Logo

रायो सागको खेतीबाट मनग्ये आम्दानी

बिर्तामोड– झापाका किसानले रायो सागको खेतीबाट मनग्ये आम्दानी गरिरहेका छन् । रायो सागको खेती बाह्रैमास हुने र आम्दानी पनि राम्रो हुने हुँदा पछिल्लो समय रायो सागको खेतीमा झापाका किसानको आकर्षण बढेको हो । झापा गौरादह नगरपालिका–१ का ३० जना किसानले रायो सागको खेतीबाट यतिबेला राम्रो आम्दानी गरिरहेका हुन् ।

गौरादह नगरपालिका–१ को साझेदारीमा टनेल निर्माण गरी उनीहरुले टनेलमा रायोको साग उत्पादन गरेका हुन् । किसानहरूलाई रायो सागखेतीका लागि गौरादह नगरपालिका–१ ले साझेदारीमा टनेल निर्माणका लागि गत वर्ष एक लाख १६ हजार अनुदानमा उपलब्ध गराएको गौरादह नगरपालिका वडा नम्बर– १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए ।

गौरादह नगरपालिका–१ को सहयोगमा ४० जना किसानले टनेल निर्माण गरेको बताउँदै उनले ३० जना किसानले रायो साग र १० जनाले तोरीको सागको खेती लगाएको जानकारी दिए । गौरादह नगरपालिका–१ का शम्भु थापा, कुमार अधिकारी, राजकुमार राई, टीका अधिकारी, राजन भण्डारीलगायतका ३० जना किसानले वर्षभरि नै अन्य तरकारीसँगै रायो सागको व्यावसायिक खेती गर्दै आएको उनले बताए ।

गौरादह नगरपालिका–१ का किसानले रायो सागको खेती गरेर मनग्ये आम्दानी गरेको उनले बताए । आफूले डेढ कठ्ठा जमिनमा तीनवटा टनेल निर्माण गरेर रायो सागको व्यावसायिक खेती गरिरहेको स्थानीय शम्भु थापाले बताए । उनले थोरै लगानी, कम मेहेनतमा रायो सागको खेतीबाट धेरै आम्दानी हुने बताउँदै उनले अग्र्यानिक रायोको साग स्थानीय बजारमै खपत हुने गरेकाले आफूहरूलाई बजारकोसमेत समस्या नभएको जनाए ।

विगत तीन वर्षदेखि टमाटर, धनियाँसँगै रायो सागको खेती गर्दै आएको बताउँदै उनले व्यापारीले बारीबाटै प्रतिमुठा ५० देखि ६० रुपैयाँले लैजाने गरेको जानकारी दिए । उनले प्रतिटनेल साग बिक्रीबाट १० हजार बढी आम्दानी हुने बताए । गौरादह नगरपालिका–१ का किसानले रायोको साग विक्री गरेर राम्रो आम्दानी गरेको उनको भनाइ छ ।

रायो सागको खेती गर्न टनेल बनाउन अनुदानसमेत दिएपछि किसानले व्यावसायिक रूपमा रायो सागको खेती गरिरहेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गरे पनि रायो सागको बजार माग बाह्रै महिना उच्च रहेका कारण झापाका किसानले अग्र्यानिक रायो साग उत्पादन गरेर मनग्ये आम्दानी गरिरहेको उनले बताए ।

कृषि ज्ञान केन्द्र झापाले टनेल निर्माणका लागि ५० प्रतिशत रकम अनुदान दिएपछि उत्साहित भएर रायो सागको खेती गर्दा १५ दिनको अन्तरालमा एक लाख ५० हजारको रायो साग बिक्री गरेको बिर्तामोड नगरपालिका–७ की पुनम तिम्सिनाले बताइन् । पुनम कृषि फार्ममार्फत् आफूले रायो सागको खेती गरेको बताउँदै उनले बेर्ना लगाएको एक महिनामै बिक्रीका लागि तयार बैमासमी रायो साग प्रतिमुठा ५० का दरले बारीबाटै बिक्री हुँदै आएको उनले बताइन् ।

आफूले २० वटा टनेल बनाएर रायो सागको व्यावसायिक खेती गर्दै आएको बताउँदै उनले सुरुमा एउटा टनेल बनाएर खेती सुरु गरे पनि राम्रो आम्दानी भएसँगै थप २० प्लास्टिक टनेल बनाएर सागखेती गरेको बताइन् । कृषि ज्ञान केन्द्र झापाले टनेल निर्माणका लागि ५० प्रतिशत अनुदान ६ लाख १२ हजार रकम दिएपछि ११ लाख ८८ हजार थपेर १८ लाखमा २० आरसिसी पिलरमा प्लास्टिक टनेल निर्माण गरेर सागको व्यावसायिक खेती गर्दै आएको उनका श्रीमान् शान्तिराम तिम्सिनाले बताए ।

रायो सागको व्यावसायिक खेतीका लागि चारजना स्थानीयलाई समेत रोजगारी दिएको उनको भनाइ छ । त्यस्तै रायो सागको व्यावसायिक खेतीबाट दुई सातामा दुई लाखको रायो साग बिक्री गरेको मेचीनगर नगरपालिका–२ बाहुनडाँगीका खगेन्द्रबहादुर भुजेलले बताए । माता कृषि फार्ममार्फत् रायो सागको खेती गर्दै आएका भुजेलले उत्पादन गरेको साग बिक्रीका लागि बिर्तामोडस्थित कृषिथोक बजारमा पुर्‍याउने गरेको बताए ।

कृषि ज्ञान केन्द्र झापाले टनेल निर्माणका लागि ५० प्रतिशत अनुदान ६ लाख १२ हजार ५० प्रतिशत अनुदान रकम प्रदान गरेको उनले बताए । झापामा बुद्धशान्ति गाउँपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिकाको बाहुनडाँगीलगायतका क्षेत्रका किसानले कृषि ज्ञान केन्द्र झापाको सहयोगमा व्यावसायिक रूपमा रायो सागको खेती गरिरहेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्