष्मा आयल स्टोरका सञ्चालक महेन्द्र थापाले पहिला दुई सय प्रतिलिटर पर्ने पेट्रोल हाल १८९ रुपैयाँ र १८३ पर्ने डिजेललाई १७९ रुपैयाँमा बिक्री गरेको जानकारी दिए । उनले भने, ‘हामीले सरकारले तोकेबमोजिमकै मूल्यमा बेच्छांै । कात्तिक १४ मा मूल्य घटेपछि सोहीअनुसार बेचेका छौं । फुटकर बिक्रेताको थाहा भएन ।’
स्थानीय अन्जिला जनरल स्टोरका सञ्चालक रवि कठायतले पेट्रोल प्रतिलिटर १९५ मा बेच्दै आएका छन् । फुटकर बेच्ने उनी धेरै लिनेलाई १९० गरेको र कम लिनेलाई १९५ प्रतिलिटरमा दिने गरेको बताउँछन् । कर्णाली राजमार्गमा पर्ने मान्म, पिलि, नाग्म, रारा, त्रिणेणी, कुडारी, लिताकोट, तातोपानी, एैरेनी, उम्गाड र जुम्ला बजारका विभिन्न पसलमा डिजेल पेट्रोल मनोमानी मूल्यमा बिक्री हुँदै आएको छ ।
कठायतका अनुसार मुगुमा डिजेल प्रतिलिटर दुई सय रुपैयाँमा बिक्री भइरहेको छ । पेट्रोल प्रतिलिटर साढे दुई सयसम्म पर्छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले इन्धनको मूल्यमा एकरुपता नभएको विषयमा ग्रामीण बजार केन्द्रित गरेर अनुगमन गर्ने जानकारी दिए ।