जाजरकोट दरबारको अस्तित्व संकटमा «
Logo

जाजरकोट दरबारको अस्तित्व संकटमा

जाजरकोट– १९९० सालको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि क्षति व्यहोरेको छ । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार १८५२ मा निर्माण गरिएको थियो । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो। यो पटक दरबार चर्किएको मात्र छ ।

यसअघिका दुइटा भूकम्पले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवै पटक दरबार पुनर्निर्माण गरिएको थियो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ । पर्यटकीय गन्तव्यका रूपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

‘दुईपटक भत्किसकेको दरबारमा अहिले पनि उस्तै जोखिममा छ, जिल्लाको इतिहासलाई जोगाउन यसको संरक्षण आवश्यक छ’ उनी भन्छन्, ‘जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुनर्निर्माण गरिएको थियो, अब यसरी समयमै पुनर्निर्माण गर्न पनि सहज छैन ।’ योभन्दा ९० वर्षअघि १९९० माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्ण रूपमा भत्किएको थियो । यो भूकम्पका कारण १०–१२ हजार मानिसको मृत्यु भएको थियो ।

जाजरकोटमा भएको मानवीय क्षतिको भने तथ्यांक छैन । ९० वर्षअघिको उक्त भूकम्पलाई दरबारमा क्षति पुर्‍याउने शक्तिशाली विपदका रूपमा लिइन्छ । सेतो दरबार भनिने जाजरकोट दरबार १९९० को भूकम्प जानुअघि १८५२ सालमा निर्माण गरिएको हो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलंगा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबारको निर्माण गरिएको थियो ।

त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबार पनि अहिले सरकारी निकायको कार्यालयका रूपमा छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुने रातो दरबारमा संघीयतापछि जिल्ला समन्वय समितिको कार्यालय छ ।

रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका जानकार राजेन्द्रविक्रम शाहले बताए । यो दरबार सुरूमा बनाउँदा पनि जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । यसका लागि राजाले जनताले श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए । राजा इन्द्रनारायणका पालामा यो दरबार कति तलाको थियो भन्ने यकिन जानकारी भने छैन ।

‘कसैले सात तलाको भन्छन्, धेरैजसोले पाँच तलाको मात्र हो भनेर दाबी गरेका छन्,’ शाहले भने, ‘जे होस् अहिलेको भन्दा अग्लो थियो, भूकम्पको क्षतिपछि पुनर्निर्माण गर्दा भने तीन तलामा झारिएको हो ।’ यो दरबारको पुनर्निर्माण गर्दा भक्तपुरबाट नेवार समुदायका इञ्जिनियर बोलाइएको थियो । ‘यसमा प्रयोग भएका झ्यालको कला र स्वरूप हेर्दा सुरूकै स्वरूपमा निर्माण भएको देखिन्छ, तर अहिले यसका धेरै मौलिक स्वरूपहरू अस्तित्वमा छैनन्,’ उनले भने, ‘सरकारले रेखदेखको राम्रो व्यवस्था गर्न नसक्दा यो हराएको हो ।’

सेतो दरबार उर्फ जाजरकोट दरबारले दोस्रो पटक भूकम्पको क्षति भोगेको २०४५ सालमा हो । तीनपटक भूकम्पको क्षति भोगेको जाजरकोट दरबारबाट इन्द्रनारायण पछिका सात जना राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाश विक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए । जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत् २०१७ सालदेखि नै सरकारी कामकाज हुँदै आएका थिए ।

प्रकाश विक्रमदेखि पछिका राजाहरू २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए । २०१७ सालमै जाजरकोटी राजा प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजार रुपैयाँमा जाजरकोट दरबार बेचेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको शाह बताउँछन् । खलंगाको माथिल्लो थाप्लेमा बनेका व्यक्तिको स्वामित्वमा भएका ती दुइटा घरलाई स्थानीयले दरबार भन्ने गरेका छन् । ती दुई घरमध्ये एउटा जाजरकोटी राजा जंगबहादुर शाहका छोराहरू समरध्वज शाह, रणध्वज शाह र सुरबहादुर शाहले १९४२ सालमा जाजरकोटी जनाताको सहयोगमा बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्