Logo

नक्सा पास नगरेका अधिकांश संरचना जोखिममा

महेन्द्रनगर– कञ्चनपुरमा निर्माण भएका अधिकांश संरचनाहरू भूकम्पीय जोखिममा रहेको पाइएको छ । नक्सा पास नगरी बनाइएका पुराना घरहरू बढी जोखिममा रहेको पाइएको हो । कुल २८ हजार घरधुरी रहेको भीमदत्त नगरपालिकामा १ लाख २३ हजारभन्दा बढी मानिसहरूको स्थायी बसोबास रहेको छ । त्यसकै हाराहारीमा अस्थायी रूपमा समेत बसोबास गर्नेहरू रहेका छन् ।

भीमदत्त नगरपालिका कार्यालयका अनुसार महेन्द्रनगरमा पनि धनगढी जस्तै २०७२ सालको महाभूकम्पपछि राष्ट्रिय भवन संहिता र मापदण्ड अनुसार संरचनाहरू बनेका छन् । तर, त्यो भन्दाअघि निर्माण भएका संरचनाहरू भूकम्पीय जोखिमलाई ध्यान दिइएको देखिदैन् । भीमदत्त नगरपालिकाले दिएको जानकारी अनुसार अहिले १० देखी १२ हजार घरहरूले नक्सा पास गरेर बनाएको भए पनि बाँकी १५ हजारभन्दा बढी संरचनाहरू भूकम्पीय जोखिममा रहेको भीमदत्त नगरपालिकाका इन्जिनियर दीपेन्द्रराज जोशीले बताए ।

उनले भने, ‘२०७२ सालमा नक्सा पास गरेर बनाउने कार्यविधि बने पनि त्यो भन्दा अघिका घरहरू भने जोखिममै रहेको छन् । भूकम्प प्रतिरोधी घर बनाउने सरकारले भने पनि घर बनाउँदा कस्तो घर निर्माण गरिएको छ, घर बनाउनेसँग भूकम्प प्रतिरोधी घर बनाउने अनुभव पनि आवश्यक हुनु पर्छ ।’ राष्ट्रिय भवन संहिता र मापदण्ड अनुसार संरचना बनाउने अभ्यास निकै कम रहेको छ । जसले आफ्नो घर निर्माण गरिरहेको छ् उसैले नै चिन्ता लिनु पर्ने र बलियो खालको मापदण्ड पुरा गरेर संरचनाहरू निर्माण गर्नुपर्ने जोशी बताउँछन् ।

इन्जिनियर जोशीका अनुसार पुराना निजी घरहरू इँटा र माटोको गारोले निर्माण भएका छन । कतिपय घरहरूमा पक्की छत हालिए पनि पिलर नराखेको अवस्थामा छन् । उनले भने,‘२०७२ सालपछि निर्माण भएका संरचनाहरू मापदण्ड अनुसार नै बनेका छन् । तर, ठूलो भूकम्प गएमा पुराना संरचनामा बढी क्षति पुग्न सक्छ ।’ सानो वा ठूलो भूकम्पका आधारमा क्षति यति नै हुन्छ भन्न नसकिने जोशी बताउँछन् ।

भूकम्प कति म्याग्निच्यूडको गयो, त्यस अनुसारको क्षति हुन्छ भन्ने कुरा हुँदैन, भूकम्पको समयावधि, केन्द्रबिन्दु, दूरी जस्ता पक्षले अर्थ राख्ने जोशी बताउँछन् । कहिले काहीँ सानै भूकम्पले पनि ठूलो क्षति पु¥याउन सक्छ भने, कहिले ठूलै भूकम्पमा पनि क्षति न्यून हुन सक्छ । तर, भूकम्पीय जोखिमबाट बच्न भने आम मानिस सचेत र जागरुक भएर बस्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्