भूकम्पबाट कर्णालीमा दुई अर्ब बढीको क्षति

जुम्ला– कर्णालीमा भूकम्पका कारण दुई अर्ब बढीको आर्थिक क्षति भएको छ । ठूलो जनधनको क्षति हुने गरी गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण प्रभावित जिल्लामा दुई अर्ब बढीको आर्थिक क्षति भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले शुक्रबार सार्वजनिक गरेको तथ्यांकनुसार भूकम्पका कारण सबैभन्दा बढी प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिममा मात्रै दुई अर्ब २४ करोड बराबरको क्षति भएको छ । यद्यपि क्षतिको विवरण भने आउने क्रम जारी छ । भूकम्पबाट जुम्ला, सल्यान दैलेख जिल्लामा समेत आशिंक क्षति भएको छ ।
मन्त्रालयले शुक्रबारसम्म संकलन भएको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरेको हो । प्रभावित दुई जिल्लामा मात्रै दुई अर्ब २४ करोड रूपैयाँबराबरको आर्थिक नोक्सान भएको मन्त्रालयको अनुमान छ । भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान, जुम्ला र दैलेखमा गरी १३ हजार १२४ वटा घर पूर्णरूपमा क्षति भएका छन् भने ११ हजार १९३ वटा घरमा आंशिक क्षति पुगेको छ ।
रुकुम पश्चिम र जाजरकोटमा गरी १५४ जनाको मृत्यु भएको छ । यसअघि १५७ जनाको मृत्यु भनिए पनि तीनजनाको नाम दोहोरिन गएको थियो । भौतिक क्षतिको विवरण भने आउन बाँकी नै छ । शुक्रबारसम्म दुई अर्बबढी क्षति भए पनि अन्तिमसम्म आर्थिक क्षतिको ग्राफ बढ्ने अनुमान छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायाले प्रभावित जिल्लाबाट प्राप्त तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै जाजरकोट र त्यसपछि रुकुम पश्चिमले क्षति बेहोरेको बताए ।
जाजरकोटमा मात्रै ९ हजार ७९४ वटा घर पूर्णरूपमा क्षति भएको छ भने २४ हजार ७०७ वटा घरमा आंशिक क्षति पुगेको छ । उता रुकुमपश्चिममा तीन हजार १७४ वटा घर पूर्णरूपमा र आठ हजार ३५८ घरमा आंशिक क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार भूकम्पमा परी ३७२ जना घाइते भएका छन् ।
जाजरकोटका ३४१ विद्यालयमा क्षति
जारकोटमा मात्रै भूकम्पका कारण ३४१ विद्यालयमा क्षति भएको छ । सामाजिक विकास कार्यालय जाजरकोटले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार जाजरकोटका सात स्थानीय तहका ३४१ विद्यालयमा क्षति भएको सामाजिक विकास अधिकृत यज्ञेश्वर खत्रीले बताए । उनका अनुसार जाजरकोटका आठ पालिका गरी जम्मा विद्यालय संख्या ४२३ रहेकोमा ३४१ विद्यालयमा क्षति भएको हो ।
जसमा भेरी नगरपालिकाका ५१ वटा, नलगाड नगरपालिकाका ४७ वटा, छेडागाड नगरपालिकाका ४५, कुशे गाउँपालिकाका ५५, शिवालय गाउँपालिकाका ४०, बारेकोट गाउँपालिकाका ३९ र जुनीचाँदे गाउँपालिकाका ६४ वटा विद्यालयमा क्षति पुगेको हो । त्यसैगरी जाजरकोट जिल्लाका २८९ वटा विद्यालय भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने ५९८ भवनका आशिंक क्षति भएको सामाजिक विकास कार्यालय जाजरकोटका प्राविधिक सहायक जगदीश न्यौपानले बताए ।
उनका अनुसार भूकम्पले एक हजार ५९९ वटा कक्षा कोठामा क्षति भएको छ भने १३ जना विद्यार्थीको मृत्यु र ९७ विद्यार्थी भूकम्पबाट घाइते भएका छन् । एक जना शिक्षकको मृत्यु भएको छ । त्यसैगरी १०३ वटा शौचालयमा पूर्णरूपमा क्षति र १८१ शौचालयमा आशिंक क्षति हुँदा ४७ वटा विद्यालयको घेराबारमा पूर्णक्षति भएको छ । सातवटा आईसीटि ल्याबमा समेत क्षति पुगेको छ भने दुईवटा विद्यालयको सोलार सिस्टममा क्षति भएको जनाइएको छ ।
अन्य क्षेत्रजस्तै भूकम्पले जाजरकोटको शिक्षा क्षेत्रमा करोडाैंको क्षति बेहोर्नु परेको सामाजिक विकास अधिकृत खत्रीले उल्लेख गरे । पूर्णरूपमा क्षतिग्रष्त विद्यालयमा पठनपाठन नै गर्ने स्थिति छैन । पुनर्निर्माणमा गति नदिए तिहारलगत्तै हुने पठनपाठनमा बाध्य पुग्ने भएको छ । साथै ३१ वटा सरकारी कार्यालयका भवनमा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालय पूर्णरूपमा भत्किएका छन् भने २५ वटा कार्यालयका भवनमा आंशिक क्षति हुँदा सेवा प्रवाहसमेत प्रभावित बनेको छ ।
भूकम्पका कारण प्रभावित भएका जिल्लाका १३ हजार नागरिक विस्थापित भएका छन् । भूकम्प प्रभावित जिल्लामा राहतको ओइरो लागे पनि पीडितले नपाएको गुनासो गरिरहेका छन् । कठ्याँग्रिँदो चिसोमा पीडित खुला आकाशमै बस्न बाध्य छन् । सबै पीडितलाई अझै त्रिपालसमेत पुग्न सकेको छैन । उद्दारमा सक्रियता देखाएको सरकारले राहत वितरणमा लापरबाही गरेको पीडितको गुनासो छ ।