Logo

पालिकाबाट प्रभावकारी अनुगमन नभएको गुनासो

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्षको प्रथम चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार आयोजना भएको सार्वजनिक सुनुवाइमा उपस्थित सहभागीले सार्वजनिक सेवाप्रवाह तथा विकास निर्माणका विषयमा विभिन्न गुनासा तथा सुझाव राखेका थिए ।

स्थानीयले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तिमा ढिलासुस्ती भएको, रातोपानीको तातोपानी कुण्ड ठेक्का प्रक्रियामा जान नसक्दा बेवारिसे जस्तै बनेको, घारको मुक्तिमार्ग क्याम्पसमा पालिकाको आर्थिक सहयोग पर्याप्त नभएको, पोखरेबगर–घार–चित्रे–घोडेपानी सडक निर्माण कार्य ढिलासुस्ती भएको गुनासो राखेको बताए ।

यसैगरी अध्यक्ष कप खेलकुदमा अतिथि सत्कारका लागि धेरै बजेट खर्च गर्ने गरेको, प्रदेश र संघका योजनाको पालिकाबाट प्रभावकारी अनुगमन नभएको, सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षकले आफ्नो सन्तानलाई निजी विद्यालयमा अध्ययन गराउँदा सरकारी विद्यालयमा विद्यार्थी घटेको लगायतका गुनासा राखेका थिए ।

त्यस्तै सहिभागीले ज्येष्ठ नागरिकलाई वितरण गर्ने न्यानो कपडा यही जाडोको समयमा तत्काल वितरण गर्न, कृषि र पशु शाखाबाट अनुदानमा वितरण हुने कृषि बिउबिजन उपयुक्त समयमा वितरण गर्ने व्यवस्था गर्न, अन्नपूर्ण आधार शिविरमा पर्यटनको आगमन बढेकाले थप पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गर्नसमेत आग्रह गरेका थिए ।

घोरेपानी र कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को सिमानामा रहेको धरमडाँडामा कास्कीले सिमा मिच्दै गएको प्रतिपालिका बेखबर बनेको प्रति सहभागीले चिन्ता व्यक्त गरेका थिए । सहभागीले उठाएको प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै गाउँपालिका अध्यक्ष भरत पुनले अन्नपूर्ण गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलहरूको प्रवद्र्धनमा पालिकाले चासो दिएको बताए ।

अन्नपूर्ण आधार शिविरमा थप पूर्वाधार विस्तारका कार्य सञ्चालन गर्ने योजना बनाएको भन्दै उनले त्यसका लागि संघ तथा प्रदेश सरकारसँग पनि बजेटको माग गरिने बताए । नागरिकको स्वास्थ्य, शिक्षा, आवास, विपद् व्यवस्थापन, रोजगार सृजनालगायतका क्षेत्रमा पालिकाले जिम्मेवारपूर्ण ढंगले अभिभावकत्वको भूमिका निभाउने बताउँदै जनभावना र जनगुनासो अनुरुप काम गर्न पालिका सधै तत्पर रहेको उल्लेख गरे ।

गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले अन्नपूर्ण गाउँपालिका र कास्कीसँग सीमा जोडिएको धरमडाँडास्थित मुल्डी भ्यु पोइन्ट क्षेत्रमा सीमा निर्धारण र त्यहाँको पर्यटन प्रवर्द्धनका लागि दुई पालिकाकै प्रतिनिधि बसेर छलफल गरिने बताए । उनले पालिका, संघ र प्रदेशका योजनाको अनुगमन प्रभावकारी बनाइएको तर कतिपय योजना पालिकालाई समेत जानकारी नभई सञ्चालन हुनेुहँदा त्यस्ता योजनाको अनुगमन पालिकाबाट नभएको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गाको मापदण्ड ६ रोपनी हुनुपर्ने भन्दै जग्गा अपुगकै कारण आडैमा रहेको सार्वजनिक जग्गासमेत गरी भवन निर्माण गर्ने कि नयाँ ठाउँमा जग्गा खरिद गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।

पालिकाका पर्यटकीय स्थल प्राप्त भएको रोयल्टी खर्च गर्ने प्रावधान कस्तो छ भन्ने सहभागीको जिज्ञासाको जवाफमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले रोयल्टीवापत उठेको रकमको ५० प्रतिशत पालिकामा, २५ प्रतिशत सम्बन्धित वडामा र २५ प्रतिशत नजिकको वडालाई दिने प्रावधान बनाइएको तर यसमा हेरफेर हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्