मूल्यवृद्धि दर बढ्यो

साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत रहेकोमा सोही महिनाको अन्त्यतिर भएको अत्याधिक मनसुनी वर्षाले सिर्जना गरेको बाढी पहिरो तथा डुवानले तरकारीको मूल्यमा उच्च वृद्धि भएका कारण भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति केही वृद्धि भई ३.४ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति ७.९ प्रतिशतको तुलनामा भने समीक्षा अवधिको मुद्रास्फीति कम हो ।
तर, क्षेत्रगत आधारमा विश्लेषण गर्दा चालू आवको दुई महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.४ प्रतिशत, तराईमा ३.८ प्रतिशत, पहाडमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.५ प्रतिशत, तराईमा ७.४ प्रतिशत, पहाडमा १०.३ प्रतिशत र काठमाडौं उपत्यकामा ६.६ प्रतिशत थियो ।