तीन महिनामा २७ अर्बले बढ्यो व्यक्तिगत आवासीय कर्जा

व्यक्तिगत आवासीय कर्जामा भएको वृद्धिले लामो समयदेखि मन्दीमा रहेको घरजग्गा कारोबारमा सुधार आउने संकेत गरेको छ ।
काठमाडौं– चालु आर्थिक वर्षमा घर बनाउन बैंकबाट लिने ऋण (होम लोन) बढेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले साउनदेखि असोजसम्ममा घर बनाउन बैंकबाट ऋण लिएको रकम बढेको देखाएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकबाट व्यक्तिगत आवासीय घर कर्जा करिब २७ अर्ब रुपैयाँले बढेको छ ।
गत आव असारसम्ममा तीन खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ रहेको व्यक्तिगत आवासीय घर कर्जा असोजमा आइपुग्दा २६ अर्ब ७८ करोड रुपैयाँले बढेर तीन खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यसले गत आवमा सुस्त रहेको घरजग्गा कारोबार र घर निर्माणको काम चालु आवदेखि क्रमशः बढ्न थालेको संकेत गरेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको साउनमा व्यक्तिगत आवासीय कर्जा तीन खर्ब ५९ अर्ब रुपैयाँ पुगेको थियो । यो असारको तुलनामा ११ अर्ब रुपैयाँ बढी हो । यस्तै भदौसम्ममा यस्तो कर्जा तीन खर्ब ६५ अर्ब रुपैयाँ थियो । साउनको तुलनामा यो कर्जा ६ अर्ब धेरै हो भने असारसँग तुलना गर्दा १७ अर्ब बढी हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमा पहिलो घर निर्माणका लागि दिइने आवास कर्जाको सीमा बढाएको थियो ।
पहिलो घर बनाउन एक व्यक्तिले अधिकतम दुई करोड रूपैयाँ कर्जा पाउन सक्ने व्यवस्था मौद्रिक नीतिले गरेको थियो । यसअघि यस्तो व्यवस्था एक करोड ५० लाख रुपैयाँमात्र थियो । तीन हजार वर्गफिटसम्मको घर निर्माण, खरिद वा अपार्टमेन्ट निर्माणका लागि यस्तो कर्जा पाउने व्यवस्था छ । चालु आवमा व्यक्तिगत आवासीय कर्जामात्र नभई रेसिडेन्सियल रियल स्टेट कर्जा प्रवाह पनि बढेको छ । चालु आवको सुरुवाती दुई महिनासम्म ऋणात्मक रहेको यस्तो कर्जा प्रवाह असोजमा दुई प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकका अनुसार, रियल स्टेट कर्जातर्फ रेसिडेन्सियल रियल स्टेट कर्जा दुई प्रतिशतले बढेको छ । गत असारसम्ममा ६५ अर्ब ५१ करोड रुपैयाँ रहेको यस्तो कर्जा असोजमा आउँदा ६६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत आवको असारको तुलनामा चालु आवको साउन र भदौ दुवै महिनामा यस्तो कर्जा प्रवाह घटेको थियो । चालू आवको भदौसम्ममा यस्तो कर्जा ६० अर्ब ९६ करोड रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
यस्तै चालु आवको साउनमा पनि यस्तो कर्जा घटेको थियो । साउनमा यस्तो कर्जा घटेर ५५ अर्ब १८ करोड रुपैयाँमात्रै प्रवाह भएको थियो । तर असोजमा भने यो कर्जा प्रवाह एक्कासि बढेको छ । आवास कर्जा सहज हुँदा मन्दीमा गएको निर्माण क्षेत्रमा समेत सुधार हुने र अर्थतन्त्र चलायमान हुने अपेक्षा रहेको बैंकर र व्यवसायीले बताएका छन् । आवास कर्जाले सिमेन्ट, डण्डी, रंगलगायतका उद्योगको गतिविधि बढ्ने सरोकारवालाले बताउँदै आएका छन् ।
अर्कोतिर मजदुरले पनि काम पाउने छन् । पछिल्ला दिनमा बैंकमा लगानीयोग्य रकम (तरलता) सहज अवस्थामा रहँदा बैंकहरूले विभिन्न अफरसहित घर कर्जालाई प्राथमिकता दिइरहेका छन् । जसअनुसार, कर्जा प्रवाह बढ्दै गएको तथ्यांकले देखाएको हो । राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय बैंकहरूले कर्जा प्रवाहमा क्रमशः वृद्धि गर्दै गइरहेको देखाउँछ । चालु आवको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा २.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.३ प्रतिशतले मात्रै बढेको थियो । यो असोजमा मात्र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय बैंकको ब्याजदर क्रमिक रूपमा सहज हुँदै गएको र बैंकमा तरलता पनि सहज अवस्थामा रहेकाले कर्जा विस्तारमा सुधार हुँदै जाने अपेक्षा बैंकरहरूको छ ।
नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले लगातार ब्याजदर बढाइरहेको अमेरिकाले पनि पछिल्लो पटक स्थिर राखेका कारण अन्तर्राष्ट्रिय बजारमा अब ब्याजदर बढ्दैन भने सन्देश दिएको बताए । उनका अनुसार नेपालमा पनि क्रमशः ब्याजदर घट्दै गइरहेको र अब कर्जा विस्तार सहज हुँदै जाने छ । यस्तै विस्तारै घरजग्गाको पनि कारोबार बढ्दै गएकाले घरजग्गा कर्जा झनै वृद्धि हुने र यसले अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न सहयोग गर्ने सरोकारवाला बताउँछन् ।