भारतको मुद्रास्फीति ओरालो «

भारतको मुद्रास्फीति ओरालो

भारतको खुद्रा मुद्रास्फीति जनवरीमा डिसेम्बरको १७ महिनाकै उच्चबाट थोरै ओरालो लागेको छ । तर, यो रिजर्भ बैंक अफ इन्डियाको मध्यअवधिको लक्ष्य ४ प्रतिशतभन्दा थोरै माथि रहेको बताइएको छ ।
उपभोक्ता मूल्यको मुद्रास्फीतिको मापक सीपीआई सूचकमा अघिल्लो वर्षको समान अवधिको तुलनामा जनवरीमा ५.०७ प्रतिशतको वृद्धि भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
विश्लेषकहरूमाझ गरिएको सर्वेक्षणले जनवरीको दरमा डिसेम्बरको ५.२१ प्रतिशतबाट ५.१४ प्रतिशतमा झर्ने देखाएको थियो ।
गत साता आरबीआईले आफ्नो प्रमुख रिपो अपरिवर्तनीय राखेको थियो ।
“आगामी ५ देखि ६ महिनाको अवधिसम्म दर वृद्धि हुने अपेक्षा मैले गरेको छैन,” लाडेरप वेल्थ म्यानेजमेन्टका प्रबन्ध निर्देशक राधबेन्द्र नाथले बताए ।
तेलको मूल्यबाहेक मनसुनी वर्षाले पनि मुद्रास्फीतिमा प्रभाव पार्न सक्ने उनले बताए ।
जनवरीमा उपभोक्ता खाद्यान्नको मूल्यमा ४.७० प्रतिशतको वृद्धि भएको थियो । यो डिसेम्बरको ४.९६ प्रतिशतको तुलनामा कम हो । दालको मूल्यमा अघिल्लो वर्षको तुलनामा २०.१९ प्रतिशतले गिरावट आएसँगै खाद्यान्नको मूल्य ओरालो लागेको छ । बजारमा ताजा बालीको उत्पादन भएसँगै खाद्यान्नको मूल्य ओरालो लागेको हो ।
इन्धनको मुद्रास्फीति डिसेम्बरको ७.९० प्रतिशतको तुलनामा ७.५८ प्रतिशत कायम भएको छ । हाउजिङको मुद्रास्फीति अघिल्लो महिनाको ८.२५ प्रतिशतको तुलनामा ८.३३ प्रतिशत कायम भएको छ ।
केन्द्रीय बैंकले मुद्रास्फीतिको प्रक्षेपणलाई अक्टुबरदेखि डिसेम्बरसम्मको ४.६ प्रतिशतबाट बढाएर जनवरीदेखि मार्चसम्मको अवधिका लागि ५.१ प्रतिशत कायम गरेको छ । बजेटमा घोषणा गरिएको उच्च आयात करका कारण मूल्य दबाबको अवस्था सिर्जना भएको र यसले खाद्यान्न तथा इन्धनको मूल्य पनि उकालो लागेको कारण देखाउँदै उक्त अवधिको मुद्रास्फीतिको प्रक्षेपण बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्