स्थानीय तहप्रति जनताको गुनासो
विकास निर्माण र कृषि अनुदान वितरणमा राजनीतिकरण

म्याग्दी- म्याग्दीका स्थानीय तहमा विभिन्न समयमा जनतामाझ सार्वजनिक सुनुवाई हुने गर्छन् । त्यस कार्यक्रममा जनताले उठाएको गुनासो जनप्रतिनिधि र कर्मचारीले बेवास्ता गर्ने गरेको भेटिन्छ । जनताले साना–साना समस्या उठाएका हुन्छन् । जनताले बारम्बार उठाउने गुनासो प्रभावकारी रुपमा सम्बोधन गरेको देखिदैन ।
यसले गर्दा युवाहरुले गाउँमा सुरु गरेका साना साना व्यवसाय छोडेर विदेश पलायन र परिवार शहर केन्द्रित हुने क्रम बढेको छ । यस्ता गुनासो मंगला गाउँपालिकाले वडा नम्बर ३ आर्भाङमा आर्थिक वर्ष २०८०/०८१ को पहिलो चौमासिकका प्रगति र समिक्षा कार्यक्रममा उठेको थियो । कार्यक्रममा उपस्थित भएका वडा नम्बर ३ र ४ का स्थानीयवासीहरुले सडक सुधार, न्यायोचित रुपमा कृषि अनुदानको वितरण, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायत पालिकाबाट प्रवाह भएका सेवाका बारेमा गुनासो राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बरंजाका थमबहादुर थापाले उपभोक्ता समितिले योजना कार्यान्वयन गरेपछि उपभोक्ताहरुका माँझ सार्वजनिक सुनुवाई मार्फत योजनाका वारेमा जानकारी नदिएको र पालिकाले बजेट विनियोजन गर्दा विभेद गरेको गुनासो राखे । यस्तै आर्भाङका श्यामबहादुर थापाले कृषि अनुदानको वितरण न्यायोचित नभएकोप्रति गुनासो राख्दै वडा कार्यालयबाट अनुदान वितरणको व्यवस्था मिलाउन आग्रह गरे । व्यवस्थित नालीसहितको सडक निर्माण गर्न पालिकाले जोड दिनुपर्ने उनको भनाइ थियो ।
खिमनाथ आचार्य, तेजेन्द्र आचार्य, चक्रबहादुर रोका र गंगाप्रसाद पुर्जाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रोजगारदाता छनौंट गर्दा राजनीतिककरण भएको, वडामा बजेट विनियोजन असमान भएको र दह हुँदै भकुवा जाने सडक मर्मत गर्न पालिकाले वेवास्ता गरेको गुनासो गरे । उनीहरुले पालिकाबाट विनियोजन भएका विकास योजनाहरुको प्रभावकारी अनुगमन गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिए । पालिकाभित्रकार्यान्वयन हुने प्रदेशका पूर्वाधारका योजनाहरुमा स्थानीयहरुवासीहरुसँग कुनै समन्वय नभएकोप्रति सहभागिहरुले गुनासो गरेका थिए ।
सार्वजनिक सुनुवाईमा उठेको प्रश्न, जिज्ञास र गुनासोहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले सीमित स्रोतसाधनका कारण अपेक्षा गरेअनुसार काम गर्न नसकिएको बताए । कृषि अनुदानको वितरणमा राजनीतिकरण नगरेको बताउँदै आगामी दिनमा वितरणलाई अझ पारदर्शी र किसानमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले वडा कार्यालय मार्फत कृषि अनुदानको फारमहरु संकलन गर्ने व्यवस्था मिलाएको बताए । सडकलाई दिगो रुपमा संचालन गर्नका लागि सडक सुधार योजनालाई प्राथमिकतामा राखेर पालिकाले काम गरेको भने। सहभागिहरुको जिज्ञासाको जवाफ दिँदै पालिका अध्यक्ष रोकाले प्रत्येक योजनाका उपभोक्ताहरुले पारदर्शीता र सुशासनका लागि खर्च हिसावको लेखापरीक्षण गरी सार्वजनिक गर्नुपर्ने बताए ।
आगमी दिनमा अनुगमनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । गाउँपालिकाले कृषि र पशुपालनमा वितरण गरेको अनुदानको विस्तारै प्रतिफल देखिदैं आएको बताउँदै आगामी दिनहरु वास्तविक किसानलाई अनुदानमा समेट्ने बताए । “गाउँबाट उर्जाशिल युवाहरु विदेश पलायनले उर्भर खेतीबारी बाँझो हुने क्रम बढेको छ । गाउँमै केही गर्छु भन्ने युवाहरुलाई छनोट गरेर अनुदान दिएका छौं ।” उनले भने । “आगामी दिनमा अनुदान वितरण समन्वय र सहकार्य गरेर वास्तविक किसालनाई समेट्छौं ।’’
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष यामबहादुर रोका र ४ का वडाध्यक्ष लालबहादुर रोकाले वडाको विकासका लागि विनियोजन भएको बजेटलाई सदुपयोग गर्न उपभोक्ताहरु जागरुक हुनुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले प्रथम चौमासिक अवधिमा पालिकाबाट प्रवाह भएको सार्वजनिक सेवा, विकास योजना र कार्यक्रमका बारेमा सार्वजनिक सुनुवाई मार्फत सेवाग्राहीबाट गुनासो, जिज्ञासा र राय सुझाव लिन कार्यक्रमको आयोजना गरिएको बताए । यस्ता कार्यक्रम मार्फत प्राप्त भएका राय सुझावले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गरे ।